सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा सगरमाथामा ट्राफिक जाम हुने सम्भावना बढेको छ।
सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन्। मौसम राम्रो भएकै बेला सबै आरोही दोस्रो, तेस्रो वा चौथो शिविरबाट शिखरतर्फ जाने भएकाले चौथो शिविरदेखि शिखरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने जोखिम हुन्छ।
सगरमाथा आरोहणका लागि अघिल्लो वर्षको तुलनामा यस वर्ष आरोही अधिक रहेको पर्यटन विभागले जनाएको छ। आरोहीको सङ्ख्या अधिक रहेकाले यस वर्ष सगरमाथामा ट्राफिक जाम हुने खतरा रहेको आरोहण सहयोगी पेम्बा दोर्जी शेर्पाले बताए।
सन् २०१४ मा सगरमाथामा गएको हिम पहिरोका कारण आरोहण अवरुद्ध भएपछि मार्ग अनुमति लिइसकेकालाई यस वर्षसम्म पुरानै शुल्कमा आरोहण गर्ने सुविधा दिइएकाले आरोहीको सङ्ख्यामा वृद्धि भएको विभागले जनाएको छ।
विसं २०७१ पछि तीन वर्षभित्र आरोहण गरे पहिले लिएकै अनुमतिपत्रलाई आधार मानेर पहिले तिरेकै शुल्कमा आरोहण गर्ने सुविधा सरकारले दिएको छ। पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालले भने “तीन वर्षको अवधिको यो अन्तिम वर्ष यो हो, अवसर नगुमाउन पहिला नै अनुमति लिएका आरोही आएका छन्। त्यसैले आरोहीको सङ्ख्या यस वर्ष अधिक हुने भएको हो।”
अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि दुई सय ८९ जना अनुमति लिई आधार शिविर पुगेका थिए। यस वर्ष अहिले नै दुई सय ६७ जना नाम्चेबाट उकालो लागिसकेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए।
आरोही वैशाखको मध्यसम्म अनुमति लिएर जाने गर्छन्। सम्पर्कमा आउने क्रम बढिरहेकाले यो सङ्ख्या बढी झन्डै चार सय पुग्ने विभागले जनाएको छ।
आरोहणका लागि अनुमति लिनेभन्दा उनीहरुका सहयोगी बढी हुने गर्छन्। प्रत्येक आरोहीसँगै आरोहण सहयोगी पनि जाने भएकाले यस वर्ष एक हजारको हाराहारीमा मानिस सगरमाथाको शिखरमा पुग्ने आँकलन गरिएको छ।
सहयोगीकै रुपमा पाँच पटक सगरमाथाको शिखरमा पुगिसकेका फोर्चेका सोनाम शेर्पा भन्छन्, “सबैलाई मौसम सफा भएको बेला शिखरमा पुग्ने हतार हुन्छ, त्यहाँ पालो मिलाउने पठाउने व्यवस्था हुन्न, यस वर्ष जाम हुने सम्भावना छ, फर्कँदा जाममा परेमा अक्सिजन सकिने तथा जिउ कमजोर भइसकेको कारण ज्यान तलमाथि हुन सक्छ।”