काठमाडौं, चैत ३– उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको चुनावको मुखमा आन्दोलनको घोषणा गरेको छ । घोषित आन्दोलनको कार्यक्रमअनुसार मसाल जुलुस निकाल्नेदेखि अनिश्चितकालिन आमहड्ताल तथा नेपालबन्दसम्म रहेको छ ।
गठबन्धन र मोर्चाले आइतबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी बैशाख २७ देखि आमहड्ताल तथा अनिश्चितकालिन नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको घोषणा गरेको हो । सो अघि मोर्चा/गठबन्धनले बैशाख ५ गते जिल्ला
सदरमुकाम सहितका प्रमुख सहरहरुमा मसाल जुलुस निकाल्ने, बैशाख ७ गते जिल्लाका प्रमुख स्थानमा लाठी तथा सिठी जुलुस निकाल्ने, बैशाख ९ गते जनकपुर उदयपुर, वीरगञ्ज र काभ्रेमा आमसभा गर्ने, बैशाख १० गते विराटनगर, भैरहवा र पाल्पामा आमसभा गर्ने कार्यक्रम तय गरेको छ भने बैशाख ११ र १२ गते पनि देशका विभिन्न स्थानमा आमसभा गर्ने तय गरिएको छ ।
यस्तै बैशाख १३ गते गाउँसहरका मतदान केन्द्रहरुमा लाठी जुलुस प्रदर्शने गर्ने तथा १४ गते जिल्ला सदरमुकाम लगायतका स्थानमा मसाल जुलुस निकाल्ने तय गरिएको छ ।
यस्तै बैशाख १५ गते थारुहट बन्द, १६ गते नेपाल बन्दको आह्वान गरेको मोर्चाले सो पछि बैशाख २६ गतेसम्मका लागि चरणबद्ध विरोधका कार्यक्रम तय गरिएको छ । २७ गतेपछि भने अनिश्चितकालनि आमहड्ताल तथा नेपाल बन्दको आह्वान गरिएको हो ।
सरकारले बैशाख ३१ को लागि स्थानीय तहको चुनावको मिति तोकेको अवस्थामा मोर्चाले आमहड्तालसहितको आन्दोलनको घोषणा गरेपछि निर्वाचनमा थप चुनौति देखिएको छ ।