वैशाख ६, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् ।
सो सङ्ख्या अहिलेसम्मकै बढी भएको उहाँले बताए । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति लिएका थिए । ‘यस वर्ष अनुमति लिने क्रम चलिरहेको छ, वैशाख मध्यसम्म अनुमति लिन सकिने भएकाले सङ्ख्या अझै बढ्न सक्छ,’ ढकालले भने । पर्यटन विभागबाट अनुमति लिएकामध्ये मङ्गलबारसम्ममा ३१ समूहका २९४ जना आरोही सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)को कार्यालय नाम्चेबाट अनुमति लिएर आधार शिविरतर्फ लागेका छन् ।
आरोही काठमाडौँबाट लुक्लासम्म हवाईजहाजमा तथा त्यहाँबाट नाम्चे पुगी एसपीसीसीको कार्यालयबाट अनुमति लिएर आधार शिविरतर्फ जाने गर्दछन् । केही आरोही दोलखाको जिरीहुँदै पैदल तथा सल्लेरीसम्म सडकमार्गबाट भएर त्यहाँबाट आधार शिविरतर्फ जाने गरेका छन् ।
तपाईंको बिचार