काठमाडौं – सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनमा सहभागिता जनाउनको लागि दलगत चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले जारी राखेको साताव्यापी रिले अनशन आज (शुक्रबार) सकिएको छ ।
सरकारलाई जनदबाब सिर्जना गर्न सांकेतिक विरोध स्वरुप भोक हड्ताल सुरु गरेका चुनाव चिन्हबाट बञ्चित दलहरुले अनशनस्थल रत्नपार्कस्थित शान्तिबाटिकामा एक कार्यक्रमको आयोजना गरी अनशन समापन गरेका हुन् ।
अनशन समापन सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका राष्ट्रिय मामिला संयोजन समितिका संयोजक परशुराम तामाङले सबै विधि र प्रक्रिया पुर्याएर संवैधानिक रुपमा दर्ता भएका राजनीतिक पार्टीहरुलाई दलगत चुनाव चिन्ह नदिनु अलोकतान्त्रिक र असंवैधानिक कदम भएको भन्दै आफ्ना मागहरु पूरा नहुँदासम्म संघर्ष जारी राख्ने बताउनुभयो ।
क्रान्तिकारी माओवादीका नेता सी पी गजुरेलले सरकारको प्रचण्डको नेतृत्वको सरकार राष्ट्रघाती भएको आरोप लगाउँदै राष्ट्रिय स्वाधिनता संकटमा परेकोले त्यसको रक्षाको लागि पनि संयुक्त संघर्ष गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा ६८ दलीय संघर्ष समितिका नेताहरुले सम्बोधन गर्दै संविधानप्रदत्त राजनीतिक अधिकार सुनिश्चित नभएसम्म संयुक्त संघर्षका कार्यक्रमहरु जारी राख्नुपर्नेमा जोड दिएका थिए ।
दलगत चुनाव चिन्हको माग गर्दै दोस्रो चरणको आन्दोलमा उत्रिएका ६८ दलीय संघर्ष समितिले आगामी वैशाख ११ गते सोमबार संघर्षका नयाँ कार्यक्रमहरु घोषणा गर्ने कार्यक्रमका संयोजक एवं नयाँ शक्ति पार्टीका नेता परशुराम तामाङले जानकारी दिनुभयो ।