दाङ– दाङको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मिर्गौला फेल भएकाहरुका लागि डाइलाइसिस सेवा सुरु भएको छ। डाइलाइसिस सेवाका लागि जिल्लाबाहिर जान वाध्य मिर्गौला पीडितहरुले सोमबारदेखि निःशुल्क सेवा पाउन थालेका हुन्।
उपक्षेत्रीय अस्पताल प्रशासनले मध्यश्चिम विकास क्षेत्रमै सरकारीस्तरमा पहिलो डाइलाइसिस सेवा सुरु गरिएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएका दुई डाइलाइसिस मेसिन र अस्पतालभित्रकै जनशक्तिलाई प्रशिक्षित गरी सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थीले जनाए।
रोल्पा डुब्रिङका चन्द्रबहादुर घर्ती र दाङ मानपुरकी टीकाकुमारी राजगुरुले सोमबार उपक्षेत्रीय अस्पतालबाट निःशुल्क डाइलाइसिस सेवा लिएका छन्। यसअघि कोहलपुरबाट डाइलाइसिस सेवा लिँदै आएका उनीहरुले आफ्नो नजिकै सेवा पाएकामा खुसी व्यक्त गरे।
अस्पताल प्रशासनले हप्तामा दुई पटक सेवा लिनुपर्ने ६ जना बिरामीलाई डाइलाइसिस सेवा दिनसक्ने व्यवस्था गरिएको जनाएको छ। मन्त्रालयबाट थप जनशक्ति र मेसिन उपलब्ध भए सेवा विस्तार गर्न सकिने अस्पतालले जनाएको छ।