११५ केजी तौलबाट ६५ केजीमा झारेकी सबानाको फिटनेस

  Manaslu Post  87 पटक हेरिएको

‘ओई, कति मोटाउन सकेकी ?, किन मोटाएकी यति धेरै ? यो मोटीले कति खान सक्छे ?’ तीन वर्ष अगाडि सबाना खातुनलाई इष्टमित्र, आफन्त र साथीहरुले सोध्ने प्रश्न यस्तै थिए।

सबानालाई मोटी भनेर गिल्ला गर्ने तिनै साथीभाइ, इष्टमित्र आजभोलि कसरी तौल घटाइस् ? भन्दै जिज्ञासा राख्छन्। यो अवधिमा सबानाले आफ्नो तौल ११५ केजीबाट ६५ केजीमा झारेकी छिन्।

२० वर्षकै उमेरमा उनको तौल ११५ केजी पुगेको थियो। उनी १२ कक्षाको परीक्षा दिएर फुर्सदमा थिइन्, खानपानमा पटक्कै ध्यान नदिने। गुलियो, पिरो, अमिलो मजाले खाइदिने। खाना खानेवित्तिकै सुत्ने र शारीरिक व्यायाम पनि नगर्ने। तौल बढ्नुको कारण यही थियो।

सुरुमा सबानालाई तौल बढ्न थालेको ख्यालै भएन। साथीभाइ र इष्टमित्रले हालखबर सोध्नुको सट्टा किन यसरी हात्तीझैं मोटाएको ? भनेर प्रश्न सोध्दा पनि सुरुमा वास्ता गरिनन्। आफन्तले नै बारम्बार हात्ति, गैंडा, फर्सी जस्ता उपनाम दिएर जिस्क्याउन थालेपछि भने उनलाई रिस उठ्न थाल्यो। भन्छिन्, ‘जोसँग भेट्दा पनि मोटी भन्न थालेपछि दिक्क लाग्न थाल्यो। मोटाएकोमा आफैंलाई कुनै टेन्सन थिएन, तर अरुले धेरै चासो दिँदा खुब रिस उठ्थ्यो।’

अरु मानिसले ‘छोरी कति मोटाएकी’ भनेको सुनिरहनुपर्दा उनका आमा–बुबा पनि चिन्तित भएका थिए। आफ्नो कारणले आमा–बुबा चिन्तित देखेर उनलाई दुःख लाग्थ्यो। सपिङ जाँदा पनि आफूलाई मन परेको लुगा पाइँदैनथ्यो। बढी तौल भएकै कारण दाजु, दिदीभन्दा ठूलो देखिन थालेकी थिइन्।

बाटाघाटामा सबैले मोटी भनेर जिस्क्याउन थालेपछि घरबाहिर हिँड्न पनि मन लाग्न छाड्यो। उनी भन्छिन्, ‘मोटाएकै कारण मैले शारीरिक र मानसिक समस्या भोग्नुपरेको थियो। बेलाबेलामा हातखुट्टा र शरीरका अन्य अंगमा पीडा हुन्थ्यो।’

स्वास्थ्य जाँँच गर्दा उनलाई युरिक एसिड देखियो। रिपोर्ट हेरेर चिकित्सकले भनिदिए, ‘खेल्ने, घुम्ने, रमाइलो गर्ने उमेरमा रोग नित्याइछौ। तौल नियन्त्रण गरिनौ भने जीवनभरि औषधि खाएर बस्नुपर्छ।’ त्यसपछि भने उनी झस्किइन्।

डाक्टरको कुरा सुनेपछि रातभरि निदाउन सकिनन्। परिवारका सदस्य पनि छोरी सानै उमेरमा रोगी भएकोमा धेरै चिन्तित भए। ‘अब तौल घटाउनै पर्छ,’ उनको मनमा लाग्यो।

सबानाले तौल घटाउन जिम जाने निर्णय गरिन्। परिवारले जिम जाने निर्णयमा रोकतोक गरेन। जिम गएर तौल नाप्दा ११५ केजी पुगेकी रहेछन्। आफ्नो तौल यति धेरै पुगिसकेको उनलाई अन्दाज पनि थिएन।

जिम गर्न थालेको सुरुवाती दिनमा शरीर बेस्सरी दुख्थ्यो। तर पनि उनले जिमलाई निरन्तरता दिइन्। तौल घटाउने अठोट जो लिएकी थिइन्।

जिम थालेपछि उनले जीवनशैलीनै परिवर्तन गरिन्। चिल्लो, पिरो मसलायुक्त खानेकुरा खान छोडिदिइन्। उसिनेको खानेकुरा, अन्डा, चना जस्ता पौष्टिक आहार खान थालिन्।

जिमका बारेमा घरमा नै अध्ययन गर्थिन्। उनले इन्टरनेटबाट र साथीहरुसँग किताब मगाएर शारीरीक कसरतको बारेमा धेरै अध्ययन गरिन्। त्यही कारणले सबानालाई जिम सिक्न र लागू गर्न सहज भयो।

‘म खानपानमा निकै सजग हुन थालें। साथीभाइसँगको जमघटमा पनि खाना बोकेरै जान्थें,’ उनले भनिन्, ‘साथीभाइले होटलको खानेकुरा खान आग्रह गर्दा आफ्नै खाना खान्थें।’ ६÷७ महिनामा उनको तौल यसरी घट्यो कि साथीहरु नै छक्क परे। पहिले मोटी भन्नेहरु पनि पत्लु भन्दै ठट्टा गर्न थाले।

निरन्तर २ वर्ष जिम गगरेपछि उनी एक वर्षदेखि उनी फिटनेस पार्कमा फिटनेस प्रशिक्षकको रुपमा कार्यरत छन्। प्रशिक्षक भए पनि उनी बिहान ५ बजे उठेर दुई घन्टा जिम गरेर मात्र फिटनेस सिकाउने गर्छिन्।

‘मैले यति फिट हुन्छु र फिटनेस प्रशिक्षक बन्छु भनेर सपनामा पनि सोचेकी थिइनँ,’ उनी भन्छिन्, ‘१२ कक्षा पढेपछि फेसन डिजाइनर बन्ने लक्ष्य लिएको मेरो जीवनमा जिमले नै यति ठूलो परिवर्तन ल्यायो।’

सबानाका बुबाको कपडाको विजनेस छ। उनी बिहान फिटनेस सिकाउँछिन् र दिउँसोको समयमा बुबाको बिजनेस सम्हाल्छिन्। फिटनेसमा विशेषगरी महिलालाई प्रथमिकता दिने उनी महिलाले जिम जानुहुँदैन भन्ने मान्यता परिवर्तन गर्ने उनको जीवनको लक्ष्य छ।

‘मानसिक र शारीरिक रुपमा स्वस्थ हुन गरिने क्रियाकलाप हो जिम,’ सबना भन्छिन्, ‘जिमले तौलमात्र घाउँदैन, जीवनलाई व्यवस्थितसमेत बनाउँछ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार