मगर समुदायको बाहूल्यता रहेको ठाडेमा घरबास

  Manaslu Post  104 पटक हेरिएको

ओखलढुंगा । सिद्धिचरण नगरपालिका ६, ठाडेका स्थानीयले सामुदायिक घरबास होमस्टे शुरु गरेका छन्  । मगर समुदायको बाहूल्यता रहेको ठाडेमा स्थानीयको सक्रियतामा होमस्टेको शुरुवात भएको हो  । होमस्टेको औपचारिक उदघाट्न मंगलबार संघीय सांसद यज्ञराज सुनुवारले गरे ।

समुन्द्री सतहदेखि करिब २ हजार ८ सय मिटरको उचाईमा रहेको ठाडे सगरमाथा र नुम्बुर हिमश्रंखला हेर्ने उपयुक्त गन्तव्य समेत हो । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर होमस्टे शुरु गरेको ठाडे सामुदायिक होमस्टे संचालक समितिका अध्यक्ष पारस मगरले बताए । हाल सात वटा घरमा ५० जना सम्म पाहुना राख्ने क्षमता रहेको छ । त्यसैगरि दुई घरमा स्थानीय उत्पादन बिक्रि गर्ने कोसेली घर स्थापना गरिएको छ ।

ठाडेमा मगर र शेर्पा संस्कृतिको वृहत संग्रहालय निर्माण गर्ने लक्ष्य समेत स्थानीयले राखेका छन् । ठाडे होमस्टेमा बस्न आउने पाहुनालाई स्थानीय खानाको परिकारसाथ स्थानीय सांस्कृतिक नाचगानले मनोरन्जन दिइने संचालक समिति कोषाध्यक्ष सरस्वती मगरले बताइन् । ‘हाम्रो मूख्य उद्देश्य स्थानीय उत्पादनलाई प्रबर्द्धनका साथै पर्यटनको विकास गर्ने नै हो’ अध्यक्ष पारस मगरले भने, ‘त्यसका लागि आवश्यक सबै कामहरू हामीले शुरु गरिसकेका छौं ।’
ठाडेको पहिचानको रुपमा खानाको परिकारमा रिल्दुक, आलुको ढिंडो, सिस्नो, उसिनेको मकै र सेतो सिमि,टिम्बुरको अचार, लोकल कुखुराको मासु, स्याउको रक्सी लगायत छन् ।

सगरमाथा जाने मूलबाटोमै ठाडे गाउँ अवस्थित छ । भूगोल, संस्कृति, हावापानी र स्थानीय उत्पादनको कारण पनि ठाडेमा होमस्टे उपयुक्त भएको संघीय सांसद यज्ञराज सुनुवारले बताए।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार