निङ्गलाशैनी भगवती मन्दिरमा भब्य जात्रा शुरु

  Manaslu Post  25 पटक हेरिएको

बैतडी । दशैंको अवसरमा बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा लाग्ने मेलालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न स्थानीय सरकारले चासो देखाएका छन् । जात्रा तथा मेलाका बेला हुन सक्ने अवाञ्छित क्रियाकलाप रोक्नका लागि पहल गरिएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।
सप्तमी र महाष्टमीका दिन देहीमाण्डौं स्थित निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई शान्तपूर्ण र भव्य रुपमा सम्पन्न गर्न मेला स्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको उनले बताए । यस्तै मेलालाई शान्तपूर्ण बनाउन प्रहरीका साथै स्वयंसेवकको पनि व्यवस्था गरिएको छ । महाष्टमीका दिन निङ्गलाशैनी भगवती मन्दिरमा बलिसहित पूजाआजा हुने भएकाले दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्दछ । यसका साथै मेलाका समयमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि अनुगमन समेत भईरहेको वडा अध्यक्ष बोहराले जानकारी दिए । यस्तै पाटन स्थित उदयदेव मन्दिरमा महाष्टमी र महानवमी लाग्ने मेलालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको पाटन नगरपालिका वडा नं ६ को कार्यालयले जनाएको छ ।

मेलामा मदिरा सेवन गरी होहल्ला गरेको र मदिरा विक्रि वितरण गरेको पाइएमा कानुन अनुसार कारवाही हुने वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए । यस्तै उदयदेव मन्दिरमा लाग्ने जात्राको समयमा कालोबजारी नहोस भनेर वडा कार्यालयले खाना, मासु तथा मिठाइको दररेट तोकेको छ । सरोकारवालाहरुसंग बसेर दररेट तोकिएकाले तोकेको भन्दा बढी पैसा लिएको पाइएमा कारवाही हुने वडा अध्यक्ष बिष्टले जानकारी दिए ।

निङ्गलाशैनी भगवती मन्दिरमा भब्य जात्रा शुरु

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । घटस्थापनादेखि नै पूजाआजा शुरु भएपनि जात्रा भने आज र भोली गरी दुई दिन हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । शनिबार राती भगवती मन्दिरमा कालरात्रीको बिशेष पूजाआजा हुने उनले बताए ।
निङ्गलाशैनी भगवती मन्दिरमा लागेको जात्रामा नेपालका साथै सीमावर्ती भारतबाट समेत दर्शनार्थीहरु पुगेको बताए । सो मन्दिरमा महाष्टमीको अवसरमा रांगा, बोकाको बलिसहित पूजाआजा हुने गरेको छ । बलि गर्ने भाकल गरेकाहरुले आज मन्दिरमा रांगा लग्ने चलन रही आएको छ ।

जात्रा शुरु भएसंगै मेलास्थलमा दर्शनार्थी तथा अन्य मानिसहरुको चहलपहल बढेको छ । यस्तै पुरचौंडीमा रहेको डिलाशैनी भगवती मन्दिर, डिलाशैनी गाउँपालिकास्थित कफलाशैनी भगवती मन्दिर, सुर्नया स्थित फाल्ङासैनी भगवती मन्दिरमा पनि शनिबारदेखि जात्रा शुरु भएको छ । यी सबै ठाउँमा बलिसहित जात्रा हुने गरेको छ । यस्तै शिवनाथ गाउँपालिका वडा नं ५ कफाडी स्थित उदयदेव मन्दिरमा पनि महाष्टमी र महानवमीको अवसरमा मेला लाग्ने भएको छ । मेलालाई व्यस्थित बनाउन मेला व्यवस्थापन समितिले मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।

मेलास्थल र तोकिएका क्षेत्रमा मदिरा सेवन गरी होहल्ला गरेमा जरीवाना समेत गरिने समितिले जनाएको छ । मदिरा सेवन गरी होहल्ला गरेमा तीन हजार, मदिराको विक्रि वितरण गरेमा ६ हजार, जुवतास खेलेमा दुई हजार र जुवातास खेलाएमा ४ हजार जरीवाना गर्ने निर्णय भएको मेला व्यवस्थापन समिति अध्यक्ष अरुण चन्दले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार