निर्वाचनको प्रचार प्रसारमा उम्मेदवार र दलहरुले आफ्नो पक्षमा भोट माग्ने आज अन्तिम दिन हो। मतदानको ४८ घण्टा अघिको समयलाई मौन अवधि मानिन्छ। आगामी आइतबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने निर्वाचनमा सहभागी सम्बन्धित पक्षहरुले मौनअवधिको पालना गर्नु पर्ने निर्वाचन आयोगको स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ मा उल्लेख छ।
स्थानीय तह निर्वाचन, निर्देशिका २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार प्रसार गर्न निषेध गरिएको छ। दफा ६९ को १ बमोजिम, ‘मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदको लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिनु हुँदैन।’
सोही दफाको ७० अनुसार, मौन अवधि ‘मतदान अधिकृतले मतदान हुने दिनभन्दा अठ्चालीस अघिदेखि मतगणनाको काम पूरा नभएसम्म’ हुनेछ। यसअवधिमा उम्मेदवार वा दलको पक्ष विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा, जुलुस, नाराबाजी वा अन्य कुनै हिसाबले प्रचार प्रसार गर्न पाइने छैन।
अहिले सामाजिक सञ्जालका फेसबुक र ट्विटरजस्ता माध्यमहरु दल, उम्मेदवार र तिनका समर्थकको प्रचार प्रसार गर्न पनि व्यापक प्रयोग भइरहेको छ। मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको आचारसंहिता उम्मेदवार र राजनीतिक दललाई मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत लागु हुने निर्वाचन आयोगले जनाइसकेको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, मौन अवधिभर कुनै पनि माध्यमबाट प्रचार प्रसार गर्न पाइने छैन। यस्तो नियमभित्र सामाजिक सञ्जालका फेसबुक, ट्वीटर, युट्युबदेखि ट्याटुसम्मका माध्यम पर्ने उनले जानकारी दिए।
उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग, बिक्री वा प्रदर्शन गर्न पनि मौन अवधिमा निषेध गरिएको आयोगले जनाएको छ। मौन अवधिमा संचारमाध्यमले उम्मेदवारको विज्ञापन गर्न पनि पाउँदैनन्। मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाइएको हुनुपर्ने व्यवस्था रहेको छ।
निर्वाचन आचार संहिता विपरीत गतिविधि गरेको खण्डमा एक लाखसम्म रुपैयाँसम्म जरिवाना हुने निर्वाचन ऐन, २०७३ मा उल्लेख छ । नेपालखबर