डा. केसी फेरी अनशन बस्ने

  मनास्लु पोष्ट  879 पटक हेरिएको

डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै १०औं पटकसम्म अनशन बसिसकेका छन्। आफ्ना माग पूरा नभएसम्म सम्झौता नगर्ने उनी २२औं दिनसम्म अनशन बसेको रेकर्ड छ।

एकदिन पेटमा चारो नपर्दा छटपटिने मानव जीवनकै एउटा रुप हुन् डा. केसी पनि। तर, उनी यति लामो समयसम्म कसरी खट्छन् भोक? के ले धानिन्छ प्राण? माग पूरा नगरे ११औं पल्ट अनशन बस्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले यस्तै जिज्ञासा राखे।

डा. केसीले पहिलो पल्ट अनशन बस्न ११ महिनादेखि तयारी गरेको खुलासा गरे। उनले भने, ‘पहिलोपल्ट आफूलाई अनशनका लागि तयार गर्न झन्डै ११ महिना लाग्यो। अनशन बस्न मानसिक र शारीरिक रुपमा फिट भइसकेपछि अनशन थालेँ।’

यसपल्ट पनि डा. केसीले अनशनको मुड बनाइसकेका रहेछन्। उनले भर्खरै  रगत जाँच गर्न नाडीमा घोचिएको सुइको घाउ देखाउँदै भने, ‘म पछि हट्ने अवस्थामा छैन। यी हेर्नुहोस्, त्यसका लागि आवश्यक तयारी गरिसकेँ।’ उनले मुटुको चाल, रक्तचापदेखि स्वास्थ्यका अन्य अवस्थासम्म जाँच गराइसकेका रहेछन्।

पहिलोपल्ट अनशन बस्दा धेरै लामो तयारी गरे पनि त्यसपछि भने बानी परेको उनले सुनाए। भने, ‘अहिले मलाई बानी परिसक्यो।’ अनशन बस्नुअघि उनी कोक खान्छन्। जुन उनको सबैभन्दा प्रिय पेय पदार्थ रहेछ। आफूले अहिले दिनमा तीन वटासम्म कोक खाने गरेको जनाउँदै भने, ‘डाक्टरले जे भन्छन्, त्यो मान्नु। तर जे गर्छन्, त्यो चाहिँ गर्नु हुँदैन है।’

डा. केसीले बुधवारको पत्रकार सम्मेलनबाट आफ्ना माग पूरा गर्न ६ दिने अल्टिमेटम दिएका छन्। माग पूरा नभए आगामी १० गतेदेखि ११औं अनशन बस्ने तयारी थालेको बताएका छन्।
शिक्षण अस्पताल महाराजगञ्जमा बुधवार पत्रकार सम्मेलन गर्दै फेरि एकपल्ट लड्नै पर्ने स्थिति आएको बताउँदै यो अवधिमा माग पूरा नगरे अनशन बस्ने अडान दोहोर्या‍‍ए।

देश चुनावमा होमिएका बेला डा. केसीका माग कसले सुन्ने? कसले पूरा गर्न पहल गर्ने? त्यसमाथि सरकार परिवर्तन हुने कुरा आइसकेको छ। पत्रकारहरुको स्वभाविक जिज्ञासा थिए। डा. केसीले यतिबेला अल्टिमेटम र अनशनको हतार गर्नुको कारण न्यायालयको पीर भएको बताए। उनले आगामी २४ गतेदेखि प्रधानन्याधीश शुशीला कार्कीको पदावधि सकिने भएकाले त्यसअघि नै महाअभियोगको प्रस्ताव फिर्ता लिन दबाब दिने बताए। यसपल्ट डा. केसीले राखेका मुख्य दुई मागमा एउटा यही हो। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामध्ये न्यायपालिका मात्रै निष्पक्ष रहेकाले नेताहरुले त्यसलाई पनि आफ्नो मातहतमा ल्याउन प्रधानन्यायाधीश कार्कीलाई महाअभियोग लगाएको उनको बुझाइ छ। त्यसैले उनले माग राखेका छन्, ‘प्रधानन्यायधीश कार्की विरुद्ध लगाइएको महाअभियोग प्रस्ताव तुरुन्त फिर्ता गरियोस्।’

उनको अर्काे माग चाहिँ चिकित्सा क्षेत्रसँग जोडिएको छ। त्यो हो, आफूले दिएका सुझावलाई समेटेर चिकित्सा शिक्षा विधेयक तुरुन्त पास गर्नुपर्छ।’ माथेमा प्रतिवेदनले उल्लेख गरेका महत्वपूर्ण बुँदा उक्त विधेयकमा नसमेटिएको भन्दै उनले आक्रोश व्यक्त गरे।

यसबाहेक यसअघिको अनशनपछि गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्ने उनको माग यथावत छ। दुई हप्ताभित्रै गठन गर्ने भनिएका समिति र न्यायिक आयोगको पुनर्गठन हालसम्म नभएको भन्दै पत्रकार सम्मेलनमा उनी सरकारप्रति रुष्ट देखिए।

‘शिक्षा मन्त्री होइन, माफिया मन्त्री’
डा. केसीका धेरै माग शिक्षा मन्त्रालयसँग जोडिएका छन्। शिक्षा मन्त्री धनीराम पौडेललाई लक्षित गर्दै उनले भने, ‘शिक्षा मन्त्री होइनन्, उनी माफिया मन्त्री हुन्।’ मन्त्री पौडेलले जनपक्षीय माग पूरा गर्न चासो नदेखाए पनि मेडिकल कलेजलाई अनुमति दिन भने रातारात सक्रियता देखाएको उनको आरोप छ। झापास्थित बिएन्डसी मेडिकल कलेजलाई सञ्चालन स्वीकृत दिन प्रधानमन्त्री पुष्पकमल दाहालसहित शिक्षा मन्त्री पाैडेल सक्रिय भएको दाबी गर्दै डा. केसीले भने, ‘पार्टी समाजवादी, साम्यवादी भन्ने गर्छन् तर काम पुँजीवादीभन्दा तल्लोस्तरको गर्छन्।’

मेडिकल कलेजमा आफ्नो र आफ्ना कार्यकर्ताका लगानी भएकाले नेताहरु आफ्ना माग पूरा गर्न हच्किएको उनको भनाइ छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै क्षेत्र सुदूरपश्चिममा सरकारी मेडिकल कलेज खोल्न अवरोध सिर्जना गरेको उनको आरोप छ। भने, ‘सरकारी मेडिकल कलेज खोल्न अवराधे गरेर आफ्नै कार्यकर्ताको निजी मेडिकल कलेज सञ्चालन गर्न लागेका छन्।’
स्वास्थ्य क्षेत्र सुधारमा उल्लेख्य भूमिका निर्वाह गरिरहेका स्वास्थ्य मन्त्री गगन थापाप्रति पनि उनी असन्तुष्ट देखिए। मन्त्री थापाप्रति डा. केसीको टिप्पणी छ, ‘उहाँ कुरा राम्रै गर्नुहुन्छ। काम के गर्नुभयो भनेर उहाँलाई नै सोध्नू।’ मन्त्री थापा आफैँले गरेका सम्झौता कार्यान्वयनमा समेत पहल नगरेको भन्दै उनले चित्त दुखाए।

हामी तयार छौँः विद्यार्थी
डा. केसीका हरेक अभियान सफल बनाउने सारथी उनकै शिष्यहरु हुन्। आइओएममा अध्ययनरत चिकित्साका विद्यार्थीहरु डा. केसीका पक्षमा खुलेर मैदानमा उत्रिन्छन्। बुधवारको पत्रकार सम्मेलनमा उनलाई साथ दिँदै आइपुगेका थिए नेसनल रेसिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा. लिजन महर्जन र आइओएमका विद्यार्थी विशद दाहाल।

दुवैजनाले आफूहरु डा. गोविन्द केसीका पक्षमा पहिलेजस्तै यसपल्ट पनि आन्दोलन गर्न तयार रहेको बताए। डा. महर्जनले भने, ‘डा. केसी हामी र हामीजस्तै नयाँ पिँढीका लागि लडिरहनुभएको छ। उहाँका हरेक निर्णयमा हाम्रो साथ र समर्थन हुन्छ।’ उनीहरुले आफ्नो संगठन पहिलेभन्दा बलियो र विस्तार भएको बताउँदै डा. केसीका माग पूरा नभए आन्दोलनमा उत्रिने प्रतिबद्धता जनाए। स्वास्थ्य खवरपत्रीकावाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार