को हुन् बर्मन बुढा मगर ? 

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  1018 पटक हेरिएको

काठमाडौं : २०५२ सालमा माओवादीले जनयुद्ध थाल्दाको केन्द्र रोल्पा, रुकुम नै थिए। माओवादीले भरुवा बन्दुक र खुकुरीको भरमा जनयुद्ध उद्घोष गर्दा त्यहाँका मगर समुदायले दह्रिलो साथ मात्रै दिएनन्, सबैभन्दा धेरै बलिदान पनि भए। माओवादी जनयुद्धको उद्‍गम थलो रोल्पामा कम्युनिष्टको बीजारोपण वि.सं. २०१२ मै चर्चित नेता बर्मन बुढाले गरेका थिए। जनयुद्धको समयमा सबैभन्दा चर्चामा आइरहने स्थान थियो थबाङ। जनयुद्धको उद्‍गम थलो रोल्पाको विकट तर सुन्दर त्यही थबाङ गाउँमा उनै बर्मन बुढासहितले कम्युनिष्ट भित्र्याएका थिए। तत्कालीन अवस्थामै क्रान्तिकारी स्वभावका थिए बर्मन बुढा।  पाटन अस्पतालमा बुधबार बिहान उनको निधन भएको छ। केही वर्षदेखि आन्द्राको क्यान्सरसँग संघर्ष गरिरहेका उनले अन्तत: ९० वर्षको उमेरमा देहत्याग गरे।

रोल्पामा कम्युनिष्टहरुको मियो उनलाई आदर्श मान्‍नेको संख्या अहिलेको सत्तारुढ नेकपामा अनगिन्ती छ।  जनयुद्धको उद्गम थलो थबाङका धरोहर तथा आदर्शका प्रतीकका रुपमा परिचित बुढाको निधनले सिंगो कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति भएको कम्युनिष्ट राजनीतिक अनुयायीहरु बताएका छन्। २००७ सालमा देशबाट राणाहरूको अत्याचार हटे पनि गाउँमा मुखियाहरूको जग्जगी उस्तै थियो। तिनै मुखियाहरूले गाउँलेमाथि गरेको अत्याचारको विरोधमा उत्रिँदा उनले त्यही बेला जेल सजाय भोग्नुपरेको थियो।  रोल्पाका बर्मनलाई त्यसबेला मुखियाहरूले पुलिस लगाएर जेल हालेका थिए। रोल्पा जिल्ला अस्तित्वमा नरहेको त्यसबेला उनलाई प्युठान कारागारमा थुनिएको थियो। जहाँ अहिलेका चर्चित कम्युनिष्ट नेता मोहन विक्रम सिंहसँग उनले भेट्न पाए।  कारागारमै रहँदा मोहन विक्रम सिंहसँगको उठबसले उनी कम्युनिष्ट बनेका थिए। मोहन विक्रमसँग कारागारमा बस्दाको उपलब्धि उनले कम्युनिष्ट सिद्धान्त पढे, बुझे अनि गाउँ फर्किए। उनी प्युठान कारागारबाट सजाय भुक्तान गरेर वि.सं. २०१२ मा थबाङ फर्किए।  जेलमा नै कम्युनिष्ट बनेका उनले थबाङमा त्यसको बीजारोपण गरे। त्यसपछि देशमा चलेको पञ्चायती शासनका समयमा उनी थबाङको मुखिया र प्रधानपञ्च पनि बने। संसदीय यात्राअघि पनि उनी राजनीतिक अभियानमा सक्रिय नै थिए।

को हुन् बर्मन बुढा मगर ?

बर्मन बुढालाई सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल** प्रचण्ड, गृहमन्त्री रामबहादुर थापादेखि सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवले पनि आफ्ना आदर्श मान्छन्।  सधैं सरल जीवन बिताएका उनी कम्युनिष्टहरू सुख सयल र सत्तालिप्सामा लागेको भन्दै चिन्तित थिए। अझै १० वर्ष जनयुद्ध हाँकेको माओवादी विभिन्‍न समूहमा छिन्‍नभिन्‍न भएपछि निराश थिए बर्मन बुढा। इमान्दार छवि बनाएका कम्युनिष्ट बर्मन बुढाको जन्म वि.सं. १९८७ श्रावण १७ गते रोल्पाको थबाङमा भएको थियो। मुखियाहरुविरुद्ध २०१२ सालमै विद्रोह गरेका उनी २०५२ सालमा तत्कालीन नेकपा माओवादीले चलाएको जनयुद्धमा पनि होमिएका थिए। तर माओवादीले जनयुद्धलाई टुङ्ग्याउँदै हतियार बिसाएपछि विभाजित हुन पुग्दा उनी असन्तुष्ट र निराश थिए।

राजनीतिक जीवन

थबाङमा मुखियाहरूको अत्याचारविरुद्ध विद्रोह गरेका बर्मन बुढाले संसदीय राजनीतिक अभ्यास पनि गरेका थिए। २०४६ को राजनीतिक परिवर्तनपछि उनले संसदीय राजनीतिको अभ्यास गरेका थिए।  वि.सं. २०४८ सालको आमनिर्वाचनमा उनले रोल्पा क्षेत्र नम्बर १ मा संयुक्त जनमोर्चाबाट चुनाव जितेका थिए। रोल्पामा कम्युनिष्ट पार्टीका संस्थापक उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका चर्चित नेता बालाराम घर्ती मगरलाई पराजित गरेका थिए। उनको यो नै पहिलो संसदीय यात्रा थियो। २०४८ सालमै उनी संयुक्त जनमोर्चाको जिल्ला सचिव बनेका थिए। बर्मन जनमोर्चाका विजयी ९ सांसदमध्ये एक थिए। त्यो बेला तत्कालीन संयुक्त जनमोर्चाबाट प्रतिनिधिसभामा कृष्णबहादुर महराले नेतृत्व गरेका थिए। त्यो आमनिर्वाचनमा क्षेत्र नम्बर १ बाट बर्मन विजयी हुँदा रोल्पा नम्बर २ बाट कृष्णबहादुर महरा विजयी भएका थिए। महरा एक पटक प्रतिनिधिसभाको सभामुख र पटक पटक मन्त्री पनि भइसकेका छन्।

कछाडमै सिंहदरबार

२०४८ सालमा रोल्पाबाट प्रतिनिधिसभामा विजयी हुनुअघि उनको अलग्गै परिचय थिए। उनी छातीमा दुवैतर्फ छड्के बनाएर खाडीको कपडाको भाङ्‍ग्रो र कछाड बाँधेर हिँड्थे। उनले त्यो पोसाकलाई सिंहदरबार छिर्दा पनि उतारेनन्। सांसद भएपछि उनी छातीमा दुवैतर्फ छड्के पारेर लगाउने खाडीको कपडाको भाङ्‍ग्रो र कछाड बाँधेर खाली खुट्टै सिंहदरबार छिरेका थिए।  उनले प्राण नत्यागुन्‍जेलसम्म पनि आफ्नो सरल जीवनशैलीलाई छाडेनन्। कम्युनिष्टहरूलाई सर्वहाराका प्रतिनिधि भनिन्छ। तर साँच्चिकै सर्वहाराका प्रतिनिधिका रुपमा बर्मनले आफूलाई चिनाइरहे। कम्युनिष्टका लागि उनी आदर्श व्यक्ति हुन् तर उनको त्यही आदर्श र सरल जीवनशैली भने नेकपाका कुनै नेताले पछ्याएको भेटिँदैन।

जनयुद्धमा सहभागिता

बर्मन बुढालाई अहिले पनि जनयुद्ध हाँकेको तत्कालीन नेकपा माओवादीका नेताहरु आफ्ना एक आदर्श गुरुका रुपमा लिन्छन्। बर्मन जस्तै रोल्पा रुकुमका मगरहरूको योगदान र बलिदानकै कारण माओवादीले नेपाल पहिलो पटक सशस्त्र विद्रोहलाई उचाइमा पुर्‍याएको थियो। माओवादीको सशस्त्र विद्रोह अघि कांग्रेस र कम्युनिष्ट दुवैले पटक पटक गरेको सशस्त्र विद्रोह प्रयास फेल खाएको थियो।  जनयुद्धलाई एउटा खम्बाका रुपमा साथ दिएका बर्मनको मन माओवादी टुक्रा टुक्रा हुँदै गएपछि मरेको थियो। २०६३ मा आएर जनयुद्धले पूर्णविराम लगाएपछि माओवादीमा अनेक विभाजन देखियो। त्यसपछि मन अमिलो बनाएका उनले आफ्नो राजनीतिक सक्रियता घटाउँदै लगेका थिए।  माओवादी जनयुद्धलाई उचाई दिएका उनी कयौँ कम्युनिष्ट नेताका आदर्श हुन्। भूमिगत अवस्थामा रहेका विप्लवले त अहिले पनि उनलाई आफ्नै पार्टीको नेता ठान्छन्। यिनै आदर्श बर्मन बुढालाई राष्ट्रका लागि योगदान दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महा उज्ज्वल राष्ट्र द्वीपबाट विभूषित गरेकी थिइन्।

थबाङमा कम्युनिष्टको कथा

बर्मनले प्युठान कारागारमा सजाय भोगेर फर्किएपछि वि.सं. २०१२ मा थबाङका कम्युनिष्टको बीजारोपण गरेका थिए। त्यसबेला गाउँमा मुखियाको जग्जगी थियो। स्थानीय कृष्ण झाँक्री नाम गरेका मुखिया (जसलाई गाउँमा राजा पनि भनिन्थ्यो) ले गाउँमा आतंक मच्चाएका थिए। ती मुखियाले गाउँमा कुकुर, कुखुरा, सुँगुरसहितका जनावर छाडा नछाड्न उर्दी जारी गरेका थिए। त्यसका लागि उनले गाउँ भरी झ्याली पनि पिटाएका थिए। कटुवाल लगाएर पनि गाउँभरी उर्दी जारी गराए। तर मुखियाको त्यो उर्दीलाई गाउँलेले नटेरी बसे।  आफ्नो आदेश नमानेपछि रिसाएका मुखियाले छाडा छाडिएका पशुमाथि आक्रमण गर्न लगाए। गाउँलेका घर पालुवा बस्तु सुँगुर, बंगुर, कुखुरा र कुकुरलाई घाइते हुने गरी उनले कुट्न, आक्रमण गर्न लगाए। ती मुखियाले जनावरमाथि भरुवा बन्दुक, खुकुरी र भालाले हान्‍न लगाएका थिए। ती जनावर गम्भीर बिरामी परे, कतिपय मरे तर गाउँलेले मुखियाको अत्याचारको प्रतिकार गर्न सकेनन्।  मुखियाको ज्यादती बढ्दै गएपछि कोही न कोही त बोल्नै पर्ने थियो। यस्तोमा त्यो अत्याचारविरुद्ध बर्मन बुढासहितका प्रतिकारमा उत्रिए। त्यसपछि बर्मनसहितका युवाहरुलाई दमनका लागि मुखियाले प्युठानबाट प्रहरी झिकाएका थिए। प्रहरी आएर पक्राउ गरेपछि उनीसहितमाथि मुद्दा चलाइयो। मुखियाहरूको जग्जगीका बेला मुद्दा लागेपछि बर्मनसहितलाई प्युठान जेलमा लगेर थुनियो।  त्यही उनले अहिलेका कयौँ कम्युनिष्ट नेताहरुका गुरुका रुपमा परिचित मोहन विक्रम सिंहसँग भेट्न पाएर कम्युनिस्टको शिक्षा पाएका थिए। जेलबाट फर्किएपछि उनले थबाङमा कम्युनिस्ट राजनीति थाले। रोचक त के छ भने प्युठान कारागार पुगेका मुखिया कृष्ण झाँक्रीसमेत कम्युनिस्ट बनेर नै गाउँ फर्किए।  प्युठान कारागारबाट निस्किएपछि उनै मोहनविक्रमले त्यस क्षेत्रका कयौँ जिल्लामा कम्युनिष्टको संगठन विस्तार गरेका थिए। उनले सल्यान, रुकुम, दाङमा संगठन बनाएका थिए। मोहनविक्रमले बर्मनको गाउँ थबाङ पुगेर पनि कम्युनिष्टको कमिटी बनाए। त्यही क्रममा बर्मन बुढा मुखिया (राजा) बनेसँगै कम्युनिस्ट राजनीतिमा होमिएका थिए।

कसले के भने?

बर्मन बुढाको निधनमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचणडसहितले दु:ख जनाएका छन्। ‘पुराना वामपन्थी नेता तथा २०४८ को आमनिर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित बर्मन बुढा मगरको ९० वर्षको उमेरमा निधन भएकोमा  म दु:खी भएको छु’, प्रधानमन्त्रीले भनेका छन्,’पञ्‍चायती व्यवस्थाको अन्त्यपछि हामी प्रतिनिधिसभामा सँगै थियौं। उहाँ आफ्नो मौलिक परिचय र भेषसहित संसदमा आइपुग्‍नु भएको  स्मरण गर्दछु।’ त्यस्तै अध्यक्ष दाहालले बर्मन बुढालाई नेपाली मुक्तिकामी आन्दोलनका अथक योद्धा भनेका छन्। ‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ’, उनले भने, ‘सामन्तवाद विरोधी नेपाली जनताको मुक्ति युद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो।’  पूर्व सभामुख कृष्णबहादुर महराले बर्मन बुढालाई एक आदर्श कम्युनिष्टको संज्ञा दिएका छन्। ‘बर्मन बुढा मगरलाई एक कम्युनिष्ट आदर्श तथा अडिग र निडर व्यक्तित्वको रुपमा सधैँ स्मरण गरिरहन्छु’, उनले भनेका छन्, ‘कम्युनिष्टकै किल्ला रोल्पा थबाङ निवासी उहाँ मेरा आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार