१९ फागुन, काठमाडौं । ‘कथाले मागेपछि’ एक हास्य जोडीले आफ्नो कर्म बदल्छन् । टेलिभिजनको पर्दामा रमाइरहेका उनीहरु त्यस्तो बस्तीमा पुग्छन्, जसलाई विपत्तिले खर्लप्पै निलेको छ । त्यही बस्तीको मुहार उजिल्याउने हुटहुटीसँगै उनीहरुको कथामा ‘ट्वीस्ट’ आउँछ ।
अन्ततः जन्म हुन्छ, धुर्मुस-सुन्तली फाउन्डेसनको ।
सीताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात् धुर्मुस-सुन्तली यसका अभियन्ता हुन् । हास्य शृंखला ‘मेरी बास्सै’ मा स्त्रिmन सेयर गर्दागर्दै अफस्त्रिmन दाम्पत्य सम्बन्ध जोडेका यो जोडी ‘रोल मोडल’ को रुपमा देखापरेका छन् । भूकम्पले तहसनहस बस्ती ठड्याउन निस्किएका उनीहरु अहिले महोत्तरीको मुसहर बस्तीमा पुगेका छन् ।
यो त्यही बस्ती हो, जहाँका पुस्तौं-पुस्ता झुपडीमा गुज्रिए ।
न उनीहरुले आफ्नो आँगनमा धारा देखे, न शौचालाय । न विद्यालय देखे, न स्वास्थ्य चौकी । ४२ डिग्रीको टन्टलापुर घामबाट ओत लग्ने गतिलो छानो भएन । न त न्यूनतम ५ डिग्री सेल्सियसको शीतलहरबाट जोगिने न्यानो पर्खाल नै ।
स-साना झिक्रामा हिले माटो लिपिएको झुपडीमा खुम्चिएका उनीहरुले कहिल्यै उज्यालो क्षितिज देख्न पाएनन् । तर, एक जुगमा एकदिन एकचोटि आउँछ । यी निमुखा सदा परिवार त्यही दिनको अधैर्य प्रतीक्षामा छन् ।
अब भित्तामा नेपाली पात्रो फेरिएसँगै मुसहर बस्तीमा नयाँ युगको उदय हुनेछ । उनीहरु नयाँ घरमा भित्रिनेछन्, ०७४ साल बैशाख १ गते ।
एउटा ठूलो कम्पाउन्ड । ५० वटा उस्तै बान्कीका घर । एक सामुदायिक भवन, बाल उद्यान, चौतारो, धारा, शौचालय । झुपडीबाट यो एकीकृत नमुना बस्तीमा सरेसँगै मुसहर समुदाय खुसीले रमाउनेछन् ।
यही उचाइमा पुगेर धुर्मुस-सुन्तली फाउन्डेसनले थालेको एकिकृत नमुना बस्ती निर्माण अभियानको ‘ह्याप्पी इन्डिङ’ हुनेछ । त्यसपछि ?
‘सम्भवत बस्ती बनाउने कामको बिट मारिनेछ’ धुर्मुस अर्थात् सीताराम कट्टेल भन्छन्, ‘किनभने त्यसपछि हामी अलि फरक ढंगले अगाडि बढ्नेछौं ।’
जब मरनी सदा मुस्कुराउँछिन्
उमेरको उकालोमा १ सय ५ वर्ष काटेकी मरनी सदाका पाइला नयाँ घरभित्र प्रवेश गर्नेछ, उनको ओठमा दुर्लभ खुसी छचल्किनेछ । त्यही खुसी हो, धुर्मुस-सुन्तलीले देख्न चाहेको ।
स्टेजमा उभिएर अरुको नक्कल गर्दा, मुखाकृत बंग्याउँदा, थरीथरीका आवाज निकाल्दा पनि त दर्शक खुसी हुन्थे । उनीहरुमा हाँसोको फोहोरा छुट्थ्यो । घत मानेर ताली पिट्थे । तर, मरनी सदाको हाँसो र खुसी त्योभन्दा कता हो कता भिन्न हुनेछ ।
‘हामीले जुन दिन मुसहर बस्ती टेक्यौं, त्यसबेलाको अवस्था दुःखलाग्दो थियो’ सीताराम सम्झन्छन्, ‘उमेर नपुग्दै बच्चा जन्माएकाहरु, खान नपाएर कुपोषणले ग्रस्त भएकाहरु, बेरोजगारहरु, अशिक्षितहरु, रोगीहरु थिए ।’