काठमाडौं । आठौं राष्ट्रिय बाल नाटक महोत्सव बुधबारदेखि राजधानीमा सुरु भएको छ ।
शैली थिएटर र रुसी सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा कमलपोखरीमा भएको महोत्सवको पहिलो दिन शैलीको आफ्नै प्रस्तुति ‘चिसो यात्रा’ र दुई प्रतियोगी नाटकहरु मञ्चन भए ।
फुलब्राइट स्कूलको प्रस्तुति प्रभाकर न्यौपाने निर्देशित ‘कुमारीको घर’ ले कुमारी प्रथाले बालिकामा पारेको प्रभाव र बाटो फराकिलो पार्ने कार्यले पारेको असर देखाइएको थियो । यस्तै, अर्को प्रतियोगी नाटकमा नुतन प्रधान निर्देशित मल्पी सिटी ‘पर्खालभित्र’ ले पैसाको निम्ति बालबालिका र सांस्कृतिक धरोहर समेत बेच्ने प्रवृत्तिले निम्त्याएको समस्या उजागर गरिएको थियो ।
तेस्रो नाटक शैली थिएटरको ‘चिसो यात्रा’ ले एउटा यात्रामा वयस्क र एक बालिकाबीचमा आएको वैचारिक मतभेदलाई चित्रण गरिएको थियो । नाटक नवराज बुढाथोकीले निर्देशन गरेका हुन् ।
बाल साहित्यकार शान्तदास मानन्धरको प्रमुख अतिथि रहेको उद्घाटन समारोहमा विभिन्न बक्ताले बाल नाटक महोत्सवको महत्व र यसले बालबालिकाको सर्वाङ्गीण विकासमा पुर्याउने योगदानबारे चर्चा गरेका थिए ।
शैली थिएटरका संयोजक आर्यन न्यौपानेका अनुसार, पाँच दिनसम्म चल्ने महोत्सवमा दैनिक चार वटा नाटक मञ्चन हुनेछन् । महोत्सव अवधिभर विभिन्न बालमैत्री कार्यक्रम पनि जारी रहने जनाइएको छ ।