चेपाङ समुदायले राष्ट्रिय पर्व न्वागी घरमै बसेर मनाउँदै

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  133 पटक हेरिएको

चितवन । कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष अति सिमान्तकृत चेपाङ समुदायले मनाउने राष्ट्रिय पर्व न्वागी (छोनाम) पनि प्रभावित बनेको छ । चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते न्वागी (छोनाम) मनाउँदै आएका छन् ।

नेपाल चेपाङ संघ केन्द्रीय समितिले नै यसपटक औपचारिक रुपमा कार्यक्रम नगर्ने तर घरमै बसेर भने पर्व मनाउन भनेको छ । संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले आफ्नो मौलिक परम्परागत रूपमा सबै चेपाङ समुदायलाई न्वागी मनाउन भनिएको बताए ।

चेपाङ संघले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङ बहुल क्षेत्रमा न्वागी मनाउँदै आएको थियो ।

चेपाङ संघ चितवनका अध्यक्ष लक्षमण चेपाङले स्थानीय सरकारहरुले चेपाङ समुदायको धर्म र संस्कृतिको रक्षाका लागि कुनै पनि काम नगरेको भन्दै आक्रोश पोखे । उनले चेपाङहरुको मौलिक पर्व मनाउन स्थानीय सरकारले विदासमेत नदिएको गुनासो गरे ।

चेपाङहरूले आफ्नो प्रमुख चाडको रुपमा छोनाम न्वागीलाई मान्छन् । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गर्ने गर्छन् । यस दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । यसका लागि चेपाङ झाँक्री (पाण्दे) हरुले एकपाखे ढ्यांग्रोे ठोक्दै कुखुराको बली चढाउने गर्दछन् ।

छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । चेपाङले न्वागी पर्वलाई ‘पान्देई घ्यासा’ चाड पनि भन्छन् ।

भेला भएर ढ्यांग्रोे बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । न्वागीको दिनलाई चेपाङहरुले वारनाको रूपमा मनाउने गर्दछन् ।

‘वारनामा कोही चेपाङ काममा निस्कँदैनन्,’ पूर्व सांसद गोविन्द चेपाङले भने । चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्छन् । उनीहरू जंगलका गिठा भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजंगलसँग राम्रो साइनो गाँसिएको छ । त्यसैले प्रकृतिको पूजा उनीहरूका लागि महत्वपूर्ण हुन्छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार चेपाङ जातिको जनसंख्या ६८ हजार ३ सय ९९ जना रहेको छ । इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास देखिन्छ ।

चेपाङ बाहुल्य जिल्लामध्ये सबैभन्दा धेरै चितवन जिल्लामा २८ हजार ९ सय ८९ रहेका छन् । कालिका नगरपालिका वडा नं. १० र ११ लाई चितवनको साविक सिद्धि गाविसलाई चेपाङहरूको राजधानी मानिन्छ । यहाँ ९० प्रतिशतभन्दा बढी चेपाङ छन् ।  चितवनको कुल जनसंख्यामामा चेपाङको संख्या सातौं स्थानमा छ ।

दोस्रो, चेपाङ बाहुल्य जिल्ला मकवानपुरमा १९ हजार २ सय ३३ रहेका छन् । तेस्रो, चेपाङ बाहुल्य जिल्ला धादिङमा १४ हजार ४ सय ९२ रहेका छन् । गोरखा जिल्लामा चेपाङको जनसंख्या ३ हजार ४ सय ५४ रहेको छ ।

सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत श्रृंखला वरिपरिको रैथाने वासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङहरुको घना बसोबास छ ।

यद्यपि चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ । जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भीरपहरा आदिको नाम चेपाङ भाषाबाटै राखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार