१ लाख ७० हजारलाई पछि पार्दै मजदुरकी छोरीले टपिन् विश्वविद्यालय, खुल्यो डाक्टर बन्ने ढोका

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  256 पटक हेरिएको

काबुल- कोइला खानीमा काम गर्ने मजदुरकी छोरी साम्सिया अलिजादाले अफगान विश्वविद्यालय प्रवेश परीक्षामा सर्वाधिक अंक प्राप्त गरेकी छन्।

१ लाख ७० हजारभन्दा बढी प्रतिस्पर्धी विद्यार्थीलाई पछि पार्दै १८ वर्षीया साम्सिया अलिजादाले सर्वाधिक अंक प्राप्त गरेको त्यहाँको शिक्षा मन्त्रालयले उल्लेख गरेको रोयटर्सले समाचार प्रकाशन गरेको छ। अब उनी काबुल मेडिकल युनिभर्सिटीमा चिकित्सा शिक्षा अध्ययन गर्ने भएकी छन्।

अफगानी सरकारले तालिबानी इस्लामिक सैन्य समूहसँग वार्ता गरिरहेको समयमा सन् १९९७ देखि २००१ बालिकाहरूलाई विद्यालय जान बन्देज लगाइएको थियो। त्यसका लगत्तैका वर्षमा औपचारिक शिक्षा थालेकी अलिजादाले सन् २०२० को विश्वविद्यालय प्रवेश परीक्षामा सर्वाधिक अंक प्राप्त गर्न सफल भएकी हुन्।

अलिजादका अनुसार उनका बुबाले देशको उत्तरी क्षेत्रमा पर्ने कोइलाखानीमा मजदुरी काम गर्छन्। तर छोरीको शिक्षामा असर नपरोस् भनेर उनले आफ्नो परिवारलाई राजधानी काबुल सारेका थिए।

अलिजादाले आफ्नो पढाइमा प्रतिकूल राजनीतिक अवस्थालाई प्रवेश गर्न दिइनन्। ‘तालिबानको कमब्याक होला कि भनेर मलाई डर त लाग्थ्यो। तर म हिम्मत हार्न चाहन्नथेँ। किनभने मेरा सपना डरभन्दा धेरै ठूला थिए।’

‘मलाई यो स्थानसम्म ल्याइपुर्‍याउने मरो परिवारप्रतिको जिम्मेवारी पनि बोध गरेकी छु। डाक्टर बनेर जनताको सेवा गर्ने सपना बुनेकी छु,’ घरमै रहेकी अलिजादाले रोयटर्ससँगको फोन सम्पर्कमा भनेकी छन्।

अहिले तालिबानीहरूले पनि ‘महिलालाई शिक्षा दिनु हुँदैन’ भन्ने पुरानो नीति परिवर्तन गरेको बताउने गरेका छन्। तैपनि यसप्रति आम महिलाको त्रास भने कम भएको छैन।

संयुक्त राष्ट्रसंघीय निकायहरूका अनुसार अफगानिस्तानमा अझैपनि २२ लाखभन्दा बढी बालिका विद्यालयभन्दा बाहिर नै छन्। ३० प्रतिशतभन्दा पनि कम मात्र महिला शिक्षित छन्।

अलिजादाले सर्वाधिक अंक प्राप्त गरेपछि पूर्व राष्ट्रपति हमिद कारजाईले बधाई दिएका छन्। यसका साथै अमेरिकी दूतावासका प्रमुखलगायतले पनि उनलाई बधाइ दिएका छन्।

‘तपाईंको प्रतिभा र अनुभूति नकार्न नसकिने खालका छन्। तपाईका उपलब्धिले पछिल्ला दुई दशकमा अफगानिस्तानले कति प्रगति गरेको छ भन्ने देखाएको छ,’ अमेरिकी दूतावासका प्रमुख रोस विल्सनले ट्विटरमा लेखेका छन्।

पूर्वराष्ट्रपति हमिद कारजाईले अलिजादाको सफलता ‘अफगानिस्तानको उज्वल भविष्यको आशाको संकेत भएको बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार