मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  79 पटक हेरिएको

जनकपुरधाम । मिथिलाञ्चलका गाउँगाउँमा दसैंमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ । दसैंमा देवी स्तुतिका रूपमा झिझिया नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ ।

यसको बनावट र स्वरूपभित्र जादु, टुनामुना, बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैँटो त्यसकै नमुना हो । टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृतिले यसमा निहित विशेष अर्थलाई संकेत गर्दछ । महिलाको टाउकामा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्न सफल भयो भने नाच्ने महिला ठहरै हुने जनविश्वास छ । त्यसकारण सो घैँटो टाउकामा राखी जादु, टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गरिने गरिन्छ ।

विशेष सुरताल र झिझियाको गीतमा झुमी टाउकोमा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अद्भुत वातावरणको निर्माण हुन्छ । नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिनुका साथै धम्कीसमेत दिइन्छ । बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने गरेको तथा सन्ततिहरूको सुरक्षा हुने जनविश्वास रहेको संस्कृतिकविद् डा. रेवतीरमण लाल बताउँछन् ।

झिझिया लोकनृत्य धनुषालगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा नाचिन्छ । त्यस्तै, भारतीय मिथिला क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो ।

झिझियाको सुरुवात

घैँटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रदर्शन नै झिझिया नृत्य हो । समाज रूपान्तरणसँगै लोकनृत्यहरू गायब हुन थालेका छन् । तैपनि गाउँघर तथा सहर बजारमा यसलाई जीवित राख्न भए पनि बर्सेनि झिझिया नृत्य आयोजना गरिन्छ ।

सातौं वा आठौं शताब्दीतिर बोक्सीविरुद्ध प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको सुरुवात गरिएको इतिहासकारहरू बताउँछन् । गाउँघरमा ती झिझिया नृत्यले निरन्तरता पाइरहँदा सहर बजारसमेत झिझिया नृत्यबाट अछूतो रहेन । जनकपुरमा अहिले हरेक रात समूह समूहमा महिला झिझिया नृत्य गरिरहेको सहजै देख्न सकिन्छ ।
यसको एउटा उद्देश्य दसैंको समयमा देवी दुर्गालाई रिझाउनु रहेको छ । झिझिया नृत्य गर्दै गाइने गीतहरूमा भगवती दुर्गाको स्तुति गरिएका अत्यन्त मोहक गीतहरू पनि गाइन्छन् । त्यसमा प्रत्येक दसैंमा आफ्ना खास सवारीसाथ आउने भगवतीको शृृंगार डोलीमा सवारी र कामख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीतहरू गाइन्छ ।

नृत्यपूर्वको तयारी

झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्छ । एउटा वा दुइटा स्वच्छ घैंटो किनेर त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ । घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । तर, टाउकामा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ

सभ्य गुरुक बन्दे पाउँ । बजर केवाडी ।
बजर बान्हो दशो दुआरी ।
मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।।

यसरी मन्त्रीबाट सिद्ध भएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैंटो राखेर हातको सहारा लिई नाच्दैं ब्रह्मस्थानमा पुगेर सबभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझिया औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घर घरमा गएर नृत्य देखाउने परम्परा छ । प्रत्येक घरबाट पूर्णाहुतिका लागि अन्न÷रुपैयाँ चन्दा माग्ने चलन छ । त्यही मागिएको रकम जोडेर विजयादशमीको दिन पूजा पाठ, भोज र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्जन हुन्छ ।

समाजमा प्रचलित यो झिझिया गीतले सामाजिक अन्धविश्वासलाई प्रस्ट्याउँछ । यद्यपि, गाउँघरका महिलाले आफ्नो पारिवारिक शान्तिको कामना गर्दै दसैंताका झिझिया नाच नाच्ने परम्परा रहेको छ । परम्परागत लोकविश्वासमा आधारित कैयौं यस्ता लोकगीतहरू लोपोन्मुख अवस्थामा छन् । यसकारण, सांस्कृतिक दृष्टिले जगेर्ना गर्नुपर्ने आवश्यकता देखिएको छ ।

पत्रकार एवं शेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष एवं सांसद रामअशिष यादवले लोक संस्कृतिको जीवन्त प्रस्तुति झिझिया नृत्यबाट अन्धविश्वास उखेल्न गाह्रो भएको बताउँछन् । उनले कलालाइ रूपान्तरण गर्न आवश्यक रहेको बताए ।
झिझिया नृत्यमा प्रदर्शन गरिने कलालाइ रूपान्तरित समाजमा परिष्कृत गर्दै अगाडि बढाउँदा झिझिया नृत्य अझै लोकप्रिय र समाजले त्यसबाट केही लिन सक्ने मिथिला नाट्य कला परिषद्का पूर्वअध्यक्ष मदन ठाकुरले बताए ।

झिझियालाई बचाउने प्रयास

झिझियालाई बचाउन मिथिलाञ्चलमा विशेष प्रयास सुरु भएको छ । मिथिला नाट्य कला परिषद्का अध्यक्ष परमेश झाले मिनापले नेपाल भारतको विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिका रूपमा लिने गरेको छ । मिनापले केही वर्षयता झिझियाको ५ सयभन्दा बढी नृत्य प्रदर्शन गरेको छ । जनकपुरकै राजदेवी युवा क्लबले दसैंको बेला झिझिया नृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ । दसैंकै बेला जनकपुरका राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति देखाइन्छ । सिरहा र सप्तरीमा समेत प्रत्येक वर्ष झिझिया प्रतियोगिताको आयोजना हुने गरेको राजविराजका वरिष्ठ पत्रकार शिवहरि भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार