दार्जीलिङ: नेपाली भाषीको बाहुल्यता रहेको भारतको पश्चिम बंगालस्थित दार्जीलिङ पहाडमा नेपाली भाषीहरूको आन्दोलनले हिंसात्मक रूप लिएको छ।
अलग्गै गोरखाल्यान्ड राज्य बनाउनुपर्ने माग गर्दै केही दिनदेखि बन्द हड्ताल गरी आन्दोलनमा उत्रेका नेपाली भाषी र भारतीय सुरक्षाकर्मीबीच शनिबार भएको झडपमा एकजना सुरक्षाअधिकारी र दुर्इजना प्रदर्शनकारी मारिएका छन् ।
बन्दका क्रममा शनिवार त्यहाँ एक पुलिस अधिकृतको धारिलो हतियार प्रहारबाट ज्यान गएको हो । पश्चिम बंगालकी मूख्य मन्त्री ममता बनर्जीले भने यहाँ जारी नेपाली भाषीको आन्दोलनको पछाडि गहिरो षड्यन्त्र रहेको दाबी गरेकी छन् ।
पश्चिम बंगालको दार्जीलिङ पहाड क्षेत्रलार्इ अलग्गै राज्य बनाउन माग गर्दै गोरखा जनमुक्ति मोर्चा (जीजेएम) ले आन्दोलन चर्काइरहेको छ । पुलिस र प्रदर्शनकारीबीचको झडपका क्रममा दार्जीलिङको सिङ्गमरीमा गोली लागेर गोरखा जनमुक्ति मोर्चाका दुर्इजना कार्यकर्ताले ज्यान गुमाएका छन्।
जीजेएमको बन्दबारे ममता बनर्जीले भनिन्, ‘यहाँ यो सबै एक दिनमै भएको होइन । यी हतियार एक दिनमा जुटाइएको होइन । उनीहरू धेरै अघिदेखि हतियार जुटाइरहेका थिए । यस षड्यन्त्रमा गहिरो कारण छ । चुनाव नजिक आइरहेकाले आफू हार्ने डरले केही समूहले यहाँ हिंसा भड्काएका हुन् ।
मुख्य मन्त्री बनर्जीका अनुसार दार्जीलिङ शनिबार इन्डियन रिजर्भ फोर्सको दोस्रो बटालियन (आर्इआरबी) का असिस्टेन्ट कमाण्डर टीएन तामाङलार्इ खुकुरीले काटेर हत्या गरिएको हो ।
शनिवार नै जीजेएमको महिला मोर्चाले दार्जीलिङमा ठूलो र्याली निकालेको थियो । गोरखा जनमुक्ति मोर्चा (जीजेएम) ले गरेको अनिश्चितकालिन बन्द शनिवार छैटौँ दिन पनि जारी रहेको छ।
जसका कारण उत्तरी पश्चिम बंगालको पहाडी क्षेत्रमा तनावको अवस्था झन बढेको छ। राज्यको सत्तारूढ दल तृणमूल कांग्रेस र जीजेएमबीच चलिरहेको घमासानका कारण दार्जीलिङ पहाडमा अशान्ति बढेको हो ।
जीजेएमका सहायक महासचिव बिनय तामाङले पुलिस र तृणमूल कांग्रेसका कार्यकर्ताले शुक्रवार राति करिब तीन बजे आफ्नो घरमा पनि छापा मार्ने नाममा तोडफोड गरेको बताएका छन् ।
दुर्इ दिनअघि पार्टी प्रमुख बिमल गुरूङको घरमा पनि छापा मार्ने नाममा तोडफोड भएको थियो । पुलिसले राजनीतिसँग कुनै लेनदेन नभएका जीजेएमका विधायक अमर रायका छोरालार्इ पनि गिरफ्तार गरेको छ ।
अर्कातिर तृणमूल कांग्रेस कार्यकर्ता देवराज गुरूङले जीजेएमका समर्थकले लेबोङ कार्ट सडकस्थित आफ्नो घरमा ढुंगामुडा गरेको दाबी गरेका छन् ।