मनिषा कोइरालाले गरिन् क्यान्सर बिरामीको उपचारलाई आर्थिक सहयोग

  मनास्लु पोष्ट  645 पटक हेरिएको

काठमाडौं – अभिनेत्री मनिषा कोइरालाले क्यान्सर बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेकी छिन्। अभिनेत्री कोइरालाले क्यान्सर केयर नेपाललाई बिरामीको उपचारमा खर्च गर्न भन्दै एक लाख रुपैयाँ सहयोग गरेकी हुन्।

काठमाडौंमा भएको पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रममा सहभागी भएकी मनिषाले उक्त सहयोग हस्तान्तरण गरेकी हुन्। सहयोग रकम हस्तान्तरण गर्दै मनिषाले आगामी दिनमा क्यान्सर बिरामीको उपचारका लागि आफ्ना तर्फबाट थप सहयोग गर्दै जाने बताइन्।

क्यान्सर केयर नेपालकी सदस्य डा. सन्ध्या चापागाईंले मनिषाले गरेको सहयोग रकम बिरामीको उपचारमा खर्च गर्ने बताइन्। ‘उहाँ (मनिषा)ले हामीलाई अन्य सहयोग पनि निरन्तर गर्दै जाने भन्नुभएको छ,’ डा. चापागाईंले भनिन्, ‘नेपालमा क्यान्सरको उपचार र बिरामीका लागि मनिषाले धेरै काम गर्ने योजना बनाउनु भएको रहेछ ।’

डा. रस्मी पुनले पहुँचमा आउन नसकेका बिरामी लक्षित कार्यक्रम अगाडी बढाइरहेको जानकारी दिइन्।

मनिषा कोइराला क्यान्सर बिजेता हुन्। मनिषा कोइरालालाई पाठेघरको क्यान्सर भएको थियो । समयमै उपचार गरेका कारण उनी क्यान्सर मुक्त भएकी छिन् । उनको पाठेघरको क्यान्सरको उपचार अमेरिकामा भएको हो । सन् २०१२ मा नेपालमा रहेको बेलामा क्यान्सर पुष्टि भएपछि उनी उपचारका लागि भारतको जसलोग अस्पतालमा पुगेकी थिइन् । तर, त्यहाँबाट पनि उनलाई अमेरिका जान सुझाइएको थियो ।

क्यान्सर निको भएपछि कोइरालाले त्यतिबेला सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस अपडेट गर्दै आफू क्यान्सर मुक्त भएको बताएकी थिइन् । उनले त्यतीबेला ‘म भक्कानो छोडेर रोएँ, जब मैले ‘क्यान्सर फ्री’ भन्ने शब्द सुनेँ’ भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन् । क्यान्सर विशेषज्ञ चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन काठमाडौंमा आएको समयमा उनले आफूलाई क्यान्सर सर्भाइभल भनेको मन नपर्ने बताएकी थिइन् । ‘मलाई मात्र होइन म जस्ता अरूलाई पनि क्यान्सर विजेता भनेको उपयुक्त सुनिन्छ,’ उनले त्यतिबेला भनेकी थिइन् ।स्वास्थ्य खबरपत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार