काठमाडौं । पर्यटकलाई सुविधा दिने उदेश्यले काठमाडौं महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ ।
कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकले प्रवेश शुल्क वापत तिरेको पैसाले नैे निःशुल्क इन्टरनेट सुविधा राख्ने र उक्त सुविधा उनीहरुले प्रयोग गर्न छन् । यो महानगरको पहिलो प्राथमिकतामा पर्नेछ, सहप्रवक्ता ढकालले भन्नुभयो ।
तत्कालका लागि इन्टरनेट स्वयम्भू, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर राखिने तयारी भएको छ । त्यसको लागि महानगरले छिट्टै टेन्डर आह्वान गर्नेछ । त्यसैगरी, कामनपाले बालाजु पार्कमा भने इन्टरनेट राख्नका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा काम सुचारु हुनेछ ।
एक वर्षअघि रत्नपार्कमा इन्टरनेट राखेपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि महानगरले अन्य स्थानमा पनि राख्ने तयारी गरेको हो । इन्टरनेट राख्नु पूर्व रत्नपार्कको आम्दानी वार्षिक ५० लाख हुने गरेको थियो । अहिले वार्षिक एक करोड आम्दानी हुने गरेको कामनपाको दाबी छ ।
रत्नपार्कमा इन्टरनेट राखेको एक वर्ष भयो, इन्टरनेटसँगै त्यहाँको सौन्दर्य पनि राम्रो बनाएपछि पर्यटकको आगमनमा वृद्धि भएको हो । त्यसैले अन्य स्थानमा पनि यस किसिमको व्यवस्था गर्न लागिएको बुझिएको छ ।