नेपाल फरक भौगोलिक र सांस्कृतिक विविधता एकै ठाउँमा पाइने देश हो । यहाँ मुटु काम्ने हिमाली क्षेत्रदेखि पसिनाले निथ्रुक्क भइने भावर क्षेत्रसम्मको फरक भूबनौट पाइन्छ । म्याग्दी काफलडाँडा गाउँ यस्तै विरलाकोटिको भूगोल हो ।
यो ठाउँ किन पनि विशेष छ भने, पर्यटकिय दृष्टिकोणमा रमणिय त छदैछ संसारभरि छरिएर बसोबास गरेका पुन सुमुदायहरुको कुल देवता करबाकेली बाबाको राष्ट्रिय थान काफलडाँडा ८ म्याग्दीमै भएकोले यो ठाउँलाई बिशेष रुपले हेरिन्छ । हिमालको काखमा तथा दायाँ–बायाँ खोलाको बीचमा रहेको काफलडाँडामा पुन समुदायको कला–संस्कृति र रहनसहन पनि आफ्नै प्रकारको छ । घोरेपानी जाने पर्यटकहरुले पदयात्राका काफलडाँडा लाई बिशेष रुचाउने गर्छन् । म्याग्दी सदर मुकाम बेनीबाट ५,६ घण्टा पैदलयात्रापछि पुगिने अन्नपुर्ण गाउपालिकाको काफलडाडामा स्थानियको पाहुना सत्कार गर्ने संस्कार र रमणिय ठाउले जो कोहीलाई पनि मोहित तुल्याउछ ।
आकर्षक पयर्टकीय क्षेत्र भएर पनि काफलडाँडा उपेक्षामा परेको ‘मोती’ झैं बनेको देखिन्छ । पर्यटन क्षेत्रको विकासका लागि टान, नेपाल पर्यटन बोर्डले चासो दिन जरुरी छ । पदयात्रीका लागि बाटोघाटो र आवश्यक संकेत चिह्न समेत नराखिँदा पर्यटकहरु समस्यामा पर्ने गरेका छन् ।
काफलडाँडा आउने पर्यटकको रोजाइमै पर्छ तर, पर्यटकीय गाउँ भएर पनि सरकारी निकायले यो गाउँमा आउने पर्यटन बिकासकोलागि केही काम गरेको छैन । राज्यले आधारभूत सुविधाहरु समेत उपलब्ध गराउन नसक्नु दुर्भाग्य नै मान्नुपर्छ ।
अहिलेसम्म गाउँमा जे–जति विकासका काम भएका छन्, दाताहरुको सहयोगले भएका हुन् । यो ठाउँमा राज्यको उपस्थिति नै छैन । पर्यटकिय क्षेत्र काफलडाँडामा पुन समुदायहरुको कुलदेवता करबाकेली बाबाको राष्ट्रिय थान निमार्ण भएपछि झन यस ठाउँको रुप फेरिएको छ । समाजसेबी चाम बहादुर पुनको संयोजकत्व र सक्रियतामा सम्पुर्ण पुन समुदायको आर्थिक भौतिक सहयोग पछि निर्माण भएको थानमा जेठ १६ र मंसीर १६मा पुन समुदायले पुजापाठ गर्दछन । करबाकेली बाबाको दर्शनको लागी जुनै पनि दिन पुग्न सकिने काफलडाँडामा करबाकेली पाहुना घर सुचारु भएपछि दर्शनाथी र पाहुनाको लागी थप सुविधा पुगेको छ । स्थानियको सक्रियतामा अहिले काफलडाडामा जति पाहुना आएपनि व्यावस्थापन गर्न सक्ने क्षमता बनाएका छन । ऐतिहासिक, धार्मिक, सांस्कृतिक,पर्यटकिय तथा पृथक विशेषता बोकेको पुनसमुदायको एक मात्र धरोहर करबाकेली बाबाको राष्ट्रिय थान काफलडाँडाको बिकास संरक्षण् संवद्धन गर्न जरुरी छ ।