दाङ । दाङका चर्चित व्यवसायी राजकुमार श्रेष्ठ अपहरण भएको २१ दिनपछि सल्यानमा मृत अवस्थामा भेटिएका छन् । जेठ २६ गते साँझ अपहरणमा परेका व्यापारी श्रेष्ठ सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ को रैजेखुटिमा रहेको झिम्पे टावर मुनि मृत अवस्थामा फेला परेका हुन ।
अपरहणमा परेका श्रेष्ठको खोजीका लागि सिआइबी र अपराध महाशाखाबाट विज्ञहरुको टोली खटिएको थियो । टोलीले अपरहणमा सम्लग्नमध्ये ४ जनालाई पक्राउ गरिसकेको छ । अपहरणमा संलग्न ६ जनामध्ये दुईजना अझै फरार रहेको स्रोतले बताएको छ ।
पक्राउ परेका चारजनाको सूचनाका आधारमा खोजी गर्दै जाँदा श्रेष्ठको शव पत्ता लागेको हो । कुहिएको अवस्थामा शव फेला परेको सल्यान प्रहरीले जनाएको छ । सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ । प्रहरीले अहिले शव बोरामा हालेर दाङ ल्याउने तयारी गरेको छ ।
कसले गर्यो अपहरण ?
श्रेष्ठको अपहरणमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । श्रेष्ठको अपहरणमा एक युवती र भारतीय पेशेवर प्रयोग भएको प्रहरीको सूचना छ । अपहरणमा ६ जना संलग्न रहेको स्रोतले बताउँछ । जसमध्ये ४ जना पक्राउ परेका छन् । उनीहरूले नै हत्या गरेको स्थाबारेमा प्रहरीलाई जानकारी दिएका थिए ।
अन्य दुई जना फरार रहेका छन् । फरार हुनेहरुमा अपहरणका योजनाकार र प्रयोग भएकी युवती रहेको प्रहरी बताउछ । को हुन ती युवती ? अपहरणमा प्रयोग भएकी युवती तुलसीपुर बजारकै सामान्य युवती हुन् । केही समय देखि सिलाईकटाई व्यवसायमा संलग्न उनको नाम पूजा घर्ती भएको खुल्न आएको छ ।
कसरी भयो घटना ?
श्रेष्ठकी श्रीमतीले जेष्ठ २६ बिहान ६ बजे श्रीमान् सम्पर्कविहीन भएको प्रहरीलाई जानकारी गराएकी थिइन् । अघिल्लो दिन बेलुका शुक्रवार रोटरी क्लब तुलसीपुरको बैठकमा सहभागी भएका श्रेष्ठ घर नफर्केर बेपत्ता भएका हुन ।
‘घरमा आउँछु । ढोका बन्द नगर्नु भन्नुभएको थियोे । तर, उहाँ आउनुभएन’, श्रेष्ठकी श्रीमतीले प्रहरीलाई जानकारी गराएकी थिइन् । सोही दिन दिउँसो श्रेष्ठ सवार बा १२ च १०७१ नम्बरको गाडी सल्यानको रिममा फेला परेको थियो । गाडीमा युवतीले प्रयोग गरेको स्याण्डल भेटिएपछि श्रेष्ठलाई अपरहण गर्न युवतीको प्रयोग भएको प्रहरीले आंकलन गरेको थियो ।
के गरिरहेका थिए श्रेष्ठ ?
पछिल्लो समय जिल्लाकै जोखिमपूर्ण ठाउँ मानिने तुलसीपुर बजारमा श्रेष्ठले बुटवल बस्त्रालय सञ्चालन गर्दै आएका थिए । श्रेष्ठले भारू नोटको अवैध कारोबार समेत गर्दै आएको खुल्न आएको छ । गत असोजमा श्रेष्ठको ३० लाख भारू नोट लुटिएको थियो ।
नेपाल बैङ्कको अनुमतिबिना २५ हजार भन्दा बढी विदेशी मुद्राको कारोबार गर्न पाइँदैन । उनले नेपाल बैङ्कको अनुमतिबिना भारू नोटको कारोबार गर्ने गर्थे । उनको अपहरण र हत्यामा भारु नोटको कारोबार जोडिएको अनुमान गरिन्छ ।