काठमाडौं, २१ फागुन । स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज (शनिबार) र भोलि(आइतबार) पोलियो थोपा खुवाइँदै छ ।
तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ ।
पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था गरी मिलाई सेवा सञ्चालन गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
स्वास्थ्य संस्थाको तालाबन्दी खोली पोलियो खोप कार्यक्रम सञ्चालन गर्ने कार्यमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले शुक्रबार नै गृह मन्त्रालयलाई आग्रह गरेको हो । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा लगाएको ताला तत्काल खोली निर्विवाद रुपमा पोलियोलगायत नागरिकले पाउने सबै स्वास्थ्य सेवा सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।
मन्त्रालयअन्तर्गत कार्यरत केही स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ ख को विशेष पदस्थापनाका विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थामा तालाबन्दी गरेका छन् । उनीहरुको माग सम्बोधन गर्न मन्त्री थापाले विभिन्न निर्णय गराइसक्नुभएको छ ।