दार्जिलिङ लगायतका पहाडी क्षेत्रका स्कुलमा पश्चिम बंगाल सरकारले बंगाली भाषा अनिर्वाय गरे पछि सुरु भएको आन्दोलन अहिले उत्कर्षमा छ। दार्जिलिङबासीले अहिले जबरजस्ती बंगाली भाषा लाद्ने सरकारको निर्णयको विरोध मात्रै गरेका छैनन्, छुट्टै गोर्खाल्याण्ड हुनुपर्ने मागलाई पुनः बिउँताएका छन्।
छुट्टै गोर्खाल्याण्ड माग गर्दै गोर्खा जनमुक्ति मोर्चा (गोजमो)को नेतृत्वमा जारी करिब एक महिना लामो आन्दोलन शनिबार झन् उग्र बनेको छ। शुक्रबार गोर्खाल्याण्ड समर्थक टाँसी भोटिएको मृत्यृ भएपछि शनिबार त्यसविरुद्ध दार्जिलिङमा प्रदर्शन भए। प्रदर्शनकारी पनि उत्तेजक बन्दै तोडफोड र आगजनीमा उत्रिए। तनावपूर्ण स्थितिबीच प्रहरीले गोली चलाउँदा शनिबार थप दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा सुरज सुन्दास र समीर गुरुङ रहेको भारतीय संचार माध्यमले जनाएका छन्।
दार्जिलिङमा हिंसा भड्किए पछि त्यसलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ। त्यहाँ कम्तीमा पनि ८६ जना सेना परिचालन गरिएको जनाइएको छ। केन्द्रीय गहृमन्त्रीको स्रोत अनुसार केन्द्र सरकारले अहिले दार्जिलिङमा कम्तिमा पनि ११ कम्पनीे अर्ध सैनिक बल पठाएको छ।
आक्रोशित प्रदर्शनकारीले दार्जिलिङमा व्यापक दोडफोड र आगजनी गरेका छन्। उनीहरुले त्यहाँको एक प्रहरी चौकी र पेट्रोल पम्पमा आगजानी गरेका छन्। त्यस्तै त्यस्तै पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीको पार्टी तृणमूल कांग्रेसको पार्टी कार्यालय समेत जलाई दिएका छन्।
ममता लचक, कडा बन्दै मोर्चा
दार्जिलिङको आन्दोलन झन्–झन् चर्किदै गएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी केही लचक भएकी छिन्। शनिबारको घटनापछि उनले आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चालाई वार्तामा आउन आग्रह गरेकी छिन्। उनले घटनाको न्यायिक छानबिन गर्ने समेत प्रतिबद्धता जनाएकी छिन्। ‘पहाडी पार्टीसँग सरकार वार्ता गर्न तयार छ, तर त्यहाँ शान्ति हुनुपर्छ। पहाडी जनताको चाहानाअनुसार सकारले प्रयाप्त संयम अपनाएको छ’, शनिबार साँझ एक पत्रकार सम्मेलनमा बनर्जीले भनिन्, ‘यदि अर्को १०–१५ दिनमा शान्ति फर्किन्छ भने पाहाडी पार्टीलाई म वार्तामा बोलाउन सक्छु तर पहिले शान्ति फर्काऊ।’
गोर्खा जनमुक्ति मोर्चाले भने बेनर्जीको प्रस्तावलाई ठाडै अस्वीकार गरेको छ। मोर्चाका सहायक महासचिव विनय तामाङले अब आफुहरुले केन्द्र सरकारसँग मात्रै बार्ता गर्ने बताए। ‘हामी ममता बेनर्जीसँग कुनै वार्ता गर्न जानेछैनौं । ममता बेनर्जी र पश्चिम बंगाल सरकारसँगको वार्ता सधैको लागि बन्द भयो। यदि केन्द्रले गोर्खाल्याण्डको लागि वार्तामा बोलाए हामी जानेछौं’, तामाङले भने।
मोर्चाको चर्किदो आन्दोलनबाट केही लचक जस्तो देखिएकी बेनर्जीले आन्दोलनमा विदेशीको हात रहेको आरोप लगाउन भने छोडेकी छैनन्। उनले शनिबार पनि त्यो आरोप दोहोर्याइन्। ‘दार्जिलिङको आन्दोलन योजनाबद्ध हो। आन्दोलनमा विदेशीको ‘लिंक’ पनि छ’, उनले भनिन्।
दिल्लीको आन्दोलनमा हर्कबहादुरको साथ
छुट्टै गोर्खाल्याण्डको मागलाई लिएर आन्दोलनकारीले दिल्लीमा समेत प्रदर्शन गरिरहेका छन्। शुक्रबारको घटनालाई लिएर आन्दोलनकारीले हिजो केन्द्रीय गृहमन्त्री राजनाथ सिंह निवास नजिकै प्रदर्शन समेत गरेका हुन्। प्रदर्शन गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ। यसैबीच आन्दोलनकारीलाई थप उत्साहित पार्न आइतबार डा. हर्कबहादुर क्षेत्री र र दावा पाख्रिन दिल्ली जाने भएका छन्।