काठमाडौं : प्रमुख दलहरुबीच पुरानै निर्वाचन क्षेत्रलाई यथावत राख्ने गरी छलफल भईरहेका बेला नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले यसको विरोध गरेका छन् ।
दुई पार्टीका तर्फबाट आइतवार जारी संयुक्त प्रेस विज्ञप्तीमा पुरानै निर्वाचन क्षेत्र आफूहरुलाई मान्य नहुने स्पष्ट पारिएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यावदद्वारा हस्ताक्षरीत संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘संघीयताको प्रणालीमा राज्य प्रवेश गरिसकेको वर्तमान अवस्थामा फेरी संघीय व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० निर्वाचन क्षेत्र अनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्छ’ ।
दुई दलले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य शुरु गर्न समेत माग गरेका छन् । यस्तै संघीय निर्वाचन अघि प्रदेशको चुनाव गर्न माग पनि गरेका छन् । आफुहरुले सुरु देखि नै तीनवटै निर्वाचन एकैपटक गर्नुपर्ने माग गर्दै आएपनि स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेकाले अब स्वतः प्रदेशको चुनाव सम्पन्न गर्नु सान्दर्भिक र उपयुक्त हुने विज्ञप्तीमा उल्लेख छ ।
राजनीतिक समस्याहरुको समाधानको लागि संविधान संशोधनको विषयलाई सम्बन्धित पक्षहरुस“ग तत्काल वार्ता गरेर टुङ्गो लगाउनुपर्नेमा समेत उनीहरुले जोड दिएका छन् ।
‘संविधान संशोधनको विषयलाई आवश्यक परिमार्जन सहित संशोधन गरी टुङ्ग्याएर मात्रै आगामी निर्वाचनहरुका लागि सहज वातावरण बन्नेछ । अन्यथा यो विषयले गम्भीर राजनीतिक संकट ल्याउन सक्नेछ’ विज्ञप्तीमा उल्लेख छ ।