भरतपुरको मुद्दा फेरि ६ दिनका लागि सर्यो,

  Manaslu Post  679 पटक हेरिएको

काठमाडौँ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाको मुद्दा फेरि ६ दिनका लागि सरेको छ । भरतपुर १९ मा मतदान गराउने कि मतगणना गराउने भन्नेबारे परेको मुद्दाको सुनुवाइ गरिरहेका एकजना न्यायाधीश अमेरिका जाने भएपछि ६ दिनका लागि सुनुवाइ सरेको हो ।

भरतपुर महानगरको मुद्दा न्यायाधीशहरू ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा रहेको छ । सोमवार यो मुद्दाको सुनुवाइ सुरू भएपनि न्यायाधीश भण्डारी उपचारका लागि अमेरिका जाने भएपछि यसबारेको निर्णयका लागि अझै कुर्नुपर्ने भएको छ ।

मुद्दाबारे सुनुवाइ सुरू भएपनि कानुन व्यवसायीको बहस सकिएको छैन । त्यहीकारण यो मुद्दा हेर्दाहेर्दैमा राखेर ६ दिनका लागि सुनुवाइ सारिएको हो ।

सर्वोच्च अदालतको नियमानुसार हेर्दा हेर्दैमा रहेको मुद्दाको भोलिपल्ट नै सुनुवाइ गर्नुपर्ने प्रावधान छ । तर न्यायाधीश भण्डारी मंगलबार भारत जाने भएपछि उहाँ नेपाल नफर्केसम्मका लागि यो मुद्दाको सुनुवाइ रोकिएको हो ।

न्यायाधीश भण्डारी अमेरिकाबाट साउन ७ गते मात्रै फर्केन कार्यक्रम रहेको छ । भण्डारी फिर्ता भएपछि यो मुद्दाको सुनुवाइ साउन ८ गतेबाट थालिने भएको छ ।

पहिलो चरणको स्थानीय निर्वाचनका क्रममा उम्मेदवार रेणु दाहाल पराजित हुने अवस्थामा पुगेपछि नेकपा माओवादी केन्द्रका प्रतिनिधिले भरतपुर १९ को मतपत्र च्यातेका थिए ।

मतपत्र च्यातिएको भरतपुर १९ मा निर्वाचन आयोगले भने फेरि मतदान गराउने निर्णय गरेपछि यो केश सर्वोच्चसम्म पुगेको हो । आयोगको निर्णयविरूद्ध परेको रिटमा सोमबार वादीकातर्फबाट अधिवक्ता टिकाराम भट्टराईले बहस गर्नुभयो ।

सर्वोच्चले निर्णय सुनाउन ढिलाइ गर्दा भरतपुरका अन्य वडामा निर्वाचित जनप्रतिनिधिले पनि काम गर्न पाएका छैनन् । सोमबारै प्रधानन्यायाधीशको सपथ लिनुभएका गोपालप्रसाद पराजुलीले  आफू थोरै बोलेर धेरै काम गर्ने बताउँदै ढिलो न्यायको परिपाटी अन्त्य गर्ने उल्लेख गर्नुभएको थियो ।

भरतपुर महानगर वडा नम्बर १९ का एमालेबाट सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दर्ता गराउनुभएको थियो । रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सूचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको थियो ।

मतपत्र च्यात्नुअघिसम्म भएको मतगणनामा एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादी-कांग्रेसका संयुक्त उम्मेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि हुनुहुन्थ्यो ।

तर, निर्वाचन भएको दुर्इ महिना हुन लाग्दा पनि सर्वोच्चले फैसला नसुनाउँदा भरतपुरमा मेयर-उपमेयर  र केही वडाका अध्यक्ष र सदस्यको अझै टुंगो लागेको छैन । निर्वाचनमा विजयी भइसकेका वडाअध्यक्ष र सदस्यहरुले पनि काम थाल्न पाएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार