गोरखा उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई कुहिएको खाद्यान्न

  मनास्लु पोष्ट  665 पटक हेरिएको

काठमाडौं, । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई बाटो बनाएबापत उपलब्ध गराइने खाद्यान्न कुहिएको फेला परेको छ ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गोरेटो गोरखासँगको साझेदारीमा ती गाउँमा खाद्यान्न (दाल र चामल) वितरणका लागि पुर्‍याएको थियो । खच्चरमार्फत खाद्यान्न ढुवानी गर्दा पानीले भिजेको र सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा उहिया र सिर्दिवासका बासिन्दाले तोकिएको परिमाणानुसार खाद्यान्न पाउन सकेका छैनन् ।

सोमाबार उहिया र सिर्दिवासमा खाद्यान्न वितरण गर्ने क्रममा केही बोरा खाद्यान्न कुहिएको, डल्लो परेको र कीरा लागेको फेला परेपछि थोरै परिमाणमा मात्रै खाद्यान्न वितरण गरिएको स्थानीयवासीले जनाएका छन् ।

भण्डारण गरिएको मध्ये आधाजसो परिमाणमा दालचामल कुहिएको उहिया खोर्लाका जीतबहादुर गुरुङले बताए । प्रत्येक घरधुरीलाई १५० केजी चामल र २७ केजी दाल दिनुपर्नेमा सोमबार ७५ किलो चामल र नौ किलो दाल मात्रै दिइएको भन्दै गुरुङले बाँकी खाद्यान्न पछि दिने भनी गोरेटोका कर्मचारीले बताएको जानकारी दिए ।

सिर्दिवासको जगतमा पनि सोमबार नै खाद्यान्न वितरण गर्ने क्रममा कुहिएको दाल र चामल भेटिएको थियो । दालमा ढुसी लागेको, डल्लो परेको र कीरा भेटिएको सिर्दिवासका वडाध्यक्ष रामकुमार गुरुङले बताए ।

उहिया गाउँमा २०० घरलाई खाद्यान्न बाँडेको डब्लुएफपीले सिर्दिवासका ६९ घरधुरीमा पनि बाँडिसकेको छ । सिर्दिवासकै ६०० घरधुरी र उहियाका ४०० घरधुरीलाई पनि बाँड्न बाँकी छ । चालीस दिन काम गरेका व्यक्तिले प्रतिव्यक्ति एक सय ५० केजी चामल र २७ केजी दाल पाउने बताइएको छ ।

जेठको दोस्रो साता काम सकिए पनि खाद्यान्न नपाएको भन्दै स्थानीयवासीले गुनासो गर्दैआएका थिए । उक्ता गोरेटो गोरखाले भने कुहिएको र राम्रोे खाद्यान्न अलग्याएर राम्रो दाल, चामल मात्रै वितरण गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार