दाङमा चैते धान खेतीमा आकर्षण, दुई वालीले उत्पादन बढ्दै

  मनास्लु पोष्ट  763 पटक हेरिएको

६-साउन / बर्षमा दुई पटक गरिने धान खेती दाङमा सफल बन्दै गएको छ । राजपुर गाउँपालिका गुरुङखोलाका किसान लालबहादुर बुढाले चैते धान खेती गर्न थालेको दुई बर्ष भएको छ ।

प्रशस्त पानी हुने ठाउँमा चैते धानको सफल उत्पादन भए पछि जिल्लाका विभिन्न स्थानमा यो धान खेती गर्ने किसानहरु थपिदै जान थालेका छन् । गुरुङ खोलाका किसान बुढा सहित त्यस भेगका किसानहरुले यो बर्ष २२ हेक्टर क्षेत्रफलमा चैते धान लगाएर अहिले भित्र्याएका छन् ।

बर्षेनी धान उत्पादन दर घट्दै जाँदा जिल्ला कृषि बिकास कार्यालयले चैत्र महिनामा धान लगाएर उत्पादन बढाउन सकिने कार्यक्रम ल्याएपछि किसानहरु पनि हौसिएका छन् । कृषि कार्यालयले सिचाँई सुबिधा भएका र ब्लकै बनाएर चैते धान खेतीलाई प्रर्बद्धन गर्न थालेको माटो बिज्ञ दिगम्बर यादवले बताए ।

जिल्लाका गढवा १ रङसींङ खोलामा १२ हेक्टर, बंगलचुलीको मूलाबारी र गहतेरामा १२ हेक्टर, बबईमा २५ हेक्टर, गुरुङखोलामा २२ हेक्टर र लमही ३ फल्कापुरमा साढे २ कट्ठामा चैते धान खेती गरिएको छ । दाङमा अहिले १ सय ४ हेक्टर क्षेत्रफलको खेतमा चैते धान खेती गरिएको र अन्य कृषि कार्यालयमा खबरै नगरेर आफ्नो तरिकाले करिब २५ हेक्टरमा खेती गरेको यादवले बताए ।

दुई बर्ष देखी दुई वालीका हिसाबले किसानहरुले धान उत्पादन गरिरहेका छन् । बर्षायाममा लगाईने धान र चैते धान उत्पादनमा १५ प्रतिशत उत्पादनमा फरक आउने गरेको किसानहरुले बताएका छन् ।

चैते धान प्रति हेक्टरमा ५१ क्विन्टल २५ किलो सम्म फल्ने गरेको छ भने बर्षेधान ४० क्विन्टल ६५ किलो सम्म फलेको मापन भएको कृषि कार्यालयले बताएको छ । उत्पादनमा पनि बढी हुने र दुई पटक लगाउन सकिने भए पछि प्रसस्त पानी हुने क्षेत्रका किसानहरु यस तर्फ आकर्षीत बन्दै गएको यादबको भनाई छ ।

यसैविच थोरै क्षेत्रफल र कम पानी भएकोमा लगाईएको चैते धानलाई बचाउन भने समस्या देखिएको छ । पानी कम हुदा लामो खडेरीले र चराहरुले समस्या निम्त्याएको लमही फल्कापुरका किसान रामलाल पौडेलले बर्ताए । खेती राम्रो भए पनि चराबाट बचाउन र पानी पु¥याउन समस्या भएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार