काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्याकारी समितिको बैठक सुरु भएको छ । सोमबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यकारी समितिको बैठकमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पेश गर्नुभएको ‘पार्टी स्थापनाको एक वर्षः समीक्षा र आगामी कार्ययोजना’ शीर्षकको दस्तावेजमाथि छलफल जारी छ ।
बैठकलाई सम्बोधन गर्दै संयोजक डा. बाबुराम भट्टराईले पार्टी स्थापना भएको एक वर्षका सबलता र दुर्बलताहरुको समीक्षा गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको सहि मूल्यांकन, स्थानीय तह निर्वाचनमा सहमागिता र पार्टीले संचालन गरेका विभिन्न अभियानहरुको मूल्यांकन गर्दै आगामी कार्यभारहरुको निक्र्यौल गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
दुई दिनसम्म चल्ने कार्यकारी समितिको बैठकले प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी साउन ११ र १२ गते हुने संघीय परिषद्को बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिनेछ ।
जारी कार्यकारी समितिको बैठकले पार्टीले विगतमा भए गरेका कामकारबाहीको समीक्षा, आगामी दिनको कार्यभार तय गर्ने र पार्टीको सांगठनिक पुनःसंरचना गर्ने नेताहरुले बताएका छन् ।बैठकले वर्तमानको अन्यौलतालाई चिर्दै नयाँ शक्तिलाई शक्तिसहितको नयाँ पार्टी बनाउन राष्ट्रिय राजनीतिमा खेल्नुपर्ने भूमिका निर्धारण गरी सुस्पष्ट धारणा ल्याउने संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले बताउनुभयो ।
त्यस्तै पार्टी स्थापनायताका गतिविधि र स्थानीय तह निर्वाचन, पार्टी एकीकरण तथा ध्रुवीकरणका उपलब्धिहरुको समीक्षा गर्दै भावी कार्यदिशा तय गर्ने केन्द्रीय कार्यालय संयोजक डा. केशवमान शाक्यले बताउनुभयो ।
बैठकले नयाँ कार्यदिशा तय गर्ने र पार्टीलाई सांगठनिक रुपले पुनःसंरचना गर्दै चुस्त, क्रियाशील सांगठनिक स्वरुप निर्माण गरी अघि बढ्नुपर्ने नेता बामदेव क्षेत्रीले बताउनुभएको छ ।
केन्द्रीय कार्यकारी समितिको बैठक भोलि (मंगलबार) सम्पन्न हुनेछ । र, यहि साउन ११ र १२ गते हुने पार्टीको संघीय परिषद्को बैठकले पार्टीको आगामी कार्ययोजनाका बारेमा ठोस निर्णय लिनेछ ।