नयाँ शक्ति केन्द्रीय कार्यकारी समितिको बैठक जारी, ५० भन्दा बढी नेताहरुका आआफ्नो धारणा

  मनास्लु पोष्ट  666 पटक हेरिएको

काठमाडौं – सोमबारदेखि सुरु भएको नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यकारी समितिको बैठकमा कार्यकारी समिति सदस्यहरुले बोल्ने क्रम जारी रहेको छ । मंगलबार अपरान्हसम्म ५० भन्दा बढी नेताहरुले संयोजक डा. बाबुराम भट्टराईले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आआफ्नो धारणा प्रस्तुत गर्नुभएको छ ।

बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टीको राजनीतिक वैचारिक दृष्टिकोणमा प्रष्टता आउनुपर्ने, संगठनात्मक पुनःसंरचना गर्नुपर्ने, जनपरिचालन तथा सामाजिक आन्दोलनहरुलाई प्रभावकारी बनाउनुपर्ने, भ्रष्टाचार विरोधी आन्दोलनलाई सशक्त बनाउनुपर्ने, राजनीतिक रुपले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दालाई थप सशक्त बनाउनुपर्ने, उत्पादन रोजगारका मुद्दालाई ठोस कार्ययोजनाका साथ प्रादेशिक स्तरमा संचालन गर्नुपर्ने तथा पार्टीको समग्र आन्तरिक व्यवस्थापन सुधार गरेर चुस्त बनाउनुपर्ने लगायतका सुझाव दिएका छन् । 

पार्टीका कार्यकारी सदस्य तथा प्रदेश नं. ३ का संयोजक गंगा श्रेष्ठले पार्टीलाई राष्ट्रिय पार्टी बनाउनको लागि पार्टीको सांगठनिक पुनःसंरचना गर्दै सम्पूर्ण तहमा सानो, छरितो, चुस्त एवं प्रभावकारी संगठन निर्माणमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।त्यसैगरी प्रदेश नं. १ का संयोजक पासाङ शेर्पाले पार्टीले मुलुकको राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न तथा पार्टीले उठान गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई स्थापित गर्नका लागि बृहत राजनीतिक मोर्चा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै पार्टीको जारी बैठकले त्यसतर्फ दिशाबोध गर्ने अपेक्षा गर्नुभयो ।

संसदीय मामिला विभाग प्रमुख केशव दाहालले जारी बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहेकोले सबैको सुझाव समेटेर दस्तावेज पुर्नलेखन गरी संघीय परिषद्को बैठकमा पेश गर्ने र त्यसबाट अनुमोदित भएपछि पार्टीले नयाँ कार्ययोजना अलवम्बन गरेर अघि बढ्ने बताउनुभयो । उहाँले वैकल्पिक शक्ति निर्माणका लागि पार्टीलाई प्रभावकारी एवं छरितो संगठनमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । 

प्रशिक्षण विभाग प्रमुख डम्बर खतिवडाले पार्टीको सांगठनिक पुनःसंरचना गर्दै बलियो संगठन निर्माण गरी बृहत राजनीतिक मोर्चामार्फत राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको प्रभावकारी उपस्थिति जनाउने बताउनुभयो । त्यस्तै केन्द्रीय कार्यालय संयोजक डा. केशवमान शाक्यले नयाँ शक्ति पार्टीले राष्ट्रिय एकताका लागिसमेत जागरण अभियान संचालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

बैठकमा नेताहरुको बोल्ने क्रम सकिएपछि संयोजक डा. बाबुराम भट्टराईले बैठकमा उठेका प्रश्न एवं जिज्ञासाहरुलाई सम्बोधन गर्ने र आवश्यक परिमार्जनसहित प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरी भोलि (बुधबार) बस्ने संघीय परिषद् बैठकमा पेश गर्ने कार्यक्रम रहेको कार्यालय संयोजक डा. केशवमान शाक्यले बताउनुभयो ।

कार्यकारी समितिको बैठक पश्चात् साउन ११ र १२ गते काठमाडौंमा बस्ने पार्टीको संघीय परिषद्को बैठकले पार्टीको आगामी कार्ययोजनाका बारेमा ठोस निर्णय लिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार