नयाँ शक्तिको संघीय परिषद् बैठक सुरु

  मन बहादुर पुन  652 पटक हेरिएको

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषद् बैठक बुधबारदेखि सुरु भएको छ । काठमाडौं बुद्धनगरस्थित क्वालिटी ब्याङ्केटमा अपरान्हबाट सुरु भएको बैठकमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ‘पार्टी स्थापनाको एक वर्षः समीक्षा र आगामी कार्ययोजना’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

संयोजक डा. भट्टराईले बैठकमा प्रतिवेदन पेश गर्दै सिमेन्ट, गिट्टी, बालुवा, छड, पानी मिसाएर कंक्रिट निर्माण गरेजस्तो धेरै किसिमका प्रतिभा भएका सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुको विज्ञतालाई एकै ठाउँमा राखेर वैकल्पिक शक्ति निर्माण अभियान सुरु गरिएको बताउनुभयो । उहाँले अहिले मुलुकमा पुराना राजनीतिक पार्टीहरुले विकल्प दिन नसक्ने भन्दै त्यसको अभाव पूरा गर्नका लागि आफूहरु वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रक्रियामा अघि बढेकोसमेत प्रष्ट पार्नुभयो ।

‘माओवादी संविधान नबन्दासम्म क्रान्तिकारी र अग्रगामी शक्ति नै थियो’ उहाँले भन्नुभयो – ‘तर, संविधान बनेयता माओवादीले त्यो क्रान्तिकारीता गुमायो र ऊ अहिले पुराना संसदीय शक्तिहरु जस्तै सत्तालिप्सामा केन्द्रीत भएको छ । त्यसैले हामी अब देशलाई निकास दिनका लागि नै वैकल्पिक शक्ति निर्माणको अभियानमा अघि बढेका हौं र नयाँ शक्ति त्यही विकल्प निर्माणको प्रयास हो ।’बैठकमा पार्टीभित्रको कमजोरी औंल्याउँदै भन्नुभयो – ‘पार्टी क्षमतावान् मान्छेहरुको थुप्रो त भयो तर, टिमबद्ध र एकताबद्ध शक्ति हुन सकेन ।’ उहाँले पार्टीलाई सम्पूर्ण रुपले पुर्नगठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै पुरानो परिचयलाई बिर्सेर मात्र नयाँ शक्ति बन्ने भएकोले सबै नेता कार्यकर्ताहरुलाई पुरानो परिचयको ह्याङओभरबाट मुक्त हुनसमेत आग्रह गर्नुभयो ।

पार्टी पुनर्गठनको आवश्यकतामाथि जोड दिंदै संयोजक भट्टराईले विद्यमान केन्द्रीय कार्यकारी समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेर २ नम्बर प्रदेशबाहेक अन्य सबै प्रदेशका स्थानीय तहहरुमा यहि असोज मसान्तभित्र पहिलो स्थानीय अधिवेशन सम्पन्न गरी केन्द्रीय परिषद्मा स्थानीय तहबाटै चुनिएर आउने व्यवस्था गर्ने प्रस्ताव राख्नुभयो ।

‘सबै तलबाट चुनिएर आउनुपर्छ, म पनि तलबाटै चुनिएर आउँछु’ उहाँले भन्नुभयो – ‘अब कसैलाई टिका लगाएर केन्द्रीय परिषद् सदस्य बनाइनेछैन ।’

बैठकमा करिब ७ सय संघीय परिषद् सदस्यहरुको उपस्थिति रहेको छ । भोलि (बिहीबार)सम्म चल्ने परिषद् बैठकमा संयोजक डा. बाबुराम भट्टराईले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ र आवश्यक परिमार्जनसहित प्रतिवेदन पारित गरी बैठकले पार्टीको आगामी कार्ययोजनाका बारेमा ठोस निर्णय गरी अघि बढ्ने केन्द्रीय कार्यालय संयोजक डा. केशवमान शाक्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार