फोरम नेपालसँग एकताको ढोका बन्द, माओवादीसँगको एकता प्रचण्डको सपना मात्रैः भट्टराई

  Manaslu Post  621 पटक हेरिएको

काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकताको प्रयास समाप्त भएको छ ।
नयाँ शक्ति पार्टीले शुक्रबार गरेको पत्रकार सम्मेलनमा संयोजक डा. बाबुराम भट्टराईले फोरमसँग एकता नहुने घोषणा गरेका हुन् । पार्टी एकताका लागि तिथिमिति नै तोकिसकेको अवस्थामा दुई पार्टीबीचको एकता भाँडिएको हो ।

साउन ९ र १० गते बसेको केन्द्रीय कार्य समितिको बैठक र साउन ११ र १२ गते बसेको संघीय परिषद्को तेस्रो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डा.भट्टराईले उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरम पुरानै परम्परावादी रहेको आरोप लगाए ।

वैचारिक हिसाबले पनि फोरमसँग मिल्न नसक्दा एकताको प्रक्रिया समाप्त भएको भट्टराईले उल्लेख गरे । भट्टराईले उपेन्द्रलाई परम्परावादी भन्दै आफूहरु नयाँ भन्न छुटाएनन् । भट्टराईले उपेन्द्र नेतृत्वको पार्टी संघीय समाजवादी रहेको र आफूहरु समाजवादी रहेको पनि स्पष्ट गरे ।

डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले स्थानीय तहको निर्वाचनमा दलको हैसियतसमेत नपाएपछि संघीय समाजवादी फोरमको निर्वाचन चिन्ह लिएर पहिलो र दोस्रो चरणको चुनावमा भाग लिएको थियो ।

स्थानीय तह निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर चुनाव लगेको नयाँ शक्ति र फोरमबीच एकताका लागि लामो समयदेखि छलफल हुँदै आएको थियो । एकताबारे छलफल भइ अन्तिम अवस्थामा आइपुग्दा एकता भाँडिएको हो । वैचारिक हिसावले नै आफूहरु एक हुन नसकेको भट्टराईले बताए पनि पार्टी नेतृत्व कसले गर्ने भन्नेमा उपेन्द्र र बाबुरामबीच कुरा मिल्न नसकेको स्रोतको भनाइ छ ।

भट्टराईले नयाँ शक्ति पार्टीभित्रै पनि आफू अल्पमतमा परेको कुरा अस्वीकार गरे । उनले पार्टीमा आफू अल्पमतमा नभई बहुमतमै रहेको दाबी गरे ।

माओवादी केन्द्रसँगको एकता प्रचण्डको सपना

डा.भट्टराईले उपेन्द्रसँगको एकता समाप्त भएको घोषणा गरेसँगै नेकपा माओवादी केन्द्रसँग पनि आफ्नो पार्टीको एकता नहुने बताएका छन् । माओवादी केन्द्रसँग एकताको सम्भावना नै नरहेको भन्दै भट्टराई त्यो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सपना मात्रै रहेको उल्लेख गरे ।

आफू लोकतन्त्रका लागि लामो समय लडेको बताउँदै आफू कहिल्यै तानाशाही नहुने पनि भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार