काठमाडौं– अनशनरत डा. गोविन्द केसीको पक्षमा शनिबार राजधानीमा र्याली निकालिएको छ । माइतीघर मण्डलाबाट वानेश्वरसम्म निकालिएको र्यालीमा चिकित्सक, कर्मचारी, विद्यार्थी, राजधानीका अस्पतालहरुमा उपचाररत बिरामीका आफन्त र सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।
यसपटकको र्यालीलाई मेडिकल माफियाको मलामीका रुपमा संकेत गरिएको थियो । माफियाको पुत्लालाई बाँसमा बाँधेर शंख र घन्ट बजाउँदै हिँडाइएको थियो । यसैगरी, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थीले सांसदहरुलाई माफियाका पूजारी बनाएर ‘माफिया पूजन’ कार्यक्रम गरेका थिए । उनीहरुले आईओएमलाई माफियाले आफ्नो चंगुलमा पारेको प्रतीकात्मक रुपमा देखाएका थिए ।
र्यालीका क्रममा ‘सांसदलाई भत्ता, चिकित्सा शिक्षा ऐन बेपत्ता’, ‘एक दुई तीन चार, हामी मान्ने छैनौं हार’, ‘माफियाको मिसन, सिटामोलमा कमिसन’ लगायत नारा लगाइएका थिए ।
डा. केसी चिकित्सा शिक्षा ऐन ल्याउनुपर्ने मागसहित सोमबारदेखि आमरण अनशनमा छन् । यो उनको ११औं अनशन हो ।