मुगु– जिल्ला अस्पताल मुगुको भवन निर्माण कार्य सुरु भएको छ। अस्पतालको पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माणको काम सुरु गरिएको हो। दक्षिण कोरिया सरकारको सहयोगमा हाल १५ शय्याको अस्पताल स्तरोन्ति गरी २५ शय्याको बनाउन लागिएको मुगु जिल्ला अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताए।
दक्षिण कोरिया सरकारले ‘कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (केओआइसिए) मार्फत मुगुमामा आमा तथा बाल स्वास्थ्य सुधारका लागि ‘मातृशिशु स्वास्थ्य सुधार’ परियोजना समेत सञ्चालन गरिरहेको छ। उक्त परियोजना अन्तर्गत करिब २५ करोड लगानीमा अस्पताल भवनको निर्माण हुन लागको हो । २०७३ साल पुसदेखि सुरु भएको भवन निर्माणको काम २०७६ साल असारमा सम्पन्न गर्ने लक्ष्य लिइएको डा. कँडेलले जनाए।
‘कर्णालीको दुर्गम मुगु जिल्लामा स्वास्थ्य सेवा नियमित र भरपर्दो नहुँदा आमा तथा बालबालिकाको स्वास्थ्य जोखिममा छ। आपतकालीन स्वास्थ्य सेवाका लागि यहाँका जनताले नेपालगञ्ज पुग्नुपर्ने वाध्यता छ,’ डा. कँडेल भन्छन्, ‘भौगोलिक विकटता र यातायातको असुविधाले जटिल प्रसूति लगायतका आपतकालीन स्वास्थ्य सेवा लिन पैसा हुनेले करिब पाँच लाख रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गर्छन् भने आर्थिक अवस्था कमजोर हुनेहरुले ताल्चा एयरपोर्टमा जहाज कुर्दाकुर्दै ज्यान गुमाउनुपरेका घटना महिनैपिच्छे देख्न सकिन्छ।’
प्रायःजसो चिकित्सक अभाव रहने जिल्लामा पहिलो पटक एक जना एमडीसहितको चिकित्सक टोली कार्यरत रहेको उनले जानकारी दिए। सुविधा सम्पन्न भवन र उपकरण अभावले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ भइरहेको उनको भनाइ छ। नयाँ भवन निर्माणसँगै आवश्यक उपकरण ल्याउन सके यहाँ जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउन सक्ने उनले बताए।