काठमाडौं : उपत्यका लागायत मुलुकका विभिन्न जिल्लामा गाईजात्रा पर्व मनाइएको छ। दिवङ्गत परिवारले गाई वा परिवारका सदस्यलाई जनवारको रुपमा सिंगारेर नगर परिक्रमा गरी गाईजात्रा मनाइएको छ।
यही अवसरमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भव्य रुपमा गाइजात्रा पर्व मनाएका छन्। ‘मेरो परिवार तथा मेरा मित्रहरुले ममाथि गर्व गर्छन्’ भन्ने नाराका साथ नील हिरा समाजले गाईजात्रा पर्व मनाएको हो। गाईजात्रा पर्व मनाउन देशभरका झण्डै दुई हजार समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी समुदायका सदस्य काठमाडौं आएका थिए।
केही वर्षयता नेपालका तेस्रो लिंगी समुदायले गाईजात्रालाई विशेष (एलजिबिटिआइ प्राइड) पर्वका रुपमा मनाउँदै आएका छन्। यस पटक पनि ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा ‘माइ फ्यामिली एन्ड फ्रेन्ड्स सेलिब्रेट मी’ भन्ने विषयवस्तुमा केन्द्रित रही ठमेलको त्रिदेवीमार्गबाट बाजागाजा र नाचगानसहित र्याली निकालिएको थियो।