काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेता प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकै दिन गर्ने निश्कर्षमा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बोलाएको प्रमुख तीन दलको बैठकमा आगामी मंसिरभित्रै दुवै निर्वाचन एकै पटक गर्ने निश्कर्षमा पुगेका हुन् ।
आज बसेको तीन दलको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दुवै तहको निर्वाचन एकै दिन गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको बैठकपछि काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले जानकारी दिए। उनले प्राविधिक र कानुनी विषयमा आयोगसँग बिहीबार थप छलफल गर्ने सहमति भएको जानकारी दिए ।
निर्वाचन आयोगले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिएपछि प्रधानमन्त्री देउवाले बुधबार प्रमुख तीन दलका शीर्ष नेताको बैठक डाकेका थिए । निर्वाचन आयोगले भने एकै पटक निर्वाचन गर्न कानूनी तथा प्राविधिक जटिलता रहेको बताएको छ ।
एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आगामी मंसिर १५ गतेभित्र दुवै तहको निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताए ।
त्यस्तै, तीन दलबीच आगामी भदौ ४ गतेभित्र संविधान संशोधनको विषयलाई टुंगोमा पु¥याउने सहमतिसमेत भएको छ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न पनि तीन दल सहमत भएको उपनेता नेम्वाङले जानकारी दिए ।
बुधबार मात्रै निर्वाचन आयोगका पदाधिकारीसँग पनि प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । आयोग सदस्यहरुले भदौं १ निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका थिए ।