आजबाट राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणलाई खुला

  Manaslu Post  65 पटक हेरिएको

काठमाडाैं । ऐतिहासिक नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रूपमा अवलोकनका लागि खुला भएको जानकारी गराएसँगै आइतबारबाट ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुनेछ ।

शनिबारबाट खुला भएको औपचारिक घोषणा गर्दै पर्यटनमन्त्री भट्टराईले अब यस दरबारको इतिहासलाई आजीवन संरक्षण गर्नुपर्ने बताए । उनले इतिहासलाई जीवित राख्न सके मात्रै देश र समाजको विकासक्रमका विषयमा अध्ययन अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने बताए । देश तथा विदेशका अनुसन्धानकर्ताका लागि श्री सदन खुला हुनु महŒवपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले तत्कालीन राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्थालगायतका विषयमा बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए । उनले नेपालको इतिहासमा २४० वर्षीय शाह वंशीय शासन कालखण्डको साक्षत् नमुनाका रूपमा सरकारले श्री सदनलाई संरक्षण गर्ने बताए ।

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको सुरुमै श्री सदन खुला गर्ने योजना रहे पनि कोभिडका कारण सम्भव नभएको बताए । उनले अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको बताए । यसैगरी, उनले ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरूका नाम जिल्लाबाट राखिएको पनि जानकारी गराए । उनले अझै मनाङ, मुस्ताङ र जाजरकोट जस्ता करिब १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समयक्रमअनुसार बिस्तारै सबै खुला हुने बताए ।

अहिले सर्वसाधारणका लागि श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरूप दिएको गाडी पनि प्रदर्शनमा राखिएको छ । यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकोप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ ।

२०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुईं तलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए । अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए । २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र स्थापना पछि यस दरबार संग्रहालयमा परिणत भएको थियो । तर, त्यसबेलादेखि हालसम्म यस सदन बन्द नै रहेको थियो । अहिलेसम्म यस सदनमा कसैलाई पनि अवलोकन गर्न दिएको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार