काठमाडौं । एभरेस्ट फेसन होमले मिस तामाङ २०२१ आयोजना गर्ने भएको छ । काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा पत्रकार सम्मेलन गर्दै आयोजक पक्षले सो जानकारी दिएको हो ।
१३औं संस्करणको मिस तामाङका लागि आवेदन खुला गरिएको पत्रकार भेटघाटका क्रममा जानकारी गराइयो । तामाङ भाषा, धर्म, कला, संस्कृति, वेशभूषा, रीतिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पु¥याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता निरन्तरता दिँदै आएको होमका अध्यक्ष रञ्जिता ब्लोन तामाङले कार्यक्रममा बताइन्, ‘आफ्नो सुन्दरतासँगै आफू जन्मेको भूमि, कला र संस्कृतिलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो ।’
सहभागिताका लागि तामाङ जाति हुनुपर्ने, उमेर १६ देखि २८ वर्षको हुनुपर्ने, उचाइ कम्तीमा ५ फिट, शैक्षिक योग्यता एसईई तोकिएको छ । मिस तामाङ विजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ ।
यस्तै, फस्ट रनरअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ । यसैगरी १० वटा सबटाइटल विजेतालाई पुरस्कृत गरिनेछ ।
आवेदनका फारम खुला गरिसकिएको र ९ माघ अन्तिम समय तोकिएको पनि रञ्जिताले बताएकी छन्, ‘माघ १० गते छनोट गरी माघ १४ बाट तालिम सुरु हुनेछ’, अध्यक्ष ब्लोन भनिन्, ‘आवेदनका लागि एभरेस्ट फेसन होम, पुतलीसडकमा सम्पर्क गर्न सक्नेछ ।’
मिस तामाङ सहभागिताले एक महिनाको तालिम दिइनेछ । तालिम अवधिमा तामाङ भाषा, व्यक्तित्व विकास, तामाङ जातिको इतिहास, शृंगार, ऐतिहासिक ठाउँको भ्रमण, फोटोसुट, सामाजिक कार्य अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाकजस्ता दक्षता बनाइनेछ ।