बर्ड फ्लु भारतमा व्यापक, नेपालमा कति जोखिम : डा. शेरबहादुर पुन

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  128 पटक हेरिएको

भारतमा बर्ड फ्लुको प्रकोप देखिएको छ। भारतीय सञ्चार मध्यमहरुका अनुसार घरेलु पक्षी (जस्तै: हास) समुदायमा देखिने काग लगायतका पक्षीहरु एकपछि अर्को गर्दै मर्न थालेपछि यसको कारण पत्ता लगाउने क्रममा बर्ड फ्लु भाइरस पत्ता लागेको हो। इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतको एचफाइबएनएइट (H5N8 )  स्ट्रेन बर्ड फ्लु पत्ता लागेको हो। यो भाइरस नेपालमा पहिलो पटक सन् २०१७ मार्च महिनामा देखिएको थियो।

नेपालमा पहिलो पटक बर्ड फ्लु सन् २००९ मा घेरेलु पक्षीमा देखा परेको थियो। त्यो एचफाइबएनवान (H5N1 ) स्ट्रेनको बर्ड फ्लु भाइरस थियो। त्यसको ठिक दस वर्षपछि सन् २०१९ मा यही बर्ड फ्लु भाइरसको कारणले नेपालमा २१ वर्षीय युवकको मृत्यु भएको थियो। यो नै मानिसमा बर्ड फ्लु भाइरस संक्रमण प्रमाणित र मृत्यु भएको पहिलो घटना थियो। यो घटना नेपालको लागि पहिलो भए पनि अन्तिम भने होइन। यो घटनाले नेपालमा देखिँदै आइरहेको H5N1  बर्ड फ्लुको भाइरस पक्षीबाट मानिसमा सर्न सक्ने र तसर्थ जोखिम बढ्दै गइरहेको भन्न सकिन्छ।

H5N1 बर्ड फ्लु भाइरसलाई उच्च घातक रोग मानिन्छ। विश्व स्वास्थ संगठनका अनुसार मानिसलाई संक्रमण गरे यसको मृत्युदर ६० प्रतिशतसम्म रहने भनिएको छ। यो भाइरस पक्षीबाट मानिसमा सर्ने भए तापनि मानिसबाट मानिसमा सहजै सर्दैन भनिने गरिएको छ। तर यो पंक्तिकारले विश्व स्वास्थ संगठनको सन् २००७ देखि २०१२ सम्मको तथ्यांकलाई होसियारीका साथ विश्लेक्षण गर्दा अत्यधिक मात्रामा ५ वर्ष मुनिका बालबालिकामा पनि H5N1  बर्ड फ्लुको संक्रमण देखिएको तथ्यांक देखिन्छ। यसले यो अति घातक मानिएको H5N1 बर्ड फ्लु बालबालिकासम्म (जो पक्षी फार्मसम्म पुगेको हुँदैन) सरिरहेको तरिका र घातकताको बारेमा हामीसँग सटिक र सही जानकारी अति सीमित रहेछ भन्ने बुझिन्छ।

मानिसलाई H5N1 बर्ड फ्लु भाइरसले संक्रमण गरे उच्च ज्वरो, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने जस्ता मुख्य लक्षणहरु देखिने गर्छ। पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्ने जस्ता थप अरु लक्षणहरु पनि देखिन सक्छ भने जटिल अवस्थामा श्वासप्रश्वासमा अवरोध तथा निमोनिया समेत हुनसक्ने छ।

यी लक्षण कोभिड-१९ सँग पनि मिल्दोजुल्दो हुने भएकोले रोगको निदान गर्न प्रयोगशाला परीक्षणको आवश्यकता पर्नेछ। नेपालमा पहिलो पटक मानिसमा देखिएको बर्ड फ्लु पुष्टि गर्न नमुना विदेशमा पठाउनु परेको थियो। हाल हरेक सिजनमा देखिने र देखिँदै आइरहेका फ्लुका अरु प्रजातिको पहिचान नियमित हुने गरिरहेको भए तापनि शंकास्पद बर्ड फ्लु संक्रमितको नियमित टेष्ट भने हुँदैन।

दुई वर्ष अगाडि यो पंक्तिकारले एक परिवारका दुई कुखुरा पालक कृषकमा उनीहरुको फर्ममा बर्ड फ्लुका कारणले दैनिक सयौ कुखुरा मर्न थालेपछि ज्वरो, खोकी र निमोनिया जस्ता लक्षणहरु देखिएको र पंक्तिकारले बर्ड फ्लु संक्रमणको शंका गरेको भएर पनि परीक्षण गर्ने प्रविधि नहुँदा निदान गर्न नसकिएको घटना ताजै छ।

नेपालमा हाल कुखुरा (अरु पक्षीहरु पनि) पालक कृषकहरु बढ्दै गइरहेकोले बर्ड फ्लु संक्रमणको द्रुत पहिचान र समयमै उपचारको लागि पनि बर्ड फ्लु पहिचान गर्ने प्रविधि सहज रुपमा उपलब्ध हुन जरुरी भइसकेको छ। किसान बाहेक पक्षी ओसार-पसार गर्ने, पक्षी व्यापार गर्ने वा त्यहाँ पुग्ने ग्राहक र त्यसको बध गर्नेहरु पनि बर्ड फ्लुको उत्तिकै जोखिममा पर्ने समूहहरु हुन्। तसर्थ उनीहरुलाई पनि बर्ड फ्लु सम्बन्धी जानकारी र रोगको पहिचान गर्ने सुविधा सहज हुनुपर्छ।

बर्ड फ्लुको उपचारको लागि हाल सिजनल फ्लु सक्रमण हुँदा दिने औषधिहरु नै प्रयोग गर्ने गरिन्छ। यसमा विशेषत ‘ओसेलटेमिभिर’ नामक औषधि नै प्रयोग गर्ने गरिन्छ। यसले लक्षण कडा हुनबाट बचाई मृत्यु हुनबाट रोक्ने छ। यो औषधि नेपाल सरकारले विगतदेखि नै नि:शुल्क दिने गरेको छ।

हुनत हाल भारतमा देखिएको बर्ड फ्लु H5N8 स्ट्रेनको हो र यसबाट मानिस संक्रमित वा मृत्यु भएको भने छैन। तर नेपालमा सन् २०१७ मा H5N8 सँगै H5N1 स्ट्रेन पनि एकै पटक सँगै पक्षीहरुमा देखा परेको थियो। तसर्थ H5N8 मात्र देखिन्छ भन्न सकिँदैन भने H5N1 बर्ड फ्लु भाइरस नदेखिएला पनि भन्न सकिँदैन।

भारतसँग नेपालको ठूलो खुला सिमानाको कारणले पक्षी ओसारपसारमा नियन्त्रण गर्न असम्भवप्राय: देखिन्छ। र, सबैभन्दा महत्वपूर्ण कुरा भनेको नेपालमा H5N1 बर्ड फ्लु भाइरसले मानिसमा संक्रमण गरी मृत्यु समेत गराएको इतिहास भएकोले भारतमा देखिँदै गरेको विकसित घटनाक्रमलाई नजिकबाट विश्लेषण गर्दै यो संक्रमणप्रति गम्भीर भई सतर्कता अपनाउनु जरुरी छ।

सन् २०१९ मा यो पंक्तिकारले कुखुरा पालक कृषकहरुमा बर्ड फ्लु जस्तो लक्षण देखेको, सोही समयतिर काठमाडौँमा झन्डै तीन सयको हाराहारीमा कागहरु बर्डफ्लुको कारणले मरेको र अन्ततोगत्वा बर्ड फ्लु भाइरस संक्रमण (H5N1 ) कै कारणले एक युवाको दुखद निदन हुनुले पनि नेपालमा बर्ड फ्लुको जोखिम मानिसमा बढ्दै गइरहेको संकेत गर्छ।

हाल भारतमा बर्ड फ्लु व्यापक बन्दै जाँदा नेपाल पनि यसको जोखिम बढ्दै गइरहेको छ। हाल घरेलु पक्षीहरुमा शंका लागे बर्डको फ्लु द्रुत परीक्षण गरिने सुविधा भए तापनि पक्षी पालक कृषकहरुको लागि बर्ड फ्लु शंका लागे शीघ्र पत्ता लगाउने सुविधा भने छैन जसले गर्दा समयमा नै रोगको पहिचान गरी उपचार गर्नबाट वन्चित भइरहेका छन्। जसले गर्दा कृषकहरुले ठूलो आर्थिक मार त खेप्नु नै पर्छ तर त्यो सँगसँगै गम्भीर स्वास्थ्य समस्याको जोखिम र बर्ड फ्लुबाट मृत्युको इतिहास नदोहोरिएला भन्न सकिँदैन।

अन्त्यमा, यहाँ भन्न मन लागेको र मनन योग्य कुरा के छ भने, कोरोना परीक्षणको लागि भनेर प्रत्येक प्रदेशमा स्थापना भइसकेको रियल टाइम पिसिआर प्रविधिमार्फत नै बर्ड फ्लु भाइरसको पनि पहिचान गर्न सकिने भएकोले कोरोना महामारीपछि पनि सो प्रविधिलाई निरन्तरता दिन सके बर्ड फ्लु भाइरस लगायत अरु इमरजिङ भाइरसहरुको निदान गर्न पनि उपयुक्त हुने थियो।

(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)    

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार