चार दिन बसेर सकियो राष्ट्रियसभाको हिउँदे अधिवेशन

  Manaslu Post  70 पटक हेरिएको

काठमाडौं : राष्ट्रियसभाको हिउँदे अधिवेशन चार दिन मात्रै बैठक बसेर अन्त्य भएको छ।  गत पुस १७ गतेबाट सुरु भएको अधिवेशन आज आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अन्त्य गरेकी हुन्।

१० दिनको अवधिमा ७ घण्टा ५ मिनेट मात्र चलेर अन्त्य भएको संसद् सचिवालयले भनेको छ।  चालु अधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएका सात वटा अध्यादेशहरू पेश भए।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ पेश भए।

त्यस्तै सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७,  यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ आज अन्त्य भएको अधिवेशनमा पेस भएका छन्।
आज मात्रै राष्ट्रियसभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरे।

त्यसैगरी, यसै अधिवेशन अवधिमा राष्ट्रियसभाका अध्यक्षबाट जारी भएको राष्ट्रिय सभाका समितिहरूको गठन सम्बन्धी आदेश, २०७७  अनुमोदन भयो। त्यस्तै पहिलो पटक राष्ट्रियसभा सदस्यको हैसियतमा वामदेव गौतम संसद प्रवेश गरे। उनलाई राष्ट्रियसभाको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गर्‍यो।

त्यसैगरी, यसै अधिवेशन अवधिमा मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ र थारू आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ सभासमक्ष पेश गरिएका थिए।
यसै अधिवेशन अवधिमा दिगो विकास तथा सुशासन समितिले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७ र विधायन व्यवस्थापन समितिले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७६/०७७’सभा पेश गरेको थियो।

त्यस्तै यसै अधिवेशनमा प्रतिनिधि सभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर केसी, राष्ट्रिय सभाका पूर्व सदस्यत्रय दिपक बहादुर गुरुङ, इन्द्रहाङ्ग लिम्बू र राममान श्रेष्ठ, संविधानसभा सदस्यद्वय भीमप्रसाद गौतम र मानपुर चौधरी र प्रतिनिधि सभाका पूर्व सदस्यद्वय‌ ओमकारप्रसाद गौचन र वीरबहादुर लामा एवं २०६३÷६४ को अन्तरिम व्यवस्थापिका संसदका पूर्व सदस्य कमान सिं लामाको निधन भएकोमा शोक प्रस्तावहरू पारित भए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार