
सौराहामा पर्यटकहरु विस्तारै बढ्न थालेका छन् । हात्ती चढेर निकुञ्ज आसपासको मध्यवर्ती वनमा गैंडालगायतका वन्यजन्तु हेर्न जाने क्रम पनि सुरू भएको छ । तर, पर्यटक आवागमन ज्यादै न्यून भएको निकुञ्जका अधिकारीहरु तथा पर्यटन व्यवसायीहरुको भनाइ छ ।
गएको साउन २९ गते आइतबार सौराहा पूरै डुबानमा थियो । त्यो दिन सौराहामा बसेका स्वदेशीविदेशी लगभग ६०० पर्यटकहरुलाई हात्तीले उद्धार गर्नु परेको थियो । त्यसपछि दुई चार दिन सौराहामा पर्यटक आवागमन ठप्प जस्तै भयो । चितवन निकुञ्ज कार्यालयले गएको बुधबार अर्थात् साउन ३२ गतेबाट प्रवेश अनुमतिपत्र (टिकट) काट्न सुरू गरेपछि पर्यटक आउने क्रम सुधार उन्मुख छ ।
चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा निकुञ्जको पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकका अनुसार साउन ३२ गते जम्मा पाँचजना विदेशी पर्यटकले मात्रै टिकट काटेका थिए । भदौ १ गते टिकट काट्ने पर्यटक संख्या ४८ पुग्यो । उनीहरु सबै विदेशी पर्यटकहरु थिए । सहायक संरक्षण अधिकृत पाठकका अनुसार भदौ २ गते दुईजना नेपाली र ६६ जना विदेशीले निकुञ्ज प्रवेशको टिकट काटेका छन् ।
भदौ ३ गते शनिबार ६५ जना विदेशी र पाँचजना नेपालीले टिकट काटेको पाठकले जानकारी दिए । आइतबार पर्यटकको संख्या सय नाघेको छ । निकुञ्ज प्रवेशको टिकट काटेका पर्यटकहरुले मात्रै हात्ती सफारी, जीप सफारी, जंगल यात्रा गर्न पाउँछ । निकुञ्जभित्र अहिले हात्ती सफारी र जीप सफारी बन्द छ । निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा पर्यटकहरुले हात्ती र जिप सफारी गर्छन् ।
‘बाढी आउनुअघि हात्ती चढ्नेहरु दिनमा तीन चार सयसम्म हुन्थे । बाढी गएपछि त दुई चार दिन ठप्प जस्तै भयो । आज आइतबार बल्ल हात्ती सफारीमा जानेहरु १०० जति भए’ युनाइटेड हात्ती सफारी सहकारीका महाप्रवन्धक नगेन्द्र चापागाईले भने । चितवन निकुञ्ज देशको मुख्य तेस्रो पर्यटकीय गन्तव्य हो । निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु हेर्न देश विदेशबाट पर्यटकहरु चितवन आउँछन् ।
निकुञ्ज घुम्ने पर्यटकहरु वर्षमा दुई लाखसम्म हुने गरेको छ । निकुञ्ज घुम्न आउनेमध्ये लगभग ९० प्रतिशत पर्यटक खान बस्न सौराहा आउँछन् । यो पटकको बाढीमा सौराहामा रहेका ११० मध्ये लगभग सबै होटलहरु डुबानमा परेका थिए । पानी पर्न रोकिएर घाम लागेपछि तत्कालै केही होटल सञ्चालनमा पनि आएका थिए । केही दिनभित्रै लगभग सबै होटल सञ्चालनमा आउने व्यवसायीहरु बताउँछन् ।
क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले बाढी र डुबानका कारण सौराहा र यस आसपासका होटलहरुमा १५ करोड रूपैयाँ बराबरको क्षति भएको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले शनिबार बाढीले नोक्सान पु¥याएको सौराहा क्षेत्रको अवलोकन गरेका छन् ।
भूकम्प, नाकाबन्दी, इन्धन संकट र नाराययणगढ मुग्लिन सडकको दुरावस्थाका कारण दिन प्रतिदिन खस्केको चितवनको पर्यटनमा बाढीले थप संकट ल्याउने हुँदा उचित राहत दिन वाग्लेसँग आफूहरुले माग गरेको अध्यक्ष घिमिरेले बताए । बाढीको जोखिममा रहेको सौराहाको संरक्षण गर्न र क्षति भोगेका व्यवसायीलाई राहतका योजना ल्याउन सरकारले सहयोग गर्ने आश्वासन वाग्लेले दिएका छन् ।