झनक्क रिस उठ्छ ? यसरी गर्नुहोस् नियन्त्रण

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  250 पटक हेरिएको

काठमाडौं – नेपाली समाजमा प्रचलित लोकोक्ति नै छ – ‘रिस खा आफू, बुद्धि खा अरु’ अर्थात् रिसले सबैभन्दा बढी नोक्सान आफूलाई नै गर्छ । तर यो जान्दाजान्दै पनि मानिस रिसाउन छोड्दैनन् । किन होला  ?

रिस एक प्रकारको भावनात्मक संवेग हो । मानिसमा हुने भावभंगीमध्ये रिस ज्यादै शक्तिशाली भाव हो।

विचार गर्नुहोस् त – तपाईको परिवारको सदस्य रिसाएको वेलामा कति दुख दिन्छन् । उनीहरु रिसको आवेगले आँखा सम्म पनि देख्दैनन् । तपाई स्वयम् पनि त कहिलेकाहीँ रिसाउनुहुन्छ होला । परिवारमा हुने झगडाको नकारात्मक असर प्रत्यक्ष रूपमा बच्चामा पर्न सक्छ । तपाईलाई थाहा छ रिसको पनि प्रकार हुन्छ । हालसम्म यति नै प्रकार हुन्छ नभनेतापनि कसैको रिस केहीबेरमा नै नियन्त्रण भइहाल्छ भने कसैको रिस वशमा नै रहन्न । त्यसैले मनोविदले रिसको प्रकारलाई दुई भागमा विभाजन गरेका छन् । एक्टिभ र प्यासिभ । कोही मानिस रिसको झोकमा सांघातिक हमलामा नै उत्रन्छन् कि त भौतिक क्षति गर्न ।

रिसले पारो तातेको बेला मानिसको मतिष्कले दोस्रो कुरा सोच्दा पनि सोच्दैन । सञ्चारमाध्यमबाट बाहिरिएका समाचारमा हामीले देखे सुने पढेका छौँ , रिसको कारण हत्या हिंसा जस्ता बर्बर घटना समेत भएका छन् । यसरी नियन्त्रणबाहिर जाने रिसलाई कसरी काबुमा राख्न सकिन्छ त  ?

पहिलो कुरा यो बुझ्नुपर्छ कि – हामी रिसाउँदा हाम्रो मस्तिष्कबाट धेरै किसिमका रासायनिक तत्वहरु निस्कन्छन् र त्यस्तै गरेर शरीरबाट एड्रेनलीन र कर्टि«सोल जस्ता रासायनिक पदार्थहरु निस्कन्छन्। यी पदार्थहरुले मुटुको धड्कन बढाउँछन्, रक्तचापलाई बढाउँछन् र शरीरमा यस्तो प्रतिक्रिया हुँदा शरीर लड्न वा भाग्नको लागि तयार बन्छ। यसैको परिणाम हो-काटमारका घटना ।

यदी तपाईसँग कडा रिस अर्थात् एक्टिभ रिस छ भने चाहिँ सावधान रहनुहोस् है  ? चिकित्सकका अनुसार यस्तो रिस धेरै लामो समयदेखि बसिरहेको हुन्छ । यस्तो रिसले बदलाभाव पनि निम्त्याउन सक्छ । यस्तो रिस हुनेलाई आफ्नो जीन्दगीदेखि नै रिस उठेको हुन्छ । यस्तो मानिसको रिसले भयावह घटना निम्त्याउन सक्छ ।

अर्को प्रकारको रिस हो केही नरम प्रकृतिको अर्थात् ‘प्यासिभ रिस’ यस्तो रिसमा सामान्य हात हालाहाल वा भित्तामा मुक्का हान्ने जस्तो प्रवृत्ति देखापर्न सक्छ । केहीबेरमा नै सम्हालिएर यस्तो प्रकृतिको रिसाउने मानिसले रिस उठेतापनि भित्रै राख्छ बाहिर देखाउँदैन । यद्यपी घुमाउरो पाराले, अरूलाई भनेको जस्तो गरेर वा बोल्दै नबोली आफ्नो रिस पोख्ने गर्छन् ।

अर्को प्रकृतिको रिस आवेस /आवेग हो । यस्तोमा अचानक, एक्कासी झनक्क रिस उठ्छ । रिस उठेको व्यक्ति ठूलो स्वरले चिच्याउने, कराउने, दाँत किट्ने, आँखा चिम्म गर्ने, शरीर काँप्ने, चिटचिट पसिना आउने, आँखा ठूला पार्ने गर्छन् । तर केहीबेरमा यो रिस सेलाउँछ ।

अर्को प्रकृतिको रिस केही शान्त हुन्छ । तर यिनीहरु स्वयम् आफ्ना लागि भने घातक हुन्छन् । यिनीहरु आफैँलाई चोट पु-याउने, दुःख दिने जस्ता व्यवहार देखाउँछन्। यिनीहरु आत्महत्याको बाटोसम्म जान सक्छन् ।

र, अर्को एकथरी रिस ‘आवश्यक रिस’ हो । यसमा माया पनि मिसिएको हुन्छ । यो सकारात्मक रिस हो । रिस अत्यन्त शक्तिशाली इनर्जी भएको कारण पनि यो उठी सकेपछि कुनै न कुनै रुपमा खर्च हुनैपर्छ। कसैकसैले यो रिसलाई राम्रो काममा लगाउन सक्छन्। उदाहरणको लागि सँगै पढ्ने साथीसँग रिस उठ्यो भने उसलाई पढाईमा एक कदम भएपनि जितेर देखाउने, परिवारको सदस्यको नराम्रो हुन नदिन रिस मिश्रित गाली गर्ने, रिसाएर तर मायाले सम्झाउने ।

वरिष्ठ मनो चिकित्सक तथा स्ट्रेस काउन्सिलर डा. कपिलदेव उपाध्याय भन्छन् : 
लिम्बीक सिस्टमको एमिगडेला भन्ने ठाउँबाट रिस उठ्छ। एमिगडेलामा उठेको रिस ठिक होइन भन्ने सुझाव प्रिफ्रोन्टल कर्टेक्सले दिन्छ। रिस उठेको बेलामा मलाई रिस उठेको छ भन्ने विचार मनमा ल्याउन सक्यो भने प्रिफ्रोन्टल कर्टेक्स एक्टीव हुन्छ र रिसलाई कन्ट्रोल गर भन्ने निर्देशन एमिगडेलालाई दिन्छ। अर्थात् रिस उठेको बेलामा मलाई रिस उठेको छ भन्ने याद गर्ने र ४/५ पटक लामो श्वास लिने र छोड्ने गर्ने बानी गर्‍यो भने रिस कम हुन्छ।

रिस कम हुनु भनेकै आफूलाई र अरुलाई हानी नोक्सानी हुने काम नगर्नु हो । रिस मानिसमा मात्र होइन हरेक प्राणीमा हुन्छ ।

मानिसमा हुने ‘इगो’लाई कसैले आघात पुर्यायो भने त्यसलाई बचाउनका लागि गर्ने प्रतिक्रिया रिस हो । व्यक्तिभित्र भएको (इगो) व्यक्तित्व, स्वभाव, विचार र कहीँकतैबाट आघात वा चुनौती आयो भने, काम अनुसारको अनुकूल अरूको व्यवहार भयो भने रिस उठ्छ । रिस नै भएन भने मानिसका धेरै प्रतिक्रिया शून्य हुन सक्छन् ।

रिसको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्नमा मनोचिकित्सक डा वासुदेव कार्की भन्छन् : 
रिसको कारण रोगसँग लड्ने क्षमता घट्छ र अरू रोगहरु पनि लाग्ने सम्भावना बढी हुन्छ । रिसलाई व्यवस्थापन गर्न यही औषधिले काम गर्छ भन्ने छैन । तर रिसको कारण पहिल्याएर त्यो अनुसारको उपचार गर्दा कम हुन्छ । रिसको मनोवैज्ञानिक उपचार मात्रै सम्भव छ । रिसको व्यवस्थापन गर्न जान्नु नै यसको उपचार हो ।

मनोविद आदर्श प्रधान भन्छन् : रिस उठ्दा दबाउन, पोख्न , होसपूर्वक हेर्न  मात्रै सकिने भएकोले सकभर परिस्थिति मिलाएर रिसको वातावरण नै आउन दिनु हुँदैन । यदि रिस उठिहाल्यो भने मलाई रिस उठेको छ भन्ने थाहा पाउनु जरुरी छ । जब रिस उठ्छ, सो समयमा चार/पाँचपटक गहिरो लामो श्वास लिने र छाड्ने बानी गर्नुपर्छ । रिस उठ्नासाथ तुरुन्त मनलाई अन्ततिर लान कोसिस गर्नुपर्छ । रिस उठ्ने परिवेशबाट उम्कने कोसिस पनि आफैँले गर्नुपर्छ ।

यसका अलावा नियमित योग, ध्यान, प्राणायामलाई आफ्नो दैनिकीमा जोड्नु र सादगी जीवन बिताउनु नै रिसबाट हुने नोक्सानीबाट जोगिनु हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार