अधिकार माग्दै कञ्चनपुर र कैलालीका रानाथारू

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  167 पटक हेरिएको

कञ्चनपुर : कञ्चनपुर र कैलालीका रानाथारू समुदायले छुट्टै जातिमा सूचीकृत भए पनि अधिकारका लागि एकबद्ध भएर अगाडि बढ्ने भएका छन्।

प्रथम रानाथारू सूचीकृत दिवसका अवासरमा बोल्दै राना थारु अगुवाहरूले शिक्षा, रोजगार र राज्यका हरेक तहमा पहुँच अभिवृद्धिका लागि संघर्ष गर्नका लागि एकवद्धताको खाँचो औंल्याएका हुन्। दिवशका अवसरमा बोल्दै विघटित प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले लामो संघर्ष र बलिदानबाट रानाथारू समुदाय आदिवासी जनजातिका रूपमा अलग्गै सूचीकृत भएको बताए। सूचीकृतको हतियार पाईएकाले अधिकारका लागि बलियो लडाइँ लड्न सकिने उनले बताए।

नेपाल रानाथारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले रानाथारू समुदायको सूचीकृतसँगै रानाथारू भाषा सूचीकृत, व्याकरण तथा शब्दको निर्माण एवं मुख्य पर्वहरूमा सार्वजनिक बिदा लगायतका उपलब्धिमूलक कार्य भएको बताए।

रानाथारू समुदायलाई आदिवासी जनजातिका रूपमा सूचीकृत गर्ने वर्तमान सरकार र सहयोगी सम्पूर्ण निकायप्रति आभार व्यक्त गर्दै विभिन्न क्षेत्रमा रानाथारूका लागि आरक्षण कोटा र विभिन्न आन्दोलनमा ज्यान गुमाएका रानाथारू समुदायका व्यक्तिहरूलाई सहिद घोषणा लगायतमा माग अघि सारेको उनले बताए।

शहीद भीमदत्त पन्तसँगै किसान आन्दोलनमा ज्यान गुमाएका कैदु राना र साधु राना, सामाजिक अगुवाइ गर्दा ज्यान गुमाएका नन्दलाल रानालाई शहीद घोषणा गरिनुपर्ने उनले बताए।

यसैगरी, १० वर्षे जनयुद्धको समयमा ज्यान गुमाएका विलाप राना, सुरेश राना, हापु राना, सर्जुन राना, गन्नु राना, दल्ला राना, कल्लु राना, फुल्टु राना, अनिता राना, लोहरा राना, देशराज राना र मंगल राना लगायतका सहिदको सूचिमा सूचिकृत गर्नका लागि माग गरिएको उनको भनाई रहेको छ। २०६२-०६३ को जनआन्दोलनमा ज्यान गुमाएका होरिलाल रानालाई यसअघि नै शहीद घोषणा गरिसकेको छ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य श्यामलाल रानाले रानाथारू समुदायको एकमतका कारण सूचीकृत भएकोले निरन्तर एकताबद्ध भएमा मात्रै अधिकार स्थापित गर्न सकिने बताए। कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले रानाथारू सहितका अन्य समुदायको कला, संस्कृति र पहिचान संरक्षणका लागि बहुसांस्कृतिक संग्राहलय निर्माण गरिरहेको बताए। उनले रानाथारू समुदायको स्थानीय पाठ्यक्रम र व्याकरण लगायतका विषयमा समेत नगरपालिका केन्द्रित रहेको बताए।

त्यस्तै, कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख रमिता राना बडायकसहितका अन्य वक्ताहरूले रानाथारू सूचीकृत भएको दिन ऐतिहासिक भएकोले यसलाई हर्षको पर्वका रूपमा मनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार