प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा आकस्मिक रुपमा एक्लाएक्लै भेटवार्ता भएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराका अनुसार मोदीको इच्छा अनुसार यो आकस्मिक भेटावार्ता भएको हो।
बुधबार दिल्ली आएकै दिन मोदीले आकस्मिक रुपमा देउवासँग भेटेका हुन्। दुई प्रधानमन्त्रीबीच बिहिबार दिउँसो १२ बजेदेखि १ बजेसम्म भेटवार्ता हुने भ्रमण तालिकामा थियो।
‘निकट तथा मैत्रीपूर्ण छिमेकी नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न पाउँदा खुसी छु’, भारतीय प्रधानमन्त्री मोदीले देवासँग भेटको फोटो राख्दै ट्वीटमा भनेका छन्, ‘भोली विस्तारमा वार्ता हुनेछ।’
देउवाको भ्रमण दलमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर प्रम देउवा र मोदीबीच भेटवार्ता भएको पुष्टि गरे।
‘प्रधानमन्त्री देउवा र मोदीबीच भर्खरै भेटवार्ता भएको सत्य हो, साँझ ५ बजेबाट दुई प्रधानमन्त्रीबीच वान टु वान भेटवार्ता भएको हो’, महराले नेपालखबरसँग भने, ‘आकश्मिक रुपमा भारतीय प्रधानमन्त्री मोदीले भेट्न चाहनु भएकोले आजै वार्ता भएको हो।’
भारत र चीनबीच भुटानको सीमा दोक्लममा विवाद चर्किरहेको अवस्थामा भएको प्रधानमन्त्री देउवाको भ्रमणलाई निकै चासोका साथ हेरिएको सन्दर्भमा मोदीले निर्धारित समयभन्दा अघि नै देउवालाई भेटेका हुन्।
कुटनीतिक विज्ञहरूका अनुसार राजकीय भ्रमणका अवसरमा यस्तो आकस्मिक भेट विरलै हुने गर्दछ।
भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहताले चीन र भारतबीच भएको तनावका कारण पनि भारतले अहिले नेपाललाई बढी महत्व दिएको बताए।
‘प्रधानमन्त्री देउवाको औपचारिक भ्रमण त बिहिबार बिहान राष्ट्रपति भवनमा गार्ड अफ अनर दिएपछि मात्र हुन्छ। त्यो अघि नै भएको यो भेटवार्ताको निकै महत्व छ’, दिल्लीमा नेपाल–भारत मामिला विज्ञ मेहताले नेपालखबरसँग भने, ‘भारतको अर्को चासो भनेको मधेसलाई संविधानमा समेटनु हो। संसदबाट संशोधनको प्रस्ताव फेल भएपछि अब कसरी जाने भनेर मोदी र देउवाबीच छलफल भएको हुनसक्छ।’
प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले भ्रमणकै दिन मोदीसँग भएको वार्ताले निकै महन्व र अर्थ राख्ने जनाए। ‘यसबाट भारतले नेपाललाई निकै महत्व दिएको बुझिन्छ’ उनले भने।
दिल्लीस्थित नेपाली दूतवासमा प्रवासी नेपालीलाई संबोधन गरिरहेका देउवा मोदीले भेट्न खोजेको सूचना पाएपछि संवोधन छोट्याएर गएका थिए।
मोदीसँगको भेटवार्तापछि प्रधानमन्त्री देउवा भारतीय चेम्बर्स अफ कर्मसले होटल ताजमान सिंहमा आयोजना गरेको कार्यक्रममा बेलुकी साँढे सात बजे उपस्थित भएका छन्। उनले सो कार्यक्रममा संबोधन गर्ने छन्।