कति अनमोल छ मित्रता ?

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  137 पटक हेरिएको

मित्रता यस्तो हुनुपर्छ । जसमा दुवैले दुवैलाई दिन खोजून् । त्यागको भावना प्रदर्शित गरून् अनि मित्रको पीडामा स्नेहको लेप लगाऊन् । अनि खुसीको क्षणमा पनि खुसी दोब्बर बनाउन अग्रसर होऊन् ।

पौराणिक ग्रन्थहरूले मित्रताविना जीवन अधुरो हुने कुरा बताएको छ । पौराणिक ग्रन्थहरूमा मित्रताका उदाहरण थुप्रै छन् । तीमध्ये पनि राम र सुग्रीवको मित्रता, कर्ण र दुर्योधनको मित्रता, कृष्ण र सुदामाको मित्रता, मित्र र वरुण दुई दाजुभाइको मित्रता निकै आदर्शयुक्त देखिन्छन् ।

यिनीहरूको मित्रता हेर्दा मित्रताको वास्तविक अर्थ के हुन्छ र मित्रको कर्तव्य के हुन्छ भन्ने कुरा ज्ञात हुन्छ ।

महाभारतको प्रसंगमा हेर्दा दुर्योधन र कर्णको मित्रता अनुपम मानिन्छ । आजसम्म पनि जहाँ मित्रताको कुरा उठ्छ त्यहाँ दुर्योधन र कर्णको कुरा आइहाल्छ । एकअर्काप्रति उनीहरूको निष्ठा एवं प्रेम प्रशंसनीय छ । उनीहरूको मित्रता झल्काउन यही एउटा उदाहरण पर्याप्त छ– महाभारत युद्ध हुनुअघि श्रीकृष्ण दूत बनेर हस्तिानपुर पुगेका थिए । त्यहाँबाट फर्कंदा उनले कर्णलाई भने कि हे कर्ण ’ तिमी सूतपुत्र होइनौ, कुन्तीपुत्र हौ, तिमीले पाण्डवहरूतर्फ लागेर युद्ध ग¥यौ भने पाण्डवहरूको जीत हुनेछ र तिमीले हस्तिनापुरको राज्य पाउनेछौ ।

त्यतिखेर कर्णले भनेका थिए, हे कृष्ण ! तपाईं पाण्डवहरूको पक्षमा भएपछि निश्चित रूपले युद्धमा पाण्डवहरू नै विजयी हुनेछन् । तर दुर्योधनले मलाई आजसम्म जुन सम्मान तथा राज्यसमेत दिएको छ, जुन हिसाबले सबबाट परित्यक्त मलाई स्विकारेको छ अनि अहिले पनि मेरै भरोसामा युद्ध गर्न तम्सिएको छ । यस्तो अवस्थामा मैले उसलाई छोडेँ भने त्योभन्दा ठूलो अन्याय अर्को हुन सक्दैन, यो मित्र धर्मको विरुद्ध हुन्छ । तसर्थ हारिन्छ भनेर जान्दाजान्दै पनि, युद्धमा मारिने सम्भावना बढी भए पनि म दुर्योधनको साथ छाड्न सक्दिन । कर्णको यो भनाइबाट उनीहरूको साँचो मित्रता ज्ञात हुन्छ ।

मित लगाउने कामले भावनात्मक सम्बन्ध कसिलो बनाउँछ । सुखदुःखमा मेरा पनि कोही छन् है भन्ने भाव जगाउँछ । अनि नेपाली समाजमा मरेपछि पनि अन्त कतै बास नपाए पनि मितको घरमा वास पाइने मान्यता छ ।

एकअर्को समुदायसँग घुलमिल हुनका लागि सजिलो माध्यम मितेरी सम्बन्ध गाँस्नुलाई नै मानिन्छ । नेपाली समाजमा यस्तो अभ्यास धेरै समय अघिदेखि नै चलिआएको पाइन्छ । कतिपय अवस्थामा समान हैसियत एवं अवस्था भएका बीच पनि सम्बन्ध थप प्रगाढ बनाउनका लागि मित लगाउने चलन चलाइएको पाइन्छ । मित लगाएपछि मितको सम्मान गर्नुपर्ने भएकाले आपसी शत्रुता हट्ने हुँदा विरोधी पक्षका केही व्यक्तिका बीच यस्तो सम्बन्ध गाँसिदिने अभ्यास समेत नेपाली समाजमा प्रशस्त मात्रामा भएको पाइन्छ ।

मितेरी साइनो केवल मितमा मात्र सीमित हुँदैन । मित वा मितिनीका पति तथा पत्नीलाई पनि मित र मितिनी नै भनेर सम्बोधन गरिन्छ । त्यस्तै मितदाइ, मितभाइ, मितिनी दिदी वा बहिनी, मितबा, मितिनी आमाजस्ता साइनो पनि नेपालीबीच प्रिय छन् । यस्ता साइनो नेपाली समाजको जरासम्म भिजेको पाइन्छ ।

नेपाली संस्कृतिले मितेरी सम्बन्धलाई ठूलो मानेको कुरा स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्य अर्थात् स्वस्थानी व्रत कथाबाट थाहा पाउन सकिन्छ । त्यसमा व्रतालुले स्वस्थानीको प्रसाद सकेसम्म पतिलाई, पति नभए छोरालाई तथा छोरा पनि नभए मित छोरालाई दिनु भनेर मितेरी सम्बन्धको महत्व उजागर गरेको छ ।

कतिपय अवस्थामा मितेरी साइनो स्वार्थका लागिसमेत गाँसिएको पाइन्छ । फरक भूगोलमा गाँसिएको मितेरी साइनोमा दुवै पक्षको सहजता हेरिन्छ । हिमाली तथा पहाडी क्षेत्रका बासिन्दाबीच मितेरी साइनो गाँस्ने चलन पहिले व्यापक मात्रामा थियो । त्यसमा दुवै पक्षको स्वार्थ गाँसिएको हुन्थ्यो र स्वार्थ मिलुन्जेल मित्रता पनि कायम रहन्थ्यो । स्वार्थकै आधारमा गाँसिएको भए पनि त्यस्तो सम्बन्धमा दुवै पक्षलाई फाइदा नै पुग्थ्यो, घाटा हुँदैनथ्यो ।

हिजोआज मित लगाउने चलनमा कमी आए पनि पूरै हटेको भने छैन । विभिन्न समयमा यो चलनलाई सामाजिक सद्भाव बढाउनका लागि समेत प्रयोग गरिएको देखिन्छ । केही समयपहिले उपराष्ट्रपति पुनका छोरा दिपेशले राउटेसँग मित लगाएको प्रसंग निकै चर्चित भएको थियो । यस कार्यले लोपोन्मुख राउटे समुदायप्रति समाजमा विद्यमान दृष्टिकोणमा धेरै हदसम्म सकारात्मक परिवर्तन देखिएको थियो । यस्तै गरी मधेसमा द्वन्द्व चर्किएको समयमा सामाजिक सद्भाव खल्बलिन नदिन मधेसी र पहाडी समुदायका बीच मितेरी सम्बन्ध गाँसेर स्थिति नियन्त्रित पार्ने अभियान समेत चलेको थियो । केही वर्षअघि चुनावका क्रममा विभिन्न राजनीतिक दलले मतदातालाई रिझाउन मितेरी सम्बन्ध गाँस्ने अभियान नै चलाएकाजस्ता समाचारसमेत आएका थिए ।

कतिपय अवस्थामा भने मित्रता गाँसेकै कारण घाटा बेहोर्नुपरेका उदाहरण समेत पाइन्छ । यस्तै प्रसंग नेपाली इतिहासमा भेटिन्छ । नेपालको इतिहास हेर्दा एकीकरणकर्ता पृथ्वीनारायण शाहका मितेरीले ठूलो अर्थ राख्छ । उनले भक्तपुरका राजा रणजीत मल्लका छोरा तथा काठमाडौँका राजा जयप्रकाश मल्लसँग मित लगाएका थिए । मित्रताकै आडमा उनले उपत्यकामा आएर यहाँको वस्तुस्थिति राम्रोसँग बुझ्ने अवसर पाएका थिए । फलतः गोरखा राज्यले काठमाडौं उपत्यकामाथि विजय पाउन सकेको थियो ।

मनोचिकित्सकहरू भन्छन्– मित्रतापूर्ण व्यवहारले मानसिक सन्तुलन गुमाएकाहरूलाई समेत ठीक बनाउन सहयोग मिल्छ । घरपरिवारको माया नपाउँदा र एक्लो हुँदा धेरै पीर परेर हुने खालका मानसिक समस्या मित लगाउने वा मिल्ने साथी पाएपछि कम हुन्छन् । नेपालमा यो बिषयमा व्यवस्थित अध्ययन नभए तापनि यस्ता किसमका धेरै घटना समाचारमा आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार