
पोखरा पर्यटन परिषद्को नेतृत्वमा त्यहाँका व्यवसायीले संकलन गरेको रकमबाट शनिबार रत्ननगर ५, ६ र ७ का बाढी प्रभावितहरुलाई राहत वितरण गरेका थिए । यस्तै पश्चिमचितवनको मेघौली र माडी तथा नवलपरासीको सुस्ताका बाढीपीडितलाई राहत वितरण गरिएको थियो ।
कार्यक्रममा भरतपुर महानगरकी मेयर रेणु दाहाल, उपमेयर पार्वती शाहलगायतले पर्यटकीय नगरी पोखराका व्यवसायीहरुले गरेको सहयोगको सराहना गरेका थिए ।
सौराहामा यहाँका ४०० घरधुरीलाई सात लाख बराबरको म्याट, तन्ना, व्ल्याङ्केट र झुल वितरण गरिएको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । रेवान सौराहा, रेवान पोखराको आयोजना तथा सपना भिलेज सोसल इम्प्याक्ट र हस्तबहादुर भट्टराई स्मृति प्रतिष्ठानको सहयोगमा राहत वितरण गरिएको थियो ।
सौराहासहित चितवनकै मेघौली र माडी तथा नवलपरासीको सुस्तामा पोखराका व्यवसायीले ३२ लाख बराबरको सामान वितरण गरेका छन् ।
पोखरा पर्यटन परिषद्को संयोजनमा राहत वितरणका लागि चार टोली चितवन र नवलपरासी आएको थियो । ‘पर्यटनका हिसाबले पोखरा र सौराहा एक अर्काका परिपुरक हुन्’ रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरूङले भने, ‘सौराहाको दुःखमा साथ दिन हामी यहाँ आएका हौ ।
यहाँका ४०० घरपरिवारलाई करिब सात लाख बराबरको राहत वितरण गरिएको रेवान पोखराका निवर्तमान अध्यक्ष एवम् रेवानका केन्द्रीय उपाध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।
राहतका लागि पोखरा पर्यटन परिषद्को संयोजनामा क्षेत्रीय होटल संघ पोखरा, क्षेत्रीय रेवान पोखरा, पश्चिमाञ्चल होटल संघ, टान, टेसालगायत पर्यटनसँग सम्बन्धित र अन्य संघसंस्थाबाट रकम संकलन गरिएको थियो ।
रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षता तथा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनसहित वडाध्यक्षहरु कृष्ण महतो, राजन भट्ट र बलराम दाहालको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
शनिबार नै रेवान सौराहाले रत्ननगरका बाढीपीडित २०० घरपरिवारलाई सुत्नका लागि म्याट, तन्ना, व्ल्याङ्केट र झुल वितरण गरेको छ । रेवानका सौराहाका अध्यक्ष गिरीका अनुसार उनीहरुलाई दुई लाख बराबरको सामान वितरण गरिएको छ ।