धिमाल जातिको पहिचान : मौलिक पहिरन र गहनामा झल्किन्छ जातीय विशेषता

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  111 पटक हेरिएको

झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने एक मौलिक भाषा र जीवनशैली बोकेको जाति हो धिमाल । आदिकालबाटै प्रकृतिमा निर्भर रहिआएको र प्रकृति धर्ममा आस्था राख्ने यो जातिको खानपान र भेषभुषामा आफ्नै मौलिकपना देख्न सकिन्छ । पूर्वी नेपालका अन्य जिल्लामा पनि यो जातिको उपस्थिति रहे पनि त्यो नगन्य मात्रामा पाइन्छ । धिमालहरु आफ्नै भाषा, भेषभूषा, संस्कृति, रहनसहन र पहिचान झल्काउने रीतिरिवाज भएका एक समृद्ध जाति हुन् ।

बसोबासको हिसाबले संयुक्त परिवारमा बस्न रूचाउने यो जातिका मान्छेहरूको परम्परागत घर माटो, काठ, ढुङ्गाद्वारा निर्मित हुने र प्रायः गरी भुइँतलामा बस्ने गर्छन् । ३/४ परिवार मिली बीचमा प्रशस्त आँगन छाडेर घर बनाउने गर्छन् । तर अहिले विस्तारै यो चलन कम हुँदै गएको छ ।

धिमालहरूको शारीरिक बनावटलाई झट्ट नियाल्दा उनीहरू मंगोलियन जाति समूहमा राख्न सकिने खालका हुन्छन् । कालो वर्ण, थेप्चो नाक, मोटा घाटा शरीर, मोटा ओठ, ससाना आँखा धिमालहरूको शारीरिक बनावट हुन्छ । तराई प्रदेशमा बसोबास गर्ने हुँदा धिमालहरू मौसमअनुसार सुहाउँदो लुगाहरू लगाउँछन् । तर विशेष समारोहमा उनीहरूको मौलिक परम्परा अनुसारको छुट्टै खाले पोसाक संस्कृति छ ।

धिमाल पुरुषहरूको परम्परागत पहिरनमा आसकोट, गन्जी, टेपाना, पटुका, चेउका धारी, तुप्री भएको पहिरन आदि पर्छन् । त्यस्तै, लगौंटी,  भोटो,  फेटा,  टोपी आदि पनि धिमाल पुरुषहरूको पोसाकमा पर्छन्।

त्यस्तै, महिलाहरू घाँटीदेखि घुँडासम्म एउटा मौलिक डिजाइनको लुगा लगाउँछन् । जसलाई धिमाल भाषामा बोना भनिन्छ । आफ्नै जातीय भेषभूषाहरु महिलालाई चिनाउने बोनाहरु: दाबोना, इताङ्गी, पातोलोइ, सामुठी, नोसोई, तेपाना भएको कपडा यस अन्तर्गत पर्छ । महिलाहरूले घाँटी,  हातखुट्टामा लगाउने गहनाहरू आकर्षक हुन्छन् । यिनै गहनाको आधारमा कुनै पनि महिलालाई धिमाल जातिको हो या होइन भन्ने सजिलैसँग छुट्याउन सकिन्छ ।

त्यस्तै धिमाल महिलाहरूले लगाउने अर्को परम्परागत पोसाक भनेको पेटानी हो । पेटानी गुन्यूजस्तै हुन्छ तर पेटानी करिब ५/६ हात मात्रको हुन्छ । पेटानीले केवल छातीमात्र छोप्ने गर्छन् र तलतिर घुँडामुनिसम्म पुग्नेगर्छ । पेटानी लगाएको बेलामा चोलो लगाइँदैन । पेटानी प्रायः कालो रङको हुन्छ ।

लगाइने गहनाहरू सिल्बर र पित्तलद्वारा निर्मित हुन्छ । पहिले पहिले धिमालले सुनको गहना लगाउँदैन’थे । तर सांस्कृतिक परिवर्तनसँगै अहिले सुनका गहना लगाउनेहरू पनि प्रशस्तै भेटिन्छन् । हातखुट्टा र छातीमा गोदान खोप्ने धिमाल महिलाहरूको विशेषता हो । स्थानीय विश्वास अनुसार आफ्नो शरीर मृत भएर गए तापनि गोदान आफैँसँग स्वर्गलोक जान्छ भन्ने विश्वास रहेको धिमाल जातिको बारेमा अध्ययन गरेका श्रीराम श्रेष्ठले आफ्नो लेखमा उल्लेख गरेका छन् ।

धिमाल जातिको उत्पत्ति सम्बन्धी विश्वास

वरिष्ठ समाजशास्त्री डोरबहादुर विष्टले सबै जातको फूलबारीमा धिमाल जातिको उत्पत्ति र लिम्बु जातिसँग यसको सम्बन्धको बारेमा उल्लेख गरेका छन् । विष्टका अनुसार कुनै समय बडा आँटिला र पौरखी स्वभावका दुई दाजुभाइहरू थिए । ती दुवै भाइले भए जति सबै जमिन आवाद गरिसकेपछि अरू जमिनको खोजीमा घना जंगल फाँड्दै गए । खेतीयोग्य जमिनको खोजीमा हिँड्दै गर्दा बलियो दाजु अघिअघि लागे भने तुलनात्मक रूपमा कमजोर भाइ पछि परे । भाइ यति पछि परे कि दाइलाई उनले भेट्न पनि सकेनन् र दाजुले पर्खिएर पनि बसेनन् ।

धेरै पर पुगेपछि दाजु एउटा ठूलो केरा घारीमा पुगे । केराघारी दाजुले जति फाँडे पनि पहिलेकै अवस्थामा पुग्न थाल्यो । दाजु त्यहाँ नकुरेर अघि बढ्दै गए । जब भाइ पनि केराघारीमा आए त्यहाँ दाजुले केरा नफाँडेको देखेर दाजुले आफूलाई सँगै लैजान नचाहेर बाटो छल्न केराघारी नफाँडेको सम्झिएर त्यतै जंगल फाँडेर बसोबास गर्न थाले । उता दाजु जंगल छिचोलेर पहाड उक्लिए । पछि पहाड पुगेका दाजु लिम्बुको नामबाट चिनिए भने तराईमा नै बसेका भाइ धिमाल भनेर चिनिए भन्ने किंवदन्तीलाई विष्टले उल्लेख गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार