काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी बसि खाने सम्भ्रान्त वर्गहरुको पार्टी नभई गरिखाने सामान्य किसान मजदुर तथा शोषित पीडित समुदायको पार्टी भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित नयाँ शक्ति पार्टीको ३ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘नयाँ शक्ति पार्टी बसिखानेहरुको होइन, गरिखानेहरुको पार्टी हो’ उहाँले पार्टीको वर्गीय पक्षधरताको बारेमा स्पष्ट पार्दै भन्नुभयो – ‘सबैलाई खुसी पार्न सकिंदैन । जो विभेदमा परेका छन्, तिनको पक्षमा बोल्ने र बेरोजगारी, गरिब किसान, मजदुरलाई समृद्ध तुल्याउने हाम्रो अभियान हो । त्यसैले नयाँ शक्ति गरिखानेहरुको पार्टी हो ।’
‘नयाँ शक्तिको विकल्प एमाले, कांग्रेस, माओवादी जस्ता पुराना पार्टीहरु हुन सक्दैनन्’ संयोजक भट्राईले नयाँ शक्तिको विकल्प पुराना दलहरु हुन नसक्ने बताउँदै भन्नुभयो – ‘नयाँ शक्तिको विकल्प अझ राम्रो अझ बढी वैकल्पिक शक्ति हो ।’
उहाँले नयाँ शक्तिले अवलम्बन गरेको ५ सको अवधारणाले मात्र देशमा सन्तुलित विकास गर्न सक्ने तथा समग्र जातीय, क्षेत्रीय उत्पीडनको अन्त्य गरी सबैबीच सद्भाव कायम गर्दै दुई छिमेकी देशहरुबीच समदूरीको सम्बन्ध कायम गर्न सक्ने बताउनुभयो ।
आन्तरिक प्रशिक्षणमा सहभागी पार्टीका अभियन्ताहरुलाई सम्बोधन गर्दै उहाँले वैकल्पिक राजनीतिको अर्को किनारा नदेख्दासम्म निराश नहुन र नआत्तिन सुझाव दिंदै कम्तीमा ५ वर्ष धैर्य गरेर पार्टी बनाउन आग्रह गर्नुभयो ।
संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति जन्मिनुको कारण उल्लेख गर्दै देशमा व्यवस्था परिवर्तनको चरण पूरा भएकोले अब देश र जनताको आर्थिक अवस्था फेर्नुपर्ने आवश्यकता महशुस गरेर नयाँ विचारसहितको नयाँ युगको नेतृत्व गर्ने वैकल्पिक शक्तिको आवश्यकता पूरा गर्न नयाँ शक्ति जन्मिएकोसमेत प्रस्ट पार्नुभयो ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय प्रशिक्षण विभाग डम्बर खतिवडाले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताको बारेमा चर्चा गर्दै नयाँ शक्ति मिशन, युग र युगको दायित्वसँग जोडिएको हुनाले एउटा चुनावले मात्र यसको साइज निर्धारण गर्न नसक्ने बताउनुभयो । उहाँले नयाँ शक्ति पार्टी नेपालमा वैकल्पिक राजनीतिक धारको केन्द्र भएकोले पार्टीको अभियान, आन्दोलन र उद्देश्य छोटो समयमा पूरा नहुने बताउनुभयो ।
त्यस्तै संसदीय मामिला विभाग प्रमुख केशव दाहालले सबै अभियन्ताहरुलाई नजिकिँदै गएको प्रदेश र केन्द्रको निर्वाचनमा होमिन आग्रह गर्दै नयाँ शक्ति विकल्प निर्माणको अभ्यास भएकोले धैर्य कायम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यस्तै पार्टीको निर्वाचन आयुक्त कृष्ण शर्माले सबै अभियन्ताहरुलाई निर्वाचनमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।
पार्टीको ३ नम्बर प्रदेश संयोजक सोनाम सिं स्याङ्तेनको संचालनमा सम्पन्न प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मान कार्यक्रमको अध्यक्षता ३ नम्बर प्रदेशकै इन्चार्ज हिसिला यमीले गर्नुभएको थियो । कार्यक्रममा गएको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भई विजयी हुने तथा निर्वाचनमा सहभागिता जनाउने उम्मेदवारहरुलाई सम्मान गरिएको थियो भने विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुत दिएका थिए ।