प्रकृतिको पुजा गरी मनाईने मगरजातिकाे भुमे (भूम्या, नोगोबाङ्गे) पर्व एक परिचय

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  383 पटक हेरिएको

मन बहादुर पुन

भुमीको पुजा गर्दै मगर समुदायले आज देखि भुमे पर्व मनाउँन सुरु गरेका छन् । बर्षायामको सुरुवातसंगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस ,दैवी बिपत्ती नहोस भनेर भूमिको पूजागर्ने चलन छ । भूमिको पूजा भएपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनैपनि प्रलय नआउने र दुःखको नास भई सबैमा खुसी आउने जनविश्वासका कारण सदियौंदेखि भूमि पुजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ । भुमे पुजा नगरिएमा भुम्या देवता रिसाएर अनिष्ठ हुने, बालीनाली उत्पादन नहुने, वाढी पहिरोले क्षति पुर्याउँने हुँदा यसलाई रोक्नको लागि जमिन अर्थात भूमिको पुजा गर्ने गरिएको छ ।

भुमेमा नाँच गान गर्दा महिलाहरुले गुन्नी, चोली, पटुका, गादा, पछ्यौरी,र पुराना खालका गरगहनाहरु लगाउँने गर्दछन । पुरुषले भने चौवन्दी, पाखीको पटुका, फेटा, गादा, ढाँका टोपी लगाई कम्मरमा खुकुरी भिरेर नाच्ने चलन छ । खाम मगर जातिले विशेष महत्वका साथ मनाउने बल पूजा अर्थात भूमि पूजा अन्य जातजातिले पनि मनाउँने गरेका छन् । यसपर्वमा पहाडी जिल्लाहरूमा महिलाले दुई दिन लगाएर बुकी फूल टिपेर पुरुषलाई सिउरिदिने र नाँच गान गरि एक आपसमा खुशी साटासाट गर्ने गरिन्छ ।
के हो भूम्या नोगोबाङ्गे

अथार मगरात क्षेत्रमा बसोबास गर्ने खाम मगर बोल्ने मगर समुदायले परापूर्वकालदेखि नै अति महत्वका साथ मनाउँदै आएको यो चाड यस क्षेत्रका मगरहरुले मनाउने मुख्य चाड हो । खासगरी मगरहरु कविला युग र सो समयको आसपासको समयमा जीविकाको लागि वन, जंगल, खानी आदिहरुमा प्रकृतिसँग जुझ्दै जीवनयापन गर्ने क्रममा अधिकांश समय वनजंगलमै बस्ने गर्दथे । कर्मथलो प्रायः घरभन्दा बाहिर प्रकृतिसँगको सामिप्यतामा बढी हुने गर्दथ्यो । यो अवसरमा हरेक वर्षको असार महिनाको एक गतेको समयलाई केन्द्र मानेर स्थानानुकूलताअनुसार बैशाखदेखि भदौ महिनाको हरेक संक्रान्तिहरुमा भेला हुने र उक्त भेलालाई वार्षिक जनगणनाको रुपमा पनि लिन थालियो । उक्त अवसरमा अनुपस्थित रहनेलाई मृत घोषणा गरी उसको किरियाकाज समेत गरिदिने र कुनै स्थानमा मात्र तथा अन्य स्थानमा घर परिवारमा नराम्रो हुन्छ, विपत्ति आउँछ, त्यसकारण यो पर्व सबैले मनाउनुपर्छ भन्ने मान्यता रहेको थियो । यो पर्व मनाएमा प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजास्वरुप भूमिको पूजा गर्न थालियो ।

पूजा सँगसँगै २२ चालमा नाच समेत नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई नोगोबाङ्गे पनि भन्ने गरिन्छ । यस पर्व मनाउनुको प्रमुख कारण आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गरेर मातृभूमिप्रति श्रद्वा र आदर प्रकट गर्नु हो । साथै यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिन गरिने कर्म र जोगाएको उपलक्ष्यमा गरिने उत्सवको रुपमा पनि लिने काम गरिन्छ । एकातिर मगर राज्यसत्ता चलेको बेला राज्यको विधिविधान बनाउने, एक वर्षका लागि नियमकानून बनाउने, त्यसका लागि जनप्रतिनिधि, भद्रभलाद्मीको चयन गर्ने, जनताको संख्याको लगत लिने आदि काम गरिने विशेष दिनको रुपमा लिने चलन रहेको छ । त्यसैले यो पर्व मगरको ऐतिहासिक राज्यसत्ता र संस्कृतिसँग ठूलो महत्व राख्ने महत्वपूर्ण चाडको रुपमा बुझ्न सकिन्छ । भूम्या पर्व मगर जातिले सञ्चालन गरेको ऐतिहासिक अथार र बाह्र मगरात राज्यसत्ताहरुसँग समेत सम्बन्ध रहेको मगर गाउँका बुढापाकाहरुको भनाइ रहेको छ ।

खासगरी विशेष गरेर उत्तरी क्षेत्रको पहाडी इलाकामा बसोबास गर्ने मगर समुदायले यो पर्व मनाउने गर्दछन् । मगर समुदायको बसोबास प्रायः पहाडी क्षेत्रमा हुने र भौगोलिक विकटताका कारण पनि पहाडी क्षेत्रमा प्राकृतिक प्रकोप, दैवी विपत्ति बढी हुने हुनाले भूमिका पुजारी मगर समुदायले त्यसको रोकथामका लागि भूम्या पर्व मनाउन सुरु गरेको यस क्षेत्रका अग्रजहरुको भनाइ रहेको छ
कसरी मनाइन्छ भूम्या अर्थात भूमे 

भूमे पर्व खासगरी भूमि देवतालाई पूजा गर्नु हो । यसको पूजा गरेपछि प्राकृतिक प्रकोप, दैवी प्रकोपबाट बच्न सकिने मान्यता रहेको छ । यस पर्व अथार मगरात क्षेत्रमा मगर समुदायले निकै लामो समयदेखि मनाउँदै आएका छन् । विशेष गरेर साविक राप्ती अञ्चलको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ तथा धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी लगायतका जिल्लामा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । असार एक गते मनाइने भूम्या पर्वको तयारी एक महिना अगाडिदेखि नै गर्ने चलन रहेको छ । भूमे मनाउने विभिन्न विधि र प्रक्रियाहरु रहेका छन् । कसरी मनाइन्छ त भूमे रु यहाँ त्यसको बारेमा केही जानकारी प्रस्तुत गरिएको छ ।

भूम्या पर्व कसरी मान्न थालियो, के छ खास कारण 

परापूर्वकालमा अथार मगरात क्षेत्रमा रहेको गाउँमा मगर समुदायको बाक्लो बसोबास रहेको थियो । त्यसै गाउँमा दर्लामी गोत्रका पुन मगरको पनि बसोबास रहेको थियो भने शिर्पाकोटबाट आएका शेर्पाली कामी दलित पनि त्यसै गाउँमा बस्ने गर्दथे । गाउँलेहरु खोलातिर पानी भर्न जाने गर्दथे । गाउँको तल्लो भेकतिर रहेको जारी खोलामा पानी भर्न जाने क्रममा खोलाको तिरमा बास टेकेर बसेको सर्पले गाउँलेलाई सताउन थाल्यो । गाउँका मान्छेहरु चारजना पानी भर्न गएमा दुईजनालाई मारिदिने, दुईजना गयो भने एकजनालाई मारिदिने र एकजना मात्र गएमा आधा मारिदिने गर्न थाल्यो । खोलाको किनारमा बसेको सर्पको यस प्रकारको हर्कतले गाउँलेहरु त्रसित भए भने यसको कसरी निकास निकाल्ने भनी छलफल पनि गर्न थाले । गाउँका अन्य कसैले निकास निकाल्न सकेनन् । गाउँलेहरु मध्येकै दर्लामी गोत्रका पुन मगर र शेर्पाली कामी बीचमा छलफल हुँदा सर्पलाई नमार्ने हो भने सारा गाउँलेहरुलाई नै सखाप पार्नेछ भन्ने सल्लाह भएको लुकुमका भूम्या पुजारी भक्तबहादुर शेर्पालीले जानकारी दिए ।
त्यसैअनुरुप शेर्पाली कामीले घले सनासो र हाते घन तताएर सर्पको टाउको च्यापेर मार्न थालेपछि सर्पले मलाई नमार हाम्रो सर्प शाकाले हार्यो, तिमीहरुको शाकाले जित्यो, म त भूमि देवता हुँ, प्रत्येक वर्षको असार महिनाको पहिलो हप्ता सेतो कपडामा धुपधुवाँर गरी मलाई बलि दिई पूजा गर्नू । त्यसो गरेमा म शान्त हुन्छु भनेको र त्यसै समयदेखि भूम्याको शुरुवात भएको यस पर्व पुर्खाले मान्दै आएको रसबहादुर शेर्पालीले बताए । त्यसै समयमा सर्पको रुपमा रहेको भूमि देवताले नै शेर्पाली कामीबाट चोखो पानी, दूधको धार लिने र दर्लामी पुन मगरबाट बलि दिने भन्ने भनाइअनुसार अहिले पनि शेर्पाली कामीबाट धुपधुवाँर गर्ने र दर्लामी पुन मगरले मार हान्ने गरिन्छ । त्यसमध्येमा पनि मगर समुदायका एकजना जैसीद्वारा ग्रह हेरेर राहु ग्रह भएका व्यक्तिले काट्ने, केतुले तान्ने गरिन्छ । यसैका आधारमा भूम्या देवताको पूजा नगरेमा ठूलो विपत्ति आइलाग्छ । भूमे देवता रिसाएमा अनिष्ट हुन्छ ।

भूम्याको शुभारम्भ

खासगरी भूम्या पर्व असार १ गतेबाट सुरु हुन्छ भन्ने गरिए पनि यसको तयारीका लागि गाउँका सारा मानिसहरु एक महिना अगाडिबाट नै त्यसको तयारीमा जुटिसकेका हुन्छन् । असार महिना लाग्दाको एक दुई हप्ता पहिले नै गाउँको एक खुल्ला स्थानमा भूम्या पर्वको नाचगान तथा जमघटका लागि नोगोपो नाच्ने ठाउँको सरसफाई गरिन्छ । भूम्याका लागि आवश्यक पर्ने बाजागाजा बजाउनका लागि गाउँका दमाईहरु समेत तयार भएपछि नाच्ने तथा मेला लाग्ने स्थानको सरसफाईपछि गाउँका भद्र भलादमी, बुढापाका, अग्रजहरुको उपस्थितिमा गाउँभरिका सम्पूर्ण गाउँलेहरु उपस्थित भएर जेठ मसान्तको अघिल्लो दिन विधिवतरुपमा भूम्या पर्वको उद्घाटन गर्ने चलन रहेको छ ।
बुकी फूल टिप्न जाने

नोगोपोमा अग्रज बुढापाकाहरुद्वारा भूम्या पर्वको उदघाटन भइसकेपछि गाउँभरिका युवायुवती गाउँका केही अग्रज बुढापाकाहरुसहित बाजागाजा बजाउँदै २०,२५ जनादेखि ४०,४५ जनासम्मको समूह ३५ हजारदेखि ५ हजारसम्मको उचाइमा बुकीको फूल टिप्न जाने गरिन्छ । जेठ महिनाको मसान्तको पहिलो दिन गाउँमा भूम्याको उदघाटन गरिसकेपछि बुकी फूल टिप्न जाने समूह दिउँसो ३,४ बजेतिर बुकीतिर जाने गरिन्छ । केही गाउँका अग्रजहरुको साथ गएको उक्त समूह बाटोभरि नाचगान गर्दै बाजागाजासहित नास्तापानी गर्दै जाने गरिन्छ । फूल टिप्न जाने युवतीहरु मगर भेषभूषा छिट्को गुन्यू, मखमलको चोलो, गादो, भाङ्ग्रो, पहेंलो पटुकी, पुराना चाँदीका गहना, पहेंलो हरियो पोते, चुरामा चिटिक्क परेका हुन्छन् भने युवाहरु मखमलको भोटो, घरमै भेडा तथा भाङ्ग्रोबाट तयार पारेको कछाड, घरमै तयार पारेको पटुकी बाँधेर छड्के खकुरी भिरेर चिटिक्कै परेका हुन्छन् । सँगसँगै केटाहरुले भेडाको ऊनबाट तयार पारिएको भोटो ओढेका हुन्छन् भने युवतीहरुले घरमा ऊनबाट तयार पारेको झोलाभरि घरमा बनाएका कोसेलीहरु बोकेर जाने गर्छन् । बुकी जाँदा लामो उकाली यात्रालाई सहज बनाउनका लागि युवायुवतीहरुले गीत गाउँदै रमाइलो गर्दै जाने गरिन्छ । गाउँको उचाई स्थानमा बुकीको फूल टिप्न जाने कामलाई मगर भाषामा नोगो जाने पनि भन्ने गरिन्छ । नोगोपोमा निकै चिसो हुने र पानी समेत नपाइने हुनाले गाउँका युवतीहरुले घरबाटै पानी, अर्नी पानी, नास्ता, खानेकुरा लिएर गएका हुन्छन् । यो पर्व खासगरी मगर समुदायले मनाउने भएको हुनाले अर्निपानी स्वरुप जाँडरक्सी पनि लाने गरिन्छ । नोगोपो जाने क्रममा सँगै गएका दमाई थरका बाजा बजाउने कलाकारले उकालोभरि नै पूरै बाजा बजाएर जाने गर्छन् ।
नोगोपो जाने क्रममा एकै दिनमा पुग्न नसकिने भएका कारण सबैजना आधा बाटोमा रहेको गोठमा बास बस्ने गरिन्छ । बाटोमा रहेको उक्त गोठ सानो भएका कारण गाउँबाट गएको सबै समूहलाई बस्नका लागि मात्र पुग्ने भएका कारण चिसो कम गर्नका लागि सबै जना आगो बालेर आगो ताप्दै रात काट्ने गरिन्छ । यसैगरी घरबाट लगेका रोटी, अचार लगायतका खानेकुरा सबैले मिलेर बाँडीचुँडी गरी खाने गर्छन् । बुकीमा चिसो लाग्छ भनेर लसुन टिमुरको अचार बनाएर लैजाने गरिन्छ । रात काट्न सहज बनाउनका लागि बुढापाकाहरु यानीमाया गीत गाएर रमाइलो गर्ने गर्दछन् भने युवायुवतीहरु गीत गाउने तथा नाचगान गरेर रमाइलो गर्ने गर्दछन् । उक्त समयमा नागोपोमा विशेषगरी युवायुवती मात्र जाने भएको हुनाले त्यही समयमा नै युवायुवतीको बीचमा माया बसेर विवाह समेत हुने तथा हुनसक्ने तत्कालीन काँक्री गाविस– ६ लुकुम रुकुमका श्रीबहादुर पुन मगरको भनाइ छ । रातभर रमाइलो गरेर रात काटिसकेपछि बिहानै ४ बजे सबैजना उठेर उचाइमा पाइने रंगीबिरंगी बुकीको फूल टिप्नका लागि सबैभन्दा उचाईमा रहेको स्थानमा जाने गर्छन् । फूल टिप्ने क्रममा लाइन लागेर रमाइलो किसिमले पनि टिप्ने गरिन्छ । स्पटमा अलि अप्ठ्यारो ठाउँमा मात्र फूल पाइने हुनाले कसले बढी टिप्न सक्छ भनेर प्रतिस्पर्धा समेत हुने गर्छ । तर फूल भने अलि भीर भएको ठाउँमा मात्र पाइने हुँदा युवायुवती मात्र फूल टिप्ने गर्छन् । बुढापाकाहरु फूल टिपिसकेपछि आएर गरिने विधि पूजाआजाको तयारी गर्ने गर्छन् ।

विभिन्न रंगीबिरंगी फूल टिपेर आइससकेपछि बुकी पाइने ठाउँको केही तल्लो अलि खाल्डो परेको स्थानमा आएर गाउँबाट आएका सबैले आ–आफ्नो थरको गोत्रअनुसार छुट्टाछुट्टै चौतारी बनाएर नाचको सुरुवात गर्ने गर्छन् । टिपेर ल्याएको फूल युवायुवतीहरुले त्यहाँ भएका सबैलाई शिरमा पहिराइदिएर ठूला अग्रजसँग आशीर्वाद लिने र अन्य आफूसँगैका साथीभाइसँग माया साटासाट गर्ने चलन रहेको छ । आ–आफ्नो गोत्रअनुसार चौतारीमा केटाकेटी लामो समय भूम्या बाजाको तालमा नाच्ने, पूजाआजा गर्ने र केही समय विश्राम लिँदै नास्ता पानी खाँदै रमाइलो गर्ने गरिन्छ । त्यसैगरी निकै समय चौतारीमा नाचगान गरिसकेपछि नाच्ने समयमा युवतीहरुले काँधमा भिर्ने गरेको हरियो, पहेंलो, नीलो रातो, विभिन्न रंगको पछ्यौरालाई बाँधेर लामो बनाएर घरतिर फर्कदा सबैले त्यो पछ्यौरा समातेर गोलो घेराजस्तो बनाएर रमाइलो गर्दै फर्किने चलन रहेको छ । यो चलन भूम्या पर्व मान्ने सबै क्षेत्रमा रहेको छ ।

पन्थौली
नोगोपो जानेहरुले जाने फर्किने क्रममा ठाउँ–ठाउँमा बसेर सल्लाको हाँगा काटेर मुर्ला बनाउने, त्यसमा धजा झुण्ड्याउने, अक्षता, ढुङ्गा फाल्ने काम गरिन्छ । त्यस ठाउँमा सबैले थकाई मार्ने, अर्निपानी खाने काम पनि गर्दछन् । फूल टिप्न जाने क्रममा धेरै ठाउँमा पन्थ्यौली बनाउँदै जाने चलन रहेको छ । त्यस ठाउँमा बाजा बजाउँदै नाचगान गर्ने चलन समेत रहेको छ । यो क्रम जाने आउने दुबै समयमा गर्ने गरिन्छ ।
न्याहो गीत

बुकीको फूल टिपेर फर्कने क्रममा बाटोमा महिलाहरुले न्याउली चराको भाकामा गीत गाउँदै फर्किने चलन रहेको छ । गीत गाउँदै गाउँतिर फर्कदा गीत गाउँदै रमाइलो गर्ने र बाटो काट्न पनि सजिलो हुने भएकाले यो गीत गाउने गरिन्छ । न्याहो गीत गाउँदै बाटोभरि पन्थ्यौली बनाउँदै जेठको मसान्तको दिनमा साँझपख गाउँमा फर्किने गरिन्छ ।

गाउँमा रहेका अन्य गाउँलेहरु नोगोपो गएकाहरुको पर्खाइमा रहेका हुन्छन् । नाचगान तथा मेलाका लागि गाउँमा तयार पारिएको स्थानमा सबैजना नोगोपो गएकाहरुको पर्खाइमा रहेका हुन्छन् । नोगोपो गएकाहरु आइसकेपछि गाउँका बुढापाकाहरुद्वारा विशेष रुपमा उनीहरुलाई केही भूतपे्रत नलागोस् भनेर फुकफाक गर्ने गरिन्छ । गाउँतिर फुकफाक गरेपछि भूतपे्रत दैदेवता लाग्दैनन् भन्ने मान्यता रहेको छ । यसैगरी गाउँका प्रत्येक घरबाट नोगोपो गएका केटाकेटीलाई आआफ्नो घरबाट खानेकुराहरु ल्याएर खान दिने चलन रहेको छ । भूम्या नाच्ने ठाउँमा नोगोपो गएकाहरुलाई आ–आफ्नो घरबाट ल्याएको खानेकुरा नखाएमा नराम्रो हुने मान्यता रहेको छ । त्यसकारण जे भए पनि आ–आफ्नो घरबाट ल्याएको खानेकुरा खाने गरिन्छ । यसैगरी भूम्या नाच्ने ठाउँमा जम्मा भएका सबैलाई बुकीबाट ल्याएका फूलहरु शिरमा लगाइदिएर ढोग गरी ठूलाबडासँग आशीर्वाद लिने चलन रहेको छ । बुकीबाट ल्याएको फूल गाउँका सबैलाई प्रत्येकलाई पुराउने गरिन्छ । त्यसपछि त्यहाँ मगर समुदायमा प्रचलित खानपान जाँडरक्सी लगायतका खानपान गरिन्छ । केहीबेर बाजाको तालमा नाचगान गरेर साँझतिर त्यस दिनका लागि सबैजना घर फर्कन्छन् ।
भूम्या थानमा पूजा

असार १ गते बिहानैबाट गाउँका सबैजनाहरु भूम्या पूजाका लागि तयारी गर्ने गर्छन् । बिहानको खाना खाएर पूजाको पूरा तयारी भइसकेपछि गाउँमा निर्माण गरिएको भूम्या नाच्ने ठाउँमा गाउँलेहरु जम्मा हुन्छन् । पुजारीले पनि आफूले गर्ने करिब–करिब सम्पूर्ण विधि पूरा गरिसकेपछि गाउँको पूर्वतिरको छेउँमा सबैजना जम्मा हुन्छन् । र, पूजाका लागि तयार गरिएको मार ९भेंडा, बोका, कुखुरा, सुंगुर०लाई सबैको माझमा राखेर पुजारीले धुपधुवाँर गरिसकेर मारले मानेपछि मार काट्ने, तान्ने अन्य गाउँलेहरुले मारलाई दगु राउँदै गाउँ निकाला गर्ने गरिन्छ । जसलाई भूम्या निकाल्ने पनि भनिन्छ । गाउँबाट भूम्या निकाल्दा घरमा रहेका महिलाहरुले नाङ्लो, सुपोमा धैंसो, खरानी, दशैको बेला ढोकामा लगाएको टीका, जमरा घरमा उपलब्ध भएका अन्नहरु गहुँ, जौ, धान, कोदो, तोरी आदि राखेर सबैले घरबाहिर फाल्ने गरिन्छ । यसो गरेमा वर्षभरिको ग्रहदशा विपत्ति भूम्याले लैजान्छ भन्ने मान्यता रहेको छ ।

भूम्याको रुपमा पूजाका लागि तयार पारिएको मारलाई गाउँबाट निकालिसकेपछि गाउँको पल्लो छेउँमा रहेको भूम्या थानमा लगिन्छ । भूम्या थानमा लगिसकेपछि पूजापाठ, धुपधुवाँर गरेर मगर जातितिरका मार काट्ने समयमा दुईजनाले मारको खुट्टा समाउने र एक जनाले काट्ने गरिन्छ । भूम्या मारलाई काटिसकेपछि गाउँभरिका स–साना केटाहरुले त्यस मारलाई पल्टाउँदै पल्टाउँदै गाउँको मुनि छेउँतिर रहेको खोलामा झार्ने गरिन्छ । जो निकै रमाइलो हुन्छ । खोलामा मारलाई झारिसकेपछि गाउँभरिका केटाकेटीहरुले त्यो मारलाई खोलाको कुनै ठाउँमा लुकाएर राखेका हुन्छन् । जस्तो कि खोलाको छेउँमा रहेको झासी सेवाली आदिमा । पछि गाउँका ठूला युवा बुढापाकाहरु आएर त्यसलाई खोज्ने काम गरिन्छ । अचम्म त के छ भने भूम्या थानमा पूजा गरिएको त्यो मार खोज्नैपर्ने र नभेट्याएसम्म खोजिरहने चलन रहेको छ । नखोजेसम्म बच्चाहरुले नभनिदिने अथवा नदिने चलन रहेको छ । यो भूम्या पर्व मनाइने प्रायः ठाउँमा गरिन्छ । गाउँका ठूला मान्छेहरुले खोजेर भेट्याएपछि त्यही खोलाको एक छेउँमा आएर अर्को बोका त्यही पूजा गरेर पकाएर खाने चलन रहेको छ ।
महिलाको अनुपस्थितिमा भोज

पूजा गरेको मार गाउँको तलतिरको खोला छेउँमा गाउँका बुढापाकाहरुसहित पकाएर खाने चलन रहेको छ । तर त्यस ठाउँमा महिलालाई भने जान मनाही रहेको छ । भूम्या थानमा पूजा गरेको मार खोलामा भेट्याएपछि त्यसको कुनै एक ठाउँमा बोका पूजा गरेर दुबैलाई सँगै पकाएर खाने गरिन्छ । भूम्याको पूजा गरेको मासु पकाएर खाने ठाउँमा महिला जान नहुने भन्ने मान्यता रहेको छ । यो साविक काँक्री गाविस– ६ लुकुम रुकुममा रहेको छ । तर यस विषयमा के कारणले जान नहुने भन्ने बारेमा भने खासै केही कारण रहेको छैन । भूम्या पर्वको शुरुवातदेखि नै मासु पकाएर खाने ठाउँमा महिला जाने नगरेको लुकुमका श्रीबहादुर पुन मगरले बताए । के कारणले महिलालाई जना नदिइएको हो भन्ने बिषयमा भने खासै केही कारण पाइएको छैन ।
खानापान
मगर समुदायको महत्वपूर्ण पर्व भएका कारण पर्व त महत्वपूर्ण हुने नै भयो सँगसँगै खानपान पनि विशेष प्रकारको हुन्छ । यस पर्वमा मगर जातिको हरेक कामका लागि आवश्यक पर्ने जाँडरक्सी सँगै रोटी लगायतका खानपान पनि खाने गरिन्छ । यसैगरी मासु तथा अन्य राम्रा–राम्रा परिकार बनाएर खाने गरिन्छ । विशेष गरेर यस पर्वमा नाचगान निकै रमाइलोका साथ गर्ने गरिन्छ ।
पूजा गर्दा के विधि अपनाइन्छ 

भूमि देवताले सर्पको रुप धारण गरी गाउँलेलाई दुःख दिएको कारण परापूर्वकालदेखि यस भूम्या पर्व मगरहरुले मान्दै आएका हुन् । भूम्या पर्व मानेपछि भूम्या देवताको पूजा गरेमा दैवी विपत्ति, प्राकृतिक प्रकोपबाट बच्न सकिन्छ भन्ने मान्यता रहेको छ । यसको पूजा गर्दा रुकुमको लुकुममा शेर्पाली थरका कामी दलित पुजारी रहेका छन् । भूम्या पूजा गर्दा अन्य खासै ज्ञान नभएको लुकुमका भूम्या पुजारी जीतबहादुर शेर्पालीले बताए । धुपधुवाँर हाल्ने, खोलाको किनारमा रहेको धुपी सल्लाको बोटमुनिबाट पानी निकाल्ने गरिएको जीतबहादुरले जानकारी दिए । यसबाहेक गाउँका कसैलाई नोक्सानी नहोस्, शान्त भए, कुनै पनि प्राकृतिक प्रकोपले नभेटोस्, खेतबारीमा राम्रो अन्न सप्रियोस भन्ने चलन रहेको छ ।

के के गर्छन् पुजारीले 

जेठको महिना भूम्या पर्व नजिकिँदै गर्दा यस पर्वका पुजारी आफ्नो तयारीमा लागिसकेका हुन्छन् । जेठ मसान्तको एक दुई दिन पहिले नै वर्षका पुजारी खोलामा गएर नुहाई धुवाई गरी कपाल खौरिएर सेतो पहिरनमा घर फर्किन्छन् । घर फर्किसकेपछि कसैसँग पनि छोइदैनन् । दूध मात्र खाएर बस्ने गर्छन् । घरभन्दा बाहिर ननिस्कने गरिन्छ । बाहिर निस्कने यताउति जान थालेमा जुठो हुन्छ भन्ने मान्यता रहेको छ ।

पुजारीका दुईजना आफ्नै भाइ गोत्रका सहयोगीहरु रहेका हुन्छन् । घरपरिवार भाइ गोत्रका अन्यले पनि नुन खान पाउँदैनन् । सुख्खा रोटी मात्र खाने गरिन्छ । पुजारी चोखो भएर बसेको घरमा महिनावारी गर्भवती भएका महिलालाई जान निषेध गरिएको हुन्छ । पूजा सिद्वियो भने आफ्नो घरमा आएर कुखुरा काटेर पुजारीले कुखुराको रगत पिएर घरभित्र पसेपछि मात्र सबैको लागि नुन खान खुल्ला हुने गर्छ ।

मगर गाउँमा दलित पूजारी

पूजा पाठ भन्नेबित्तिकै सामाजिक मूल्यमान्यता, धर्म, संस्कारका कारण दलित पनि पुजारी हुनसक्छ भन्ने प्रश्न अझै पनि धेरैमा हुन सक्छ । तर मगर समुदायको बाक्लो बस्ती रहेको साविक काँक्री गाविस– ६ लुकुम रुकुममा भूम्या पूजाको स्थापनादेखि नै शेर्पाली थरका दलितले भूम्या पर्वको पूजापाठ गर्दै आएका छन् ।स्वभावैले पनि भूम्या पर्वको शुरुवातदेखि नै शेर्पाली कामीले साहसिक काम गरेको कारण भूम्या पूजाको पुजारी दलित भएको हो । नेपालको सन्दर्भमा भन्ने हो भने एक दुई ठाउँमा मात्र मगर समुदायका पुजारी भएको पाइन्छ । तर समाजमा दलित जातिलाई हेय, तल्लो जातका रुपमा हेरिने गलत मान्यतालाई भने मगर गाउँमा परापूर्वकालदेखि नै दलित पुजारी हुनुले चुनौती दिएको छ ।

सर्पको रुपमा रहेको भूमि देवताले हाम्रो भूमि सर्पको पुर्खाले हार्यो, तेरो शाकाले जित्यो भनेर मान्छेको शरणमा आएर पूजापाठ गर्ने भनी बाचा गरेका कारण भूम्या पर्वको शुरुवात भयो । दर्लामी पुन र शेर्पाली कामीबीचमा भएको सरसल्लाहअनुसार शेर्पाली कामी पूजारी हुने गरिएको छ । त्यसैअनुसार शेर्पाली कामीहरुबीचमा पनि पालैपालो पुजारी हुने परम्परा रहेको छ । शेर्पालीहरुको भाइसंगोलमा पालैपालो प्रत्येक वर्षको पुजारी छान्ने गरिन्छ । एक वर्ष एक भाइ पूजारी भएमा अर्को वर्ष अर्को भाइ पूजारी हुने चलन रहेको छ । आफ्नो पुर्खाले पहिलेदेखि नै पालैपालो पुजारी हुने परम्परा बसालेका कारण त्यसलाई निरन्तरता दिइरहेको धनबहादुर शेर्पालीले जानकारी दिए । तर पूजारी हुने पालो आएको भाइको घरमा त्यस घरको महिला सुत्केरी भएमा, गर्भवती भएमा भने त्यो वर्ष पुजारी बन्न नपाइने हुन्छ । घरमा महिला सुत्केरी अथवा गर्भवती भएमा घरमा जुठो भएको भन्ने गरिन्छ ।

२२ चालको भूम्या नाच

असार १ गते भूम्या थानमा भूम्या देवतालाई बलि दिएर पूजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाच्ने गरिन्छ । गाउँभरिका सम्पूर्ण महिला, पुरुष, केटाकेटी, युवायुवती, बुढाबुढी सबै भूम्या नाच्ने ठाउँमा जम्मा हुन्छन् । अनि प्रत्येक दिन पाँच दिनसम्म दमाहा, झ्याली, सहनाई लगायतका बाजाको तालमा भूमि देवतालाई पुज्दै नाच्ने गर्दछन । अथार मगरात क्षेत्रको मगर समुदायमा प्रचलित भेषभूषा महिलाहरुले मखमलको चोलो, छिटको लुंगी, पहेलों पटुकी, मखमल तथा घरमै भाङ्ग्रोद्वारा तयार पारिएको भाङ्ग्रो गादा, नाक, कान, घाँटीमा चाँदी तथा सुनका विभिन्न गहनाहरु मुंगा एवं पोतेका मालाहरु लगाएर हरियो, रातो, पहेंलो विभिन्न रंगका पछ्यौरामा चिटिक्क परेका हुन्छन् । यता, पुरुषहरु घरमा तयार पारिएको घरेलु कपडाको छड्के मखमलको भोटो, घरमै तयार पारेको पटुकी, शिरमा टोपी, खुट्टामा पाइजामा, कम्मरमा खुकुरी भिरेर चिटिक्क परेर नाच्ने गरिन्छ । १ गतेबाट शुरु भएको नाच पाँच दिनसम्म नाचिन्छ । भूम्या पर्वमा शुरुमा उठाउने चालाबाट नाचको शुरुवात गर्ने गरिन्छ । यस नाच नाच्ने क्रममा उठाउने चालाबाट शुरु गरिएको नाचमा बाछापिने चाला, साङ्गलबाटे चाला, ढल्कनी चाला, दोसरे बट्वा चाला गरी विभिन्न २२ चालामा नाच नाचिन्छ । यसैगरी भूमे नाच्ने क्रममा स्थानअनुसार फरकफरक चालमा पनि नाच्ने गरिन्छ । जस्तै रुकुम तकसेरामा नाच्ने नाचलाई तकसेरा चाला लुकुममा नाच्ने चालालाई लुगुम्याल चाला पनि भन्ने गरिन्छ ।
भूमे पर्वमा गाउँका प्रत्येकलाई अनिवार्यरुपमा उपस्थित हुनुपर्ने हुन्छ । महिलाहरुले समातेको पछ्यौरा एउटा हातको काँधको माथिल्तिर र अर्को हातको तल्लोतिरबाट भिरेर हातमा समात्ने गरिएको हुन्छ । नाच्ने क्रममा महिलाहरुले दुई हातमा विभिन्न रंगका पछ्यौराद्वारा बाजाको तालमा भूमितिर पछ्यौरा फर्काउँदै विभिन्न तालमा नाच्ने गरिन्छ । केटाहरुले हातको चालमा विभिन्न स्टेपहरु नाच्ने गर्दछन् ।

स्थानअनुसार फरक–फरक

खासगरी भूम्या पर्व भूमि देवतालाई मान्नका लागि अथार मगरात क्षेत्रको प्रायः सबै ठाउँमा मान्ने गरिन्छ । तर स्थान, क्षेत्रअनुसार केही रुपमा फरक–फरक पाइएको छ । रुकुम जिल्लाको महत गाविस क्याङ्सी सिमा लगायतको स्थानमा भूम्या थानमा सुंगुरको बलि दिने चलन रहेको छ । यसैगरी रुकुमकै लुकुम, कांक्री, तकसेरा, कोल लगायतका स्थानमा भेंडाको बलि दिइन्छ भने रोल्पाको थवाङ, मिरुल लगायतका ठाउँमा बोका बलि दिने गरिन्छ । यसैगरी रोल्पाकै अन्य केही ठाउँहरुमा कुखुराको बलि दिने चलन रहेको छ ।
भूम्या नाचमै पनि कुनै ठाउँमा महिलाहरुले हातमा समाएका पछ्यौराहरु कुनै ठाउँमा पछ्यौराको टुप्पो लामो बनाएर जमिनतिर फर्काएका हुन्छन् भने कुनै ठाउँमा टुप्पोलाई छोटो बनाएर समाएका हुन्छन् । त्यसैगरी नाच्ने क्रममा बजाइने बाजाका तालहरुमा पनि फरकपन रहेको छ ।

पुरानो परम्परामा फेरबदल

भूम्या पर्व मनाउँदा माथि उल्लेख भए जस्तै विभिन्न विधिहरु अपनाइने गरिन्छ । तर माओवादी विद्रोहका कारण बीचमा तीन÷चार वर्ष भूम्या बन्द भएको थियो । केही समय बन्द भएको भूम्या पर्व अहिले आएर केही स्थानहरुमा परिमार्जित भएको छ । थवाङ लगायतका ठाउँहरुमा भूम्या शुरु हुनुभन्दा पहिले बुकीमा फूल टिप्न जाने, भूम्या थानमा बलि दिने लगायतको विधि गर्न बन्द भएको छ । भूम्याको पूजा गरिसकेपछि पाँच दिनसम्म बाजाको तालमा नाचिने विभिन्न २२ चाल नाच अहिले आएर १७ चालमा सीमित भएको छ । समय अनुसार पुराना थुप्रै परम्परा, संस्कृतिहरुमा परिवर्तन भएजस्तै भूम्या पर्वमा नाचिने २२ चाल नाचमा पनि केही परिमार्जन गर्नुपर्ने आवश्यक भएकोले १७ चाल नाच नाच्न थालिएको  छ ।

संंस्कृति र परम्पराका धनी अथार मगरात क्षेत्रका मगर समुदायको यो भूम्या पर्व प्रमुख चाड हो । मगर जातिले परापूर्वकालदेखि नै आफू बस्दै आएको ठाउँ र त्यस ठाउँको भूमि देवतालाई पूजा गर्दै आएका छन् । समयको परिवर्तनसँगै धेरै पुराना संस्कृति, परम्परामा फेरबदल आएका छन् । समयको परिवर्तन हो, यसलाई मान्छेले परिवर्तन गर्दैन भनेर पनि सकिदैन । त्यसको प्रभाव मगर जातिको भूम्या पर्वमा परेको यस पर्वको नाच तथा पूजाआजामा आएको परिवर्तनले पनि स्पष्ट पारेको छ । तर पनि भूम्या पर्व अन्य थुपै संस्कृतिमा आएको परिवर्तन जस्तो लोप हुने अवस्थामा भने रहेको छैन । २०६५ सालमा तत्कालीन नेपाल सरकारले आदिवासी जनजाति समुदाय मध्येको ठूलो जाति मगर जातिको प्रमुख राष्ट्रिय पर्वको रुपमा माघे संक्रान्तिलाई घोषणा गरिसकेको छ । त्यस अर्थमा अथार मगरात क्षेत्रका मगर जातिको प्रमुख पर्वको रुपमा रहेको भूम्या पर्वको संरक्षणका लागि बिभिन्न संघसंस्थाद्वारा पहल समेत भएको छ । रोल्पा रुकुमका विभिन्न ठाउँबाट दाङमा बसाई सरेर आएका खाम मगर भाषीहरुले दाङमा प्रत्येक वर्ष यो पर्व भव्यरुपमा मनाउँदै आएका छन् । नेपाल मगर संघ दाङले पनि यस पर्वलाई महोत्सवको रुपमा मनाउँदै आएको छ ।
त्यसैगरी केही वर्षयता काठमाडौंमा रहेका मगर समुदायले पनि यस पर्वलाई मनाउँदै आएका छन् । लुगुम्याल समाज, खाम मगर समाज, अथार मगरात भाषा संस्कृति प्रतिष्ठान लगायतले यस पर्वलाई काठमाडौंमा मनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार