म्याग्दीमा रामायण पार्क निर्माण तयारी

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  115 पटक हेरिएको

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–५ पछैमा रामायण पार्क निर्माण हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पार्क निर्माण हुने भएको हो।

पार्कको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। पौराणिक प्रमाणलाई यथावत राखेर पार्क बनाइने सरोकारवालाहरुले बताएका छन्। यस ठाउँलाई रामायणमा खलपात्रको रुपमा चित्रण गरिएका रावणको जन्मस्थानको रुपमा मानिन्छ।

पहिलो चरणमा रामायणको मूर्ति, बगैंचा, बिश्राम स्थल, धर्मशालालगायतका पूर्वाधार बनाइने भएको छ। बजेटको उपलब्धता र आवश्यकताको आधारमा पूर्वाधार निर्माणलाई क्रमागत रुपमा निरन्तरता दिइने नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए। उनले मन्त्रालय र नगरपालिकाबीच समन्वय नहुँदा ढिलाइ भएको जानकारी दिए।

पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गामध्ये पहिलो चरणमा चार रोपनीमा रामायण पार्क बनाउन लागिएको नगरपालिकाका इन्जिनियर बिमलरञ्जन कार्कीले बताए।

हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडिएको भनिएको ठाउँलगायत पुरानो संरचनालाई यथावत राखेर पूर्वाधार बनाइने भएको छ। कुल २३ करोड रुपैयाँ लागत अनुमान गरिएको पार्कलाई चालु आर्थिक वर्षमा पर्यटन मन्त्रालयले दुई करोड ११ लाख र नगरपालिकाको एक करोड १४ लाख विनियोजन गरेका छन्।

पार्कका लागि प्राविधिक काम भएको कारण ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए। उनका अनुसार योजना दुई वर्षभित्रमा सक्ने लक्ष्य राखिएको छ। २०६६ सालमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठलगायतले म्याग्दी भित्रिने पर्यटकको बसाई लम्ब्याउन र मुक्तिनाथ आवतजावत गर्ने धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा रामायण पार्क बनाउने योजनाको परिकल्पना गरेका थिए।

२०७४ देखिनै बजेट बिनियोजन गरे पनि ठाउँ छनौट हुन नसक्नु र स्रोत अभावमा रोकिएको रामायण पार्कको योजनालाई नगरपालिकाको गौरवको आयोजनाको रुपमा कार्यान्वयनमा लैजान लागेको नगर कार्यपालिकाको भौतिक पूर्वाधार विकास समितिका संयोजक कृष्णकुमार विश्वकर्माले बताए। निवर्तमान संघीय सांसद भूपेन्द्रबहादुर थापाले रामायण पार्क म्याग्दीको गौरवको योजना मात्र नभएर पौराणिक महत्वको उजागर र धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने बताए। उनले निर्माण हुने पार्कको भौतिक संरचनालाई दिगो बनाउन स्थानीयको भूमिका महत्वपूर्ण भएको बताए। स्तरोन्नतिको क्रममा रहेको अर्थुङ्ग–पुलाचौर र पुलाचौर–पूर्णगाउँ सडक आयोजनालाई प्रभावकारी बनाउन सकेमा रामायण पार्क आवतजावत गर्ने पर्यटकलाई सुविधा पुग्ने उनको भनाइ छ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले गलेश्वर, पछै, जगन्नाथ र टोड्केलाई जोडेर नयाँ गन्तव्य स्थलको रुपमा विकास गर्नुपर्ने बताए।

हिन्दु धर्मग्रन्थ श्री मद्भागवत महापुराणको पाँचौ स्कन्धमा रावणको जन्म पछैमा भएको उल्लेख छ। पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको पुराणमा उल्लेख छ। पौलत्स्य ऋषिको तपोभूमि समेत रहेको पुलाआश्रमको प्रवेशद्वारका रुपमा पार्कलाई विकास गर्ने योजना छ। विश्वका हिन्दु धर्मावलम्बीहरुको पाँच ठूला धार्मिकस्थलमध्ये पुलाआश्रम समेत पर्ने भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार