मुस्ताङमा थकाली समुदायको (फालो) पर्व शुरु

  कल्पना थापा मगर  797 पटक हेरिएको

भदौ १४,मुस्ताङ।मुस्ताङमा थकाली समुदायको परम्परागत मौलिक पर्व कुमार यात्रा (फालो) शुरु भएको छ।मुस्ताङको थाक सातसय क्षेत्रअन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको उद्गमस्थल थासाङ गाउँपालिका–२ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म कुमारयात्रा पर्व मनाउने परम्परा रहिआएको छ।थासाङ गाउँपालिकाका अध्यक्ष वुद्धिप्रसाद शेरचनले मंगलबार फालो पर्वको उद्घाटन गरेका हुन्।

गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली समुदायका पाँचदेखि १३ वर्षमुनिका छेवार गरिसकेका कुमारलाई कुमार यात्रामा सहभागी गराउने चलन रहेको छ। चारचनमा जन्मिएका छोराहरु कुमारयात्रा (स्योपेन) मा सहभागी भएपछि भगवान् नरिच्होबको आशीर्वादले जीवनका लागि सक्षम र योग्य भएको सांस्कृतिक मान्यता पाउँछन् भन्ने जनविश्वास रहेको थाक क्षेत्रका संरक्षक हेमन्त गौचनले बताए।

स्योपेनमा सहभागी कुमारले टुकुचेको चोकोपानीमा स्नान गरेर नर्साङ गुम्बामा नरिच्योहेब देवताको पूजाआजा गर्ने, आफन्तजनबाट आशीर्वाद लिने, देवताको पूजाआजा गर्ने र थकाली भाषामा गीत गाउँदै बाजागाजासहित गाउँ परिक्रमा गरेर लार्जुङमा पुगेपछि घोडा चढेर राक्षसको चित्रलाई तिर हान्ने चलन छ ।

परापूर्वकालमा जंगलमा शिकार खेल्न गएका थकाली समुदायका युवाले मृगलाई मार्न खोज्दा नरिच्योहब देवता प्रकट भई नर्साङ भन्ने ठाउँमा लैजाने अनुरोध गरेअनुसार सो स्थानमा गुम्बा बनाई राखेपश्चात् गाउँमा अनिष्ट नहोस् भनेर पूजाआजा गर्ने र थकाली पुरुषले चुडाकर्म गरेपछि १३ वर्ष नपुग्दै अनिवार्य कुमारयात्रामा सहभागी हुने चलनको शुरुवात भएको स्थानीय अगुवाको भनाइ छ ।

कुमार यात्रामा सहभागी हुन देश, विदेशबाट थकाली कुमार कोवाङमा आएका छन् ।कुमारहरु थकाली भाषाको गीत गाएर थकाली पहिरनमा सजिएर नाचगानका साथै लामाले कोतघरमा पूजाआजा गर्छन् । तीन दिनसम्म यो पर्व मनाउने चलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार